Comments Add Comment

८२ प्रतिशत बलात्कार चिनजानकै व्यक्तिबाट

१४ असोज, काठमाडौं । नेपालमा भएका ८२ प्रतिशत बलात्कारसँग सम्बन्धित घटना आफन्तबाटै हुने गरेको पाइएको छ ।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनजानकै व्यक्ति वा निकट परिवारका सदस्यबाट ८२.२७ प्रतिशत जबरजस्ती करणीको घटना भएको तथ्यांक प्रस्तुत गरे ।

थापाका अनुसार पछिल्लो दुई वर्ष र चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४ हजार ८७० वटा जबरजस्ती करणीको घटना भएको छ । यसबाट ४ हजार ९१९ जना पीडित छन् । यो तथ्याङ्कमा प्रहरीमा दर्ता भएका केसहरुमात्रै समावेश रहेको थापाले जानकारी दिए ।

गत साउनमा २६४ र भदौमा २३२ गरी दुई महिनामा ४९६ वटा जबरजस्ती करणीको घटना प्रहरीमा दर्ता भएको र त्यसबाट ४९९ जना पीडित भएको थापाले बताए ।

साउन र भदौको दुई महिनालाई ६३ दिनले भाग गर्दा औसतमा प्रतिदिन ७ वटा घटना हुन भएको देखिएको उनले सुनाए । थापाका अनुसार विगतका वर्षहरुमा औसतमा प्रतिदिन ६ वटासम्म जबरजस्ती करणीका घटना भएका छन् ।

तर, यसवर्षको दुई महिनाको तथ्याङ्क केलाउँदा प्रतिदिन औसतमा ७ वटा हुन आएको छ । साउन र भदौमा जबरजस्ती करणीबाट ३१९ जना बालिका र १८० जना महिला पीडित भएको तथ्याङ्क छ ।

महानिरीक्षक थापाका अनुसार सबैभन्दा बढी जबरजस्ती करणीका घटना प्रदेश १ मा भएको छ । त्यसपछि प्रदेश ५, प्रदेश २ र कर्णाली प्रदेश रहेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा २२३० वटा जबरजस्ती करणीको घटना भएको थियो । ०७५/०७६ मा २१ सय ४४ वटा घटना भएको थियो ।

जबरजस्ती करणीको घटनाका पीडित ६४ प्रतिशत बालिका छन् । अर्थात मुख्य पीडित १८ वर्षमुनिका रहेको पाइएको छ ।

२० प्रतिशत अभियुक्त फरार

महानिरीक्षक थापाले जबरजस्ती करणीमा संलग्नको आरोप लागेकामध्ये ८० प्रतिशत पक्राउ परेका र २० प्रतिशत फरार छन् ।

फरारहरुको खोजी हुन नसक्नुको मुख्य कारणमा सीमावर्ती क्षेत्रबाट भारततिर भाग्नु रहेको थापाले बताए ।

विश्वमा नेपालको स्थिति राम्रो : गृहमन्त्री

बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको सुनाए ।

‘सवा २०० देशहरु अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छौं । पछाडिबाट हेर्दा हामी टप १५ मा छौं’ थापाले भने ।

प्रहरी महानिरीक्षक थापाले पनि दक्षिण अफ्रिकामा धेरै बलात्कार घटना हुने तथ्य प्रस्तुत गर्दै प्रतिलाखमा १३२ जनामाथि जबर्जस्ती करणी हुने गरेको बताए ।

नेपालको केसहरुलाई हेर्दा प्रतिलाखमा ०.८० प्रतिशत छ । अर्थात, एक लाख २० हजारमा एक जनामा जबरजस्ती करणी भएको पाइएको उनले बताए ।

‘यही अवस्थामा हामीले रोक्न सक्यौं भने कम्तीमा हामीले साउथ अफ्रिकाको नियती भोग्नुपर्दैन थियो कि भन्ने हाम्रो पनि चाहना हो र हामी त्यसमा लागि रहेकै छौं’ बैठकमा महानिरीक्षक थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment