+
+

समन्वय अभावका कारण खोकनामा द्रुतमार्गमा विवाद : सेना

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १९:२०

२० असोज, काठमाडौं । नेपाली सेनाले सरकारी संयन्त्रहरूबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं—तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको क्रममा खोकनामा विवाद सिर्जना भएको बताएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा मंगलबारको छलफलमा सेनाले बाहिरी चक्रपथ निर्माण, स्मार्ट सिटी निर्माण लगायतका आयोजना लगायतका विषयमा सरकारी निकायबीच नै समन्वय हुन नसकेको बताएको हो ।

द्रुतमार्ग निर्माण हुँदा नै स्थानीयले जग्गा नमासिने गरी काम गर्न आग्रह गरेपछि बागमतीमा दुईवटा पुल थप्ने गरी काम सुरु गरिएको भएपनि बाहिरी चक्रपथ र स्मार्ट सिटी परियोजनामा आवश्यक समन्वय हुन नसक्दा समस्या बढेको सेनाले बताएको हो । सेनाका बलाधिकृत रथि प्रभुराम शर्माले जग्गा विवाद समाधान गरेपछि द्रुतमाथर्गसँग सरोकार नै नराख्ने बाहिरी चक्रपथ र स्मार्ट सिटीका विषयले विवाद निम्त्याएको बताए ।

‘फास्ट ट्रयाकको कुरा हुनासाथ जग्गा नजाओस भनेर स्थानीयले कुरा राखेपछि करिब १५ करोड लगानीमा २ पुल निर्माण गरियो । यो कुरा सपारेपछि बाहिरी चक्रपथको कुरा निकाल्नुभयो स्थानीयले जुन हामीसँग कुनै सरोकार नै छैन’ समिति बैठकमा रथी शर्माले भने । उनका अनुसार चक्रपथ सरकारसँग समन्वय गरी गरिने विकासको एक पाटो मात्रै हो ।

शर्मा भन्छन्, ‘स्मार्ट सिटीसँग पनि हाम्रो कुनै सराकोर थिएन । तर सबै कुराहरु कोर्डिनेसन गरेर हुनुपर्ने थियो सबै मन्त्रालयहरु बसेर छलफल गर्नुपर्ने थियो तर त्यसो हुन सकेन ।’

आयोजना प्रमुख विकास पोखरेलले २०८१ सालमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढिरहेको बताए । आर्थिक वर्ष २०७७/०७८ मा डिजाइन र टेण्डरको लागि समय राखेर तीन वर्षमा सुरुङमार्ग निर्माण सक्ने योजना रहेको उनको भनाई छ ।

गृह मन्त्रलायका सचिव रेश्मीराज पाण्डेले समयमै डिपीआर तयार नहुनु, तयार भएपछि मन्त्रिपरिषदबाट ढिला पारित हुनु, कारोना र खोकना विवादका कारण निर्माणमा केही ढिलाइ भएको बताए ।

छलफलमा सांसदहरूले फास्ट ट्रयाक २०८१ मा सम्पन्न हुने आधार के हुन् र अहिले निर्माणमा किन ढिलाइ भइरहेको छ भन्दै प्रश्न गरेका थिए । नेपाली सेनाले आयोजनाको कुल भौतिक प्रगति ११ दशमलव ११ प्रतिशत र वित्तीय प्रगति ९ दशमलव ५२ प्रतिशत रहेको जनाएको छ ।

खोकनावासीले भने पुरातात्विक सम्पदा र स्थानीयलाई उठिवास बनाउन लागेको भन्दै विरोध जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?