मनीग्राम इन्टरनेशनल, इन्क (-NASDAQMÙ GI) ले नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । समझदारीपछि विश्वभरीबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सीधै रकम प्राप्त गर्न सक्नेछन् ।
यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा मनीग्रामको अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट विश्वका विभिन्न दुई सय देशमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर मनीग्रामले प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई मनीग्रामबाट पठाएको रेमिट्यान्स नेपालमा आइएमई पेबाट भुक्तानी लिने नयाँ सुविधा प्रदान गरेको छ ।
व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको मनीग्रामका लागि साउथ एसियास्थित ग्लोबल स्ट्राटेजीक सेल्स प्रमुख रिज सोहेलले बताए । प्रमुख सोहेलले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो घरमा वा वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको विश्वास व्यक्त गरे ।
वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । मनीग्रामका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ । सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले मनीग्राम मार्फत आइएमई पे वालेटमा आउने प्रति ट्रान्जेक्सनमा रू. ६० क्यास व्याक प्रदान गर्नेछ । यो अफर आजैदेखि लागू भई ३१ डिसेम्बर २०२० सम्म कायम हुनेछ ।
रेमिटेन्स सेवाका लागि पर्यावाची नाम आइएमईलाई विश्वमा छरिएर रहेका नेपालीहरूले एउटा भरपर्दो कम्पनी मान्दै आएका छन् । आइएमई यो बजारको पहिलो र धेरै संजाल भएको नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले विगत दुई दशकदेखि निरन्तर स्तरीय रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रवन्ध मिलाइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेम राज ढकालले बताए । जव कोरोना महामारीको स्थिति सामान्य हुन्छ त्यसपछि उक्त रकम आफुलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिन्छ, ढकालले थपे ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4