Comments Add Comment

प्रहरीको नयाँ सरुवा नीति : विवादमा नमुछिए एक वर्षसम्म कमाण्ड नखोस्ने

१३ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले कर्मचारीको सरुवासम्बन्धी मापदण्ड संशोधन गरेको छ । कर्मचारी प्रशासन शाखाका अनुसार ०६९ सालबाट कायम रहेको मापदण्डलाई संशोधन गरेर कार्यान्वयन थालिएको हो ।

नयाँ मापदण्डअनुसार अब प्रहरी कर्मचारी कुनै पनि युनिटमा एक वर्षसम्म ढुक्कले काम गर्न पाउनेछन् ।

तर आर्थिक वा अन्य कुनै किसिमको विवादमा मुछिए तत्काल फिर्ता बोलाउन सकिने व्यवस्था गरिएको छ ।

यसअघि आकर्षक ठाउँ छ भने एक अधिकृत सरुवा भएर गएको चार/पाँच महिना पुग्ने वित्तिकै अरुले त्यहाँ जान लबिङ गर्थे । संशोधित सरुवा मापदण्डले भने कुनै पनि अधिकृतलाई इञ्चार्जबाट इञ्चार्जमा जान निषेध गरेको स्रोतको दाबी छ ।

मापदण्डमा जागिरको अन्त्यतिर पुगेका अधिकृतलाई पनि कमाण्ड नदिने भनिएको छ । ‘सेवा प्रवाहमा समस्या हुनसक्ने भएकाले जागिर सकिन अन्तिम एक वर्ष रहेका वेला कमाण्ड नदिने निर्णय गरिएको हो’, प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका एक अधिकृतले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नुहोस प्रहरीमा काज सरुवा: ‘शक्ति केन्द्र’ को रजाइँ

स्रोतका अनुसार मापदण्डमा शान्ति सेनाबाट फर्किने वित्तिकै कमाण्ड नदिने व्यवस्था पनि गरिएको छ भने भर्खरै तालिम सकेर छिरेका प्रहरीलाई पनि कम्तिमा एक वर्षसम्म नेतृत्व नदिने भनिएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) को हकमा बढुवा भएको एक वर्षपछि मात्र इञ्चार्ज दिने भनिएको छ । प्रहरी उपरीक्षक (एसपी) को हकमा भने संख्या नपुग्ने भन्दै यो प्रावधान राखिएको छैन ।

तर, एसपीलाई पनि एउटा कमाण्डबाट अर्को कमाण्डमा जान निषेध गरिएको छ । प्रहरी निरीक्षकको हकमा तीन वटाभन्दा बढी इञ्चार्ज नदिने भने प्रावधानमा उल्लेख छ । साथै कारबाहीमा परेको एक वर्षसम्म कमाण्ड नदिने पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment