Comments Add Comment

कोरोनाका कारण विराटनगरका दुई ठूला होटल बन्द

व्यवसायी भन्छन्- ‘चलेकालाई पनि खर्च धान्नै गाह्रो’

१४ असोज, विराटनगर । कोरोना महामारीका कारण चार महिनाको अन्तरालमा विराटनगरका दुई ठूला होटल बन्द भएका छन् । विराटनगरमा छुट्टै पहिचान बोकेका तारे होटल जेनिय र होटल नमस्कार बन्द भएका हुन् ।

विराटनगरको ट्राफिक चौकमा स्थापित होटल नमस्कार व्यवसायीक रुपमा विराटनगरमा खुलेको पहिलो स्तरीय होटल हो । जेनियल प्रदेश १ मा ठूलो लगानीमा खुलेको पहिलो होटल हो ।

२०३७ सालमा स्थापना भएको होटल नमस्कारले मंगलबारबाट आफ्नो सेवा बन्दको घोषणा गरेको हो । २०५५ सालमा स्थापना भएको जेनियल होटल ११ असारबाटै बन्द भइसकेको छ ।

होटल नमस्कार वि.सं २०३७ सालमा युवराज श्रेष्ठले स्थापना गरेका थिए । श्रेष्ठको निधनपछि उनको छोरा युनेशराज श्रेष्ठले हेर्दै आएका थिए । तर कोरोना महामारीका कारण सञ्चालन खर्च धान्न मुस्किल भएपछि मंगलबारबाट बन्द गर्न बाध्य भएको उनले बताए ।

‘खर्च धान्नै गाह्रो भयो,’ श्रेष्ठले भने, ‘विल्डिङ पनि पुरानो भयो, मर्मतका लागि चाहिने खर्च पनि धेरै हुन आउँछ ।’ होटल बन्द भएपनि अन्य व्यवसाय भने सञ्चालनमा रहने उनले बताए । ‘होटल नमस्कार मात्रै बन्द भएको हो । अन्य विजनेश सञ्चालनमा छन्,’ उनले भने, ‘ अवस्था सुधार भयो भने फेरि सञ्चालन गर्ने योजना छ ।’

विराटनगरमा ठूलो लगानीमा सञ्चालित होटल जेनियल असार ११  मा बन्द भएको थियो । २०५५ साल पुस ५ गतेदेखि सञ्चालनमा आएको होटल जेनियल कोरोना महामारीका कारण बन्द भएको सञ्चालक हरिभक्त सिटौलाले बताए । होटल बन्द भएसँगै यसको रेखदेखका लागि सुरक्षा गार्ड र सफाइ कर्मचारी मात्रै हाल कार्यरत रहेको उनले बताए । होटल जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ मिटिङ हल, एक स्विमिङ पुल र २ वटा रेस्टुरेन्ट छन् । होटल नमस्कारमा भने २४ वटा रुम छन् ।

दश प्रतिशत व्यापर छैन्

कोरोना महामारीका कारण सञ्चालनमा रहेका होटललाई पनि खर्च धान्न गाह्रो भएको होटल सञ्चालकहरु बताउँछन् । ‘सञ्चालनमा रहेका अरु होटलहरु पनि बन्द हुने अवस्थामा छन्,’ पर्यटन व्यावसायी भविष श्रेष्ठ भन्छन् ‘होटलमा १० प्रतिशत पनि चहलपहल छैन ।’  खर्च धान्न सक्ने अवस्था नरहेकाले धेरै होटलहरु बन्द हुने अवस्थामा रहेको उनको गुनासो छ ।

‘सरकारले हाम्रा कुरा सुन्दै सुन्दैन,’  होटल स्टनस्टारका सञ्चालक समेत रहेका श्रेष्ठले भने, ‘होटल बन्द हुँदा बैंकको ऋण तिर्न र कर्मचारीलाई तलब दिन समस्या परेको छ । खर्च बढेको बढ्यै छ, तर आन्दानी भने छैन् ।’

मोरङ व्यापार संघको कार्यसमिति सदस्य समेत रहेका अर्का होटल व्यवसायी राजन श्रेष्ठ लकडाउन खुलेपनि चहलपहल नभएका कारण होटल व्यावसाय राम्रोसँग सञ्चालनमा आउन नसकेको बताउँछन् । ‘हिजोको तुलनामा केही फ्लो छ । तर यो पर्याप्त होइन,’ उनले भने, ‘खर्च धान्नै मुस्किल भएका कारण होटलहरु बन्द हुने अवस्थामा छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment