
मुस्कान आफैमा भाषा हो, आफैमा भाव हो । जब हामी आनन्दित र खुसी अनुभूत गर्छौं, हाम्रो अनुहारमा शान्त एवं प्रफुल्ल भाव प्रकट हुन्छ । यतिबेला हाम्रो ओंठमा मुस्कान छाउँछ ।
तपाईंले कति ख्याल गर्नुभएको छ, जब हामी मुस्कुराउँछौं मन आनन्दित हुन्छ । शान्त हुन्छ । उमंगको लहर चल्छ । क्षणभर नै सही, रिस, कुण्ठा, भय, तनाव, वेचैनी हट्छ । त्यती मात्र कहाँ हो र ? जब तपाईं-हाम्रो अनुहारमा मुस्कान प्रकट हुन्छ, हामी उभिएको वातावरणमा खुसियली छाउँछ । आसपासमा बसेका मान्छेहरुमा त्यसको प्रभाव देखिन्छ ।
अति सामान्य र स्वभाविक भावनात्मक स्थिति हो । तर, यसको प्रभाव गहिरो र सर्वत्र छ । जब हामी मुस्कुराउँछौं यसले हामीलाई मानसिक र शारीरिक रुपमै फाइदा गर्छ । त्यसैले त भनिएको छ, मुस्कान आफैमा एक उपचार हो । ओखति हो ।
अझ काइदाको कुरा त के भने, मुस्कुराउनका लागि हामीलाई त्यस्तो विशेष अवसर प्राप्त भइरहनुपर्दैन । न यसलाई हामीले बाहिरी श्रोतबाट ल्याउनुपर्छ । किनभने यो हामी भित्रैबाट प्रकट हुने भाव हो ।
मुस्कानको अनेक फाइदा छन् । यसले हाम्रो आत्मविश्वास अरु दरिलो बनाउँछ, मैत्रीपूर्ण व्यक्तित्व निर्माण गर्छ । मुस्कानले हाम्रो शरीरलाई उत्तेजना र भयबाट टाढा राख्छ । खुलेर हाँस्नाले रक्तनली खुल्छ र रगत राम्रोसँग शरीरको अन्य भागमा पुग्छ । हाँसोले रोगप्रतिरोधी क्षमतालाई पनि बढाउँछ ।
मनोचिकित्सकहरु भन्ने गर्छन्, मानसिक स्थितीलाई सही राख्न मुस्कानले थेरापीको काम गर्छ ।
तर, कस्तो मुस्कान ?
यसमा घतलाग्दो जवाफ छ । मुस्कानको श्रोत हृदय हो । हृदयबाट उठ्ने उमंगको लहर ओंठ हुँदै आँखा र समग्र अनुहारमा पोतिनुपर्छ । यसले अनुहारमा बेग्लै आभा पैदा गर्छ ।
प्रायजसो मुस्कान सच्चा र मनदेखि नै आँउछ । मुस्कुराहटको हाम्रो विचार र भावनाहरुसँग गहिरो सम्बन्ध हुन्छ । अरुको राम्रो गुणमा ध्यान दिएर हेर्ने हो भने हामीलाई मुस्कुराउन कुनै समस्या हुँदैन ।
सँधै मुस्कुराउन भन्दा पहिले सहज हुने कोसिस गर्नुहोस् होइन भने मुस्कान नक्कली देखिन्छ । जब मुस्कान मनदेखि नै निस्कन्छ त्यखिखेर आँखामा चमक हुन्छ र अरुलाई यो बुझ्न बेर लाग्दैन कि यो मुस्कान सच्चा हो र मनदेखि कै हो ।
तर, केही मानिसहरुको लागि मुस्कुराउनु सजिलो हुँदैन । उनीहरुलाई मुस्कुराउन आँउदैन भन्ने त हुँदैन तर उनीहरु गम्भिर माहौलमा हुर्केबढेका हुन्छन् र उनीहरुलाई सानैदेखि गम्भिर बन्न जोड दिइन्छ । यस्तोमा उनीहरु मनमा प्रेम हुँदाहुँदै पनि मुस्कुराएर कुरा गर्न पाँउदैनन् ।
यस बाहेक केही मानिसहरु लजालु स्वभावका हुन्छन् । यसैकारण मुस्कुराउनु उनीहरुको लागि सजिलो हुँदैन । फेरि मानिसहरुको स्वभाव पनि फरकफरक हुन्छ । कोही धेरै मुस्कुराउँछन् भने कोही कम । तर, एक सानो कोसिस त गर्न सकिन्छ ।
यदि तपाईं मुस्कुराएर कसैलाई बोलाउनु हुन्छ भने भने उनीहरु पनि तपाईंलाई कदर गर्नेछन् र आफू पनि मुस्कुराउँछन् । त्यतिखेर मुस्कुराउनु तपाईंको लागि सजिलो हुन्छ
भनिन्छ हरेक मुस्कान सच्चा हुँदैन र यो सत्य पनि हो । केही मुस्कान बनावटी र कुटिल पनि हुन्छन् ।
स्वार्थी, कपटी, धोकेबाज मानिसहरु लोभ्याउनको लागि राम्रो मुस्कान दिन सक्छन् तर, उनीहरुको मुस्कान खोक्रो हुन्छ ।
यसैले हरेक मुस्कानको अर्थ बुझ्नुहोस् र अगाडिको मानिस कसरी मुस्कुराइरहेको छ भन्ने बुझ्नुहोस् । कँही कसैको कुटिल मुस्कान तपाईंलाई अपमानित बनाउन, लज्जित बनाउन वा तपाईंको उपहास उडाउनको लागि त होइन ? यस्तो मुस्कानबाट सँधै सावधान रहनुहोस् ।
मुस्कानको विशेषता नै यो हो कि यसको माध्यमबाट तपाईं केही पनि नबोली आफ्नो मनको भावनाहरु अरुको अगाडि व्यक्त गर्न सक्नुहुन्छ ।
कसैको रिसाएको अनुहार देखेर तपाईंलाई पनि नराम्रो लाग्न सक्छ र निराशा छाँउछ । तर, कसैको मुस्कुराएको अनुहारले तपाईंलाई खुसी र ताजापन दिन्छ ।
यदि हामी अरुसँग कुरा गर्दा तनाव महसुस गरिरहेका छौं भने एक मुस्कानले तनाव टाढा गर्न सकिन्छ । मुस्कानको बलले हामी निराशा वा तनावको सामना सजिलै गर्न सक्छौं ।
यदि कोहीले तपाईंलाई मुस्कुराएरै कुनै सल्लाह वा केही सुझाव दिन्छन् भने तपाईं त्यसलाई खुसीखुसी मान्नुहुन्छ । तर, कसैले रिसाएर दिएको सल्लाहको असर विपरित हुन्छ । तनावपुर्ण माहौलमा मुस्कुराहटले धेरै भ्रमहरुलाई पनि टाढा बनाइदिन्छ ।
खुसी रहनको लागि तपाईं यस्ता मानिसको सम्पर्कमा रहनुहोस् जो हंसमुख होउन् । कसैसँग लडाई झगडा गर्नबाट बच्नुहोस् ।
सकरात्मक सोच राख्नुहोस् यसले तनाव टाढा भगाउँछ ।
आफ्नो परिवार वा मिल्ने साथीहरुसँग कँही घुम्न जानुहोस् । यसले आनन्द र उर्जावान महसुस हुन्छ ।
शरीरलाई पोषक तत्वको धेरै आवश्यकता हुन्छ । त्यसैले दिनमा १–२ पटक धेरै भोजन गर्नुको सट्टा ५–६ पटक थोरै थोरै खानुहोस् । खाना सँधै सन्तुलित र पौष्टिक खानुहोस् किनभने खुसी रहनको लागि खानुभन्दा राम्रो कुनै अरु उपाय छैन । यस बाहेक भरपुर निन्द्रा लिनुहोस् ।
प्रतिक्रिया 4