१८ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महाव्याधीबाट नेपालमा ८६ हजार ८२३ जना संक्रमित भइसकेका छन् भने ५३४ जनाको ज्यान गइसकेको छ ।
कोरोनाबाट जोगिने तीन महत्वपूर्ण उपायमध्ये एक हो–मास्कको सही प्रयोग । तर अधिकांश नेपालीले मास्क प्रयोग गर्नै नजानेको विज्ञहरूले बताएका छन् । अध्ययनहरूले पनि अधिकांश नेपालीले सही तरिकाले मास्कको प्रयोग नगरेको देखाउँछ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययन अनुसार हरेक तीनमध्ये एक जनाले सार्वजनिक स्थानमा जाँदा पनि मास्क लगाउँदैनन् । मास्क लगाउने हरेक तीन जनामध्ये एक जनाले सही तरिकाले मास्क लगाउँदैनन् ।

कोरोना संक्रमणको केन्द्रविन्दु बन्दै गएको काठमाडौं उपत्यकामा आइतबार सरसर्ती अवलोकन गर्दा हरेक २० मध्ये १९ जनाले गलत तरिकाले मास्क लगाएको भेट्यौं ।
‘जथाभावी मास्क लगाउनु र नलगाउनु उस्तै हो’
दुबै जनाले सही तरिकाले मास्क लगाउँदा भाइरस सर्ने सम्भावना ९० प्रतिशतसम्मले न्यून हुने विज्ञहरू बताउँछन् । तर अधिकांशले मास्क नै नलगाउने, लगाए पनि सही तरिकाले नलगाउने र सही तरिकाले लगाउनेले पनि साथी वा आफन्त भेटेपछि मास्क झिक्ने गरेका छन् ।

‘एक्लै हिँड्दा मास्क लगाउछौं तर साथीभाई/आफन्त भेट्दा खोल्छौं, एक्लै हुँदा बरु मास्क नलगाए पनि हुन्छ तर दोस्रो व्यक्तिको नजिक पर्नेबित्तिकै अनिवार्य लगाउनुपर्दछ’ कोभिड–१९ को उपचारमा संलग्न डा.शेरबहादुर पुन भन्छन्, ‘मास्क सही तरिकाले लगाउँदा कोरोना संक्रमणको गति धेरै कम गर्न सकिन्छ भन्ने पुष्टि भइसकेको कुरा हो ।’
सर्जिकल मास्क प्रयोग गर्न र मास्कको पुनः प्रयोग नगर्न डा. पुनको सुझाव छ । उनका अनुसार ठीक तरिकाले मास्क लगाइएन भने लगाउनु र नलगाउनुमा कुनै भिन्नता रहँदैन । डा. पुन भन्छन्, ‘कोरोनापछि हामीले हात मिलाउन छाड्यौं, छिट्टै नेपालीले मास्क सही तरिकाले लगाए है भन्ने सुन्न पाउँ ।’
हेर्नुहोस् थप तस्वीरहरु

प्रतिक्रिया 4