Comments Add Comment

भालुवाङले प्रदेशभरको मनोविज्ञान प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल

२० असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका छन् ।

अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उनले बताए ।

प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने ‘राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन । यो ठाउँले दुईवटा आञ्चलिक (राप्ती र लुम्बिनी)  मनोविज्ञानलाई जोड्ने काम गर्छ, साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ ।’

प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएको भन्दै पोखरेलले लुम्बिनी क्षेत्रकाले दुख मान्नुनपर्ने बताए ।

कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै उनले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गरे ।

‘हामीले त्यो सोचाइ राख्यौं भने विमति हुनुपर्छ भन्ने लाग्दैन’ उनले भने । प्रदेशको सबैभन्दा ठूलो नदी सभ्यता भएको ठाउँमा प्रदेश राजधानी बन्न लागेको पनि पोखरेलले जिकिर गरे ।

उनले बुटवल–भैरहवा करिडोर क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता पनि जनाए । प्रदेश राजधानी भालुवाङ तोके पनि त्यहाँ संरचना नबन्दासम्म बुटवलमा नै रहने पनि उनले बताए ।  ‘जबसम्म बनिसक्दैन तबसम्म हामी यहीँ हो बस्ने हो, निर्णय गर्नेवित्तिकै सर्ने हो भन्ने कुरा सत्य होइन’ मुख्यमन्त्री पोखरेलले भने ।

उनले प्रदेश राजधानी सरे पनि प्रदेश सरकार सिंगो प्रदेशभरको हुने भन्दै प्रदेश नेतृत्व नै बुटवलबाट बाहिर जान खोजेको अर्थमा नबुझ्न आग्रह गरे ।

प्रदेश राजधानीप्रति गर्व गर्ने बनाउँछु

मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानीलाई प्रदेशसभाका सबै सदस्यले गर्व गर्ने ठाउँ बनाउने बताए । पहिल्यै बसाइसराइबाट शहर बनिसकेको ठाउँमा भन्दा भर्जिन ल्याण्डमा व्यवस्थित र नमुना शहर बनाउन खोजेको पनि उनले बताए ।

‘हामीले मास्टरप्लान देखाउनेवित्तिकै यो मास्टरप्लान लिएर जाँदा प्रदेशसका सदस्यहरुले जे गरेछौं शानदार गरेछौं भन्ने वातावरण बनाउनेछौं’ उनले भने ‘तोक्नका लागि तोक्ने त्यसपछि सुतेर बस्ने खालको मान्यता होइन ।’

मेरो घरबाट पनि टाढा पर्छ

मुख्यमन्त्री पोखरेलले आफ्नो ठाउँमा राजधानी लगेको भन्ने कुरा पनि गलत भएको जिकिर गरे । ‘मुख्यमन्त्रीको गाउँबाट भालुवाङ आउन जति समय लाग्छ । बुटवलबट पनि त्यति नै समय लाग्छ’ उनले भने ‘दाङ जिल्लाको पुरन्धराबाट भालुवाङ आउन जति समय लाग्छ । नवलपरासीको बर्दघाटबाट पनि त्यति नै समय लाग्छ ।’

उनले अगाडि थपे ‘यो मैले तर्कका लागि तर्क गरेको होइन । सबैको मनोविज्ञानलाई जोड्दा हामीले कस्तो ठाउँ रोजेका रहेछौं भन्ने बुझ्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment