Comments Add Comment

प्रहरी र जनप्रतिनिधिको दबाबमा बलात्कार घटनामा मिलापत्र

१६ असोज, जनकपुरधाम । बलात्कारको घटना मिलापत्रमा टुंग्याउनु कति घातक हुँदो रहेछ भन्ने बझाङकी सम्झना बिकको निर्मम हत्याले देखाइसकेको छ ।

गत साउनमा भएको बलात्कार घटना ५०० रुपैयाँ जरिवाना लिएर मिलापत्र गर्दा तिनै व्यक्तिले पछि १२ वर्षीय सम्झनाको बलात्कारपछि हत्या गरेको खुलेको थियो ।

पञ्चायतले प्रहरीमा जान नरोकेको भए डाक्नेश्वरी नगरपालिका–७, ब्रहमपुरकी संगीता मण्डलको पनि ज्यान जाने थिएन । चार जनाको सामूहिक बलात्कारमा परेकी संगीतालाई पञ्चायतले ५५ हजार रुपैयाँ लिएर घटनामा संलग्नलाई माफी दिन निर्देशन दिएका थिए ।

२८ भदौमा संगीतामाथि सामूहिक बलात्कार हुनुभन्दा तीन दिन पहिला सप्तरीमै अर्को जबर्जस्ती करणी प्रयासको घटनालाई गाउँको पञ्चायतले सामसुम पारेको तथ्य फेला परेको छ ।

विडम्बना के छ भने यो अपराध लुकाउन पञ्च मात्र होइन अनुसन्धान गरेर दोषी पत्ता लगाउने निकायका अधिकारी पनि अर्थात प्रहरी पनि संलग्न भएको पाइएको छ ।

खडक नगरपालिका–११, लालपुरमा स्थानीय दुई किशोरीलाई गाउँकै तीन युवाले बलात्कारको प्रयास गरेका थिए । पीडित परिवारलाई ३ लाख रुपैयाँ लिएर घटना गुपचुप पार्न बाध्य पारिएको थियो । यद्यपि त्यो रकम पीडित परिवारले पाएका छैनन् ।

यसरी भयो घटना 

२५ भदौमा सप्तरीसहित तराई मधेशका महिला जितिया पर्वको शुरुवात गर्दै थिए । यो पर्वको पहिलो दिन नुहाइधुवाइ गरी विधिपूर्वक जितिया पर्व मनाउन शुरु गरिएको थियो । त्यही दिन साँझ खडक नगरपालिकाकी १७ र १६ बर्षकी दुई किशोरी शौच गर्न गाउँ नजिकैको बाँस झाडी गए ।

झाडीबाट फर्किने क्रममा लुकेर बसेका गाउँका ३ जना युवकले दुई किशोरीलाई कब्जामा लिएर तान्दै केही परसम्म लान्छन् । दुबै किशोरीले हारगुहार गरेपछि गाउँका मानिस भेला भए । त्यसपछि युवकहरु त्यहाँबाट भागे ।

गाउँलेहरू भेला हुँदासम्म ती युवकले किशोरीको कपडा च्यातचुत पारिसकेका थिए । कपडा च्यातिएपछि हातले शरीर ढाकेर रुँदै दुबै जना घर फर्के । बलात्कार उद्योग गर्नेहरू भागे पनि मोटरसाइकलबाटै उनीहरुको पहिचान खुल्यो ।

भोलिपल्ट किशोरीको परिवार इलाका प्रहरी कार्यालय कल्याणपुर गएर घटनाको जानकारी गरायो । प्रहरीले घटना विवरण कम्प्युटरमा टाइप पनि गर्‍यो ।

प्रहरी कार्यालयबाट घर फर्केपछि पनि किशोरीको त्रास हटिसकेको थिएन । किनभने उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । ती दुईमध्ये एक किशोरी घरमा आमासँग बस्दै आएकी छन् ।

किशोरीका बुवा डेढ बर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् । ‘प्रहरीमा किन उजुरी दिइस् भनेर कसैले धम्क्याउँछ कि भन्ने चिन्ताले सताइरह्यो’ किशोरीकी आमाले भनिन्, ‘धम्की त कसैले दिएन । तर मिल्न दबाव दिइरह्यो ।’

पञ्चायतले तोक्यो जरिवाना

प्रहरीमा उजुरी दिएको भोलिपल्टै गाउँका अगुवा अर्थात् पञ्चहरू भेला भए । नगरपालिकाको वडा नम्बर १० डंग्राहीमा वडा नम्बर ११ का वडा अध्यक्ष राम चौधरी, स्थानीय मोहम्मद आजाद, राजाराम यादव, मिश्री मण्डल, परमेश्वर साहसहितका व्यक्तिहरूको भेलाले पीडक पक्षलाई जरिवाना तिराएर पीडितसँग मिलापत्र गराउने जुक्ति निकाले ।

ती युवाबाट ६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय सुनाए । यतिकैमा नगरपालिकाका मेयर हेमायु हक स्वयं पञ्चायती भइरहेको ठाउँमा पुगे । उनले तोकिएको जरिवानाबाट एक लाख रुपैयाँ कम गराएको पीडित परिवारको भनाइ छ ।

सबै निर्णय गरिसकेपछि पीडित परिवारलाई पनि पञ्चायती भइरहेकै ठाउँमा बोलाइयो । ‘श्रीमान त बाहिर हुनुहुन्छ, घरको अभिभावक म भएकाले त्यहाँ गएँ’ पीडित किशोरीकी आमाले भनिन्, ‘बलात्कार जस्तो घटना रकम लिएर मिलाउँदिन मिलाउँदिन भन्दाभन्दै पञ्चहरूले हाम्रो कुरा मान्न तयार हुनुपर्छ भन्नुभयो ।’

उनीहरुले गरेको निर्णयबारे सुनाउँदै तीन दिनपछि पैसा पाउने र मिलापत्र गर्ने मिति तोके । पुनः यहीं अगुवाहरू भेला भए । पीडितकी आमालाई बोलाइयो । र, पहिलादेखि नै तयार रहेको कागजमा छाप लगाउन भने ।

एक किशोरीकी आमाले भनिन्, ‘हामीलाई न्याय चाहिएको हो तर पञ्चले बलजफ्ती छाप लगाए ।’

घटना बलात्कारको, मिलापत्र झैं–झगडाको

गाउँमा बलात्कार प्रयासको घटना भएपछि पञ्चहरूले यो घटनालाई बाहिर आउन दिएनन् । अनि, मिलापत्र पनि गराइहाले । तर मिलापत्र भने सामान्य झै–झगडा शीर्षकमा गराइएको छ ।

सामान्यझैं झगडा भएको र त्यसमा दुबै पक्ष मिलेको भनेर मिलापत्र गराइएको वडा नम्बर १० का वडा अध्यक्ष चौधरीको दाबी छ ।

सामान्य झगडा हो भने पीडकलाई त्यत्रो रकम किन तिराइएको त ?’ जिज्ञासा राखेपछि वडा अध्यक्ष चौधरी भन्छन्, ‘झै झगडामा घाइते भएपछि उपचार खर्च तिराउन रकम लिइएको हो ।’

कहाँ गयो जरिवाना वापतको रकम ?

पञ्चायतीमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता आजादको हातमा पीडक परिवारले तोकिएको जरिवाना वापतको रकम उपलब्ध गराए ।

रकम लिने बेला जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता मिश्रीलाल मण्डल, राजाराम यादव, नेकपाका परमेश्वर साह पनि उपस्थित रहेको पीडित परिवार बताउँछन् ।

पीडक परिवारसँग उनीहरुले ५ लाख ५० हजार रुपैयाँ लिए पनि पीडित परिवारले लिएका छैनन् । हामीले वडा अध्यक्ष राम चौधरीसँग त्यो रकमबारे बुझ्न खोज्यौं ।

वडा अध्यक्ष चौधरीले पीडित परिवारलाई दिनकै लागि आजादले आफ्नो हातमा रकम दिएको बताए । ‘उनले मेरो हातमा ३ लाख ५ हजार रकम दिए’ तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल (अहिलेको जनता समाजवादी पार्टी) बाट वडा अध्यक्ष पदमा निर्वाचित चौधरीले भने, ‘मैले पैसा लिन इन्कार गरिरहँदा पनि उनीहरुले दिएको पैसा राखें ।’

पैसा राखेपछि पीडित पक्षका केही व्यक्ति आएर बैंकमा खाता खोलेर पैसा राख्ने बताएपछि आफूले ती सबै पैसा उनीहरुलाई नै दिएको उनले बताए ।

वडा अध्यक्षका अनुसार उनीहरुले पैसा लगेपछि सिर्जना फाइनान्स लिमिटेडको बोदे बर्साइन शाखामा खाता खोलेर राखेका छन् । उक्त खाता लक्ष्मण मण्डल र परमेश्वर साहको संयुक्त हस्ताक्षरबाट सञ्चालनन गरिएको छ ।

वडा अध्यक्षले उनीहरुलाई ३ लाख ५० हजार रुपैयाँ दिएर बैंकमा राख्न भनेको भने पनि स्रोतका अनुसार उक्त संयुक्त खातामा १ लाख ५० हजार रुपैयाँमात्र छ ।

पीडक पक्षबाट ५ लाख ५० हजार रुपैयाँ तिराएका पञ्चले आफूदेखि प्रहरीसम्मलाई रकम दिएको देखिएको छ । कसैले ५० हजार त कसैले १० हजारसम्मको रकम बाँडफाँड गरेका छन् ।

पञ्चको निर्देशनमा रकम तिरेका एक बलात्कार प्रयास आरोपीका बाबुले त्यो रकम पञ्चहरुले आफैं खाने योजना रहेको उनीहरुको व्यबहार हेरेर पहिला नै अनुमान लगाएको बताए । ‘आखिर जे मेरो अनुमान थियो त्यही भएछ’ नाम नबताउने शर्तमा उनले भने ।

वडा अध्यक्ष चौधरीले पीडित पक्षलाई रकम दिने सन्दर्भमा पछिल्लो तीन दिन यता छलफल भइरहेको र चाँडै बैंकबाट रकम झिकेर उनीहरुलाई दिइने बताए । यद्यपी ५ लाख ५० हजारबारे उनी अझै बोल्दैनन् । भन्छन्, ‘३ लाख रुपैयाँ छ । दुबै किशोरीका परिवारलाई बाँडेर दिइनेछ ।’

उल्टै पीडितलाई आरोप

बलात्कार प्रयासका घटना भएपछि त्यसलाई पञ्चायती माध्यमबाट निष्कर्षमा पुर्‍याउन भूमिका खेल्ने नगरपालिकाका मेयर हेमायु हक र वडा अध्यक्षसँग यसबारेमा कुरा गर्‍यौं ।

मेयर हकले बलात्कार प्रयासको घटना भएको बारे आफूलाई जानकारी नभएको बताए । ‘त्यो पञ्चायतीमा त तपाईं पनि जानुभएको थियो ?’ प्रश्न राख्दा मेयर हकले पञ्चायती सम्पन्न भइसकेपछि आफू गएको बताए ।

बलात्कार प्रयासको घटना नभएकै कारण दुबै पक्ष र समाज मिलेर घटनालाई मिलाएको उनको भनाइ छ । वडा अध्यक्ष चौधरी पनि पञ्चायती सकिन लाग्दा अन्त्यतिर पुगेको दावी गर्छन् ।

यद्यपी वडा अध्यक्षसँग कुरा गर्दै जाँदा उनले झैझगडा नभइ बलात्कार प्रयासको घटना भएको स्वीकारे । ‘बलात्कार चाहिँ भएको होइन्, तर प्रयास चाहिँ भएको हो’ उनले भने ।

थानामै मिलापत्र भयो–वडाध्यक्ष

पीडितकी किशोरीकी आमा अझै भन्छिन्, ‘घटना भएको भोलिपल्टै प्रहरीलाई जानकारी गराइसकेकी छु ।’ तर प्रहरी यो कुरा मान्न तयार छैन ।

इलाका प्रहरी कार्यालय, कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीसँग घटनाबारे बुझन खोज्दा उनले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘त्यस्तो कुनै जानकारी आएको छैन’ उनले भने, ‘बरु निवेदन लिएर अहिले पनि पठाइदिनुस् । हामी प्रक्रियामा जान्छौं ।’

उनले घटना मिलापत्र भएकोबारे पनि आफूलाई कुनै जानकारी नभएको दाबी गरे । ‘मिलापत्र हुँदा म नगरपालिका कार्यालयको एउटा काममा व्यस्त थिएँ’ वडा अध्यक्ष चौधरीले भने ‘तर मिलापत्र थानामै भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment