Comments Add Comment

ललितपुरको नगर प्रहरीले अब लाठी नबोक्ने

१९ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरीले अब लाठी नबोक्ने भएको छ । महानगरपालिकाले लिएको नीतिअनुसार नगर प्रहरी बलले लाठी नबोक्ने निर्णय गरेको प्रमुख सिताराम हाछेथुले बताए ।

२०५५ सालबाटै नगर प्रहरीलाई लाठी बोक्न अनिवार्य गरिएको थियो । तर, नगर प्रहरीको भूमिका जनतासँग सहकार्य गर्ने भएको भन्दै ललितपुर महानगरपालिकाले लाठी नबोक्ने नीति लिएको हो ।

हाछेथुका अनुसार सोमबारबाट नगर प्रहरी बलका सबै दर्जाका प्रहरीले गस्तीमा जाँदा लाठी बोक्ने छैनन् ।

‘आजबाट नगर प्रहरी बलले लाठी बोक्दैन,’ उनले भने,’हामी जनतालाई तर्साउन नगरमा नगरमा खटिने हैन, हामी सबैपक्षसँग सहकार्य गरेर अघि बढ्ने नीतिअनुसार काम गर्छौं ।’

उनले लाठी पनि एक किसिमको हतियार नै भएको भन्दै नगर प्रहरीको छवीलाई सुधार्न पनि नबोक्ने निर्णय भएको बताए । विगतमा नगर प्रहरी गस्तीमा जाँदा लाठी बोकेकै कारण विभिन्न अप्रिय घटना भएको भन्दै उनले अब सम्झाई बुझाई गर्नमै जोड लगाउने नीति लिएको बताए ।

‘हामीले तर्साउने हैन, सम्झाउने हो, सम्झाउँदा पनि भएन भने कानूनअनुसरको दण्ड जरिवाना गर्ने हो,’ हाछेथु भन्छन्,’लाठी बोकेर निस्कँदा नगर प्रहरीलाई जुध्न/भिड्न आएको जस्तो सामाजिक छाप बनेको छ, यसलाई मेटाउन महानगरपालिकाले आवश्यक देखेको छ ।’

उनका अनुसार लाठी बोकेकौ कारण कतिपय अवस्थामा दम्भ प्रकट भएर नागरिकमाथि नगर प्रहरी जाइलाग्ने अवस्था पनि बन्न सक्ने भएकाले सहज वातावरण मै आफ्नो भूमिका निभाउन प्रोत्साहित गर्न लागिएको हाछेथुको तर्क छ ।

‘ट्राफिक प्रहरीले यत्रो सवारीसाधन हातमा लाठी नलिएरै व्यवस्थापन गरिरहेको छ, हाम्रो फुटपाथ व्यवस्थापन त त्यति जटिल काम पनि हैन,’ उनी भन्छन्,’नगर प्रहरीको गरीमा त मिठो बोलेरै बढ्छ, हामी राम्रो बोलेरै गलत गर्नेहरुलाई गल्ती नदोहोर्‍याउन भन्न सक्छौं ।’

उनले लाठीबाट हुने भौतिक कारवाहीले तत्काल समस्या हटेको जस्तो देखिएपनि त्यसले जनआक्रोश झन बढ्ने अवस्था आउने र कतिपय अवस्थामा निर्दोष पनि मारका पर्ने भएका नगर प्रहरीलाई  निशस्त्र बनाइएको बताए ।

नगर प्रहरीले पाएको भूमिका जनताको सुखदुःखमा साथ दिने र शहरी व्यवस्थापनमा ध्यान दिने भएको भन्दै उनले यसका लागि लाठी भन्दा पनि मिठो बोली र व्यवहार अत्यावश्यक रहेको औंल्याए ।

‘लाठीविना गस्तीमा जाँदा हामीसँग नागरिकले खुलेर कुरा गर्न सक्छन्, समस्याहरु राख्न सक्छन्,’ उनी भन्छन्,’हामीलाई थर्काउन र तर्साउन हैन, सघाउन आएको हो भन्ने महसुस गर्नसक्छन् ।’

शहरमा हुने आपराधिक गतिविधिलाई नेपाल प्रहरीले नै व्यवस्थान गर्ने हाछेथुले नागरिकसँग सहकार्य गर्ने काममा नगर प्रहरीले बढी जोड दिने बताए ।

शहरमा पालना हुनुपर्ने नियमबारे जानकारी दिन माइकिङ र सडक गस्ती सुरु भएको भन्दै उनले यसलाई नागरिकलाई सचेत बनाउने अभियानका रुपमा अघि बढाइने बताए ।

‘शहरी व्यवस्थापनका मुद्दामा समस्या पर्दा महानगरलाई सम्झिनसक्ने वातावरण बनाउन हामी प्रयास गर्छौं,’ उनले भने,’नगरलाई सभ्य, सुसंस्कृत, सुन्दर र सफा बनाउने अभियानमा नगर प्रहरीले नागरिकसँग मिलेर इँटा थप्छ ।’

हाछेथुले नगर प्रहरी बलको प्रमुखका रुपमा आएपछि सुरुमा फुटपाथमा चलाइएका वर्कसप हटाउने अभियान चलाएका थिए । त्यसपछि उनले पसलबाहिर समान राखेर पेटी कब्जा गर्ने व्यवसायीलाई कारवाही थलेका थिए । गत हप्ता नगर प्रहरी बलले ललितपुर महानगरभित्रको रक्सीको होडिङबोर्डहरु हटाउन अभियान थालेको थियो ।

शहरलाई सुन्दर बनाउन र नागरिकलाई सहज रुपमा आवागमन गर्ने वातावरण बनाउन नगर प्रहरी बलले चरणबद्ध रुपमा सुधारका अभियानहरु चलाउने हाछेथुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment