Comments Add Comment

कोरोनाले रन्थनिएको बालुवाटार : सचिवालय सुनसान, प्रधानमन्त्री कति सुरक्षित ?

प्रधानमन्त्रीका सल्लाहकारहरु कसरी बसिरहेका छन् आइसोलेसनमा ?  

२१ असोज, काठमाडौं । नेपाली राजनीतिको मुख्य शक्तिकेन्द्रका रुपमा रहेको प्रधानमन्त्रीनिवास बालुवाटारलाई अचानक कोरोनाले लपेटेको छ । वृद्ध शरीर र कमजोर स्वास्थ्य भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् कोरोनाको उच्च जोखिममा छन् ।

बालुवाटार नेपालका प्रधानमन्त्रीको सरकारी आवास रहेको क्षेत्र हो, जहाँ अहिले मन्त्रिपरिषद बैठकदेखि सत्तारुढ पार्टीको सचिवालय वैठक तथा अन्य फाल्तु कार्यक्रम पनि हुने गरेका छन् ।

गत २ असोजमा मात्रै बालुवाटारभित्र एउटा पुस्तक विमोचन कार्यक्रम भएको थियो । पछिल्लोपटक प्रधानमन्त्रीले नवगठित मिडिया अलायन्सका पदाधिकारीहरुलाई सामूहिक भेटेका थिए ।

आफ्नो स्वास्थ्य अवस्था र पछिल्लो समयमा कोरोना संक्रमणको जोखिमले गर्दा प्रधानमन्त्री ओली हम्मेसी बाहिर निस्किँदैनन् । बेलाबखत राष्ट्रपति कार्यालय जानेबाहेक उनले सबै काम बालुवाटारभित्रैबाट गरिरहेका छन् ।

बालदिवस, सामाजिक सेवा दिवस, मानवअधिकार दिवस लगायतलाई उनले निवासबाटै भर्चुअल सम्वोधन गरेका थिए ।

सुखद पक्ष के छ भने, प्रधानमन्त्री बस्ने निवासमा ड्यूटी गर्ने सुरक्षाकर्मीलाई कोरोना देखिएको छैन । प्रमको पहिलो सुरक्षा घेरामा रहेकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको नेपाली सेनाका सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रायः प्रधानमन्त्रीका साथमा रहने निकट सहयोगी राजेश बज्राचार्यमा पनि संक्रमण देखिएको छैन ।

सुरक्षा सेट परिवर्तन

प्रधानमन्त्रीनिवासको समग्र सुरक्षा कमाण्ड नेपाली सेनाले गर्छ । त्यहाँ नेपाली सेनाको १७५, सशस्त्र प्रहरीका २८, नेपाल प्रहरीका ८२ र राष्ट्रिय अनुसन्धान विभागका १० जना गरी २९५ जनाको नियमित दरबन्दी छ  । तर, अहिले डीएसपीको कमाण्डमा नेपाल प्रहरीका १०० जना र सशस्त्रका ४५ जना खटिएका छन् ।

बालुवाटारभित्र सुरक्षाकर्मीलाई व्यापक संक्रमण देखिएपछि सुरक्षाकर्मीको सेट नै परिवर्तन गरिएको सहायक रथि पौडेलले जानकारी दिए ।

‘हामीले त्यहाँ खटिएका सबै सैनिकलाई फिर्ता गरेर नयाँ समूह पठाएका छौं,’ उनले भने, ‘ब्याकअपका लागि सुरक्षित तरिकाले क्वारेन्टाइनमा राखिएकाहरुलाई अहिले बालुटावारको जिम्मेवारी दिइएको छ ।’

असोजको दोस्रो साता बालुवाटारका केही सुरक्षाकर्मीहरुलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि बालुवाटारभित्र बस्ने सबैको सामूहिक पीसीआर गरियो । गत बिहीबार र शुक्रबार गरिएको सामूहिक परीक्षणमा ६७ जना सुरक्षाकर्मी संक्रमित देखिए । संक्रमितहरुमध्ये सेनाका २८, सशस्त्र प्रहरीका १८, नेपाल प्रहरीका १९ र अनुसन्धान विभागका दुईजना छन् । उनीहरु सबै अहिले आइसोलेसनमा बसिरहेका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

कस्तो छ सुरक्षा सतर्कता ?

नेपालमा कोरोना प्रवेश भएसँगै बालुवाटारभित्र सुरक्षा सतर्कता अपनाइएको थियो । गेटबाट छिर्नासाथ सेनिटाइजर प्रयोग गर्ने, ज्वरो नाप्ने गरिएको छ । शरीरको तापक्रम सामान्यभन्दा बढी भएको अवस्थामा प्रवेश दिइँदैन । हात मिलाउन र अंकमाल गर्न निषेध छ ।

प्रधानमन्त्री ओलीसँग भेट गर्नेहरुका लागि मास्कसँगै ‘सुज कभर’ पनि अनिवार्य गरिएको छ । प्रधानमन्त्रीले जोकसैसँग भेटवार्ता गर्दा पर्याप्त दुरी कायम गर्ने गरेको प्रमका सञ्चार विज्ञ रामशरण बजगाईं बताउँछन् ।

‘प्रधानमन्त्री स्वास्थ्यप्रति लापरवाह हुनुहुन्छ भन्ने चर्चा गलत हो,’ बजगाईंले भने, ‘संक्रमणबाट बच्नका लागि उहाँले हरेक प्रकारका सावधानी अपनाइरहनुभएको छ, मसिनो कुरामा पनि ध्यान दिनुहुन्छ । हावा कताबाट चलेको छ भन्ने पनि विचार गरेर कोठामा बस्नुहुन्छ ।’

प्रधानमन्त्रीसँग निकट सम्पर्कमा रहेकाहरुले पनि उच्च सतर्कता अपनाइरहेको बजगाईंको भनाइ छ । ‘उहाँको सवारी चालकले पनि मेसमा खाना खानुहुन्न, बाहिर जो पायो त्यहीसँग भेट्नुहुन्न,’ उनले सुनाए ।

सुरक्षा उपायहरु अपनाए पनि प्रधानमन्त्रीले बालुवाटारमा भेटघाट र बैठकहरु रोकेका छैनन् । कोरोना भित्रिएपछि पनि त्यहाँ जमघट भइरहेका छन् ।

सोमबार मन्त्रिपरिषद वैठक बालुवाटारमा बसेको थियो भने मंगलबार नेकपाको सचिवालय बैठक पनि बालुवाटारमै बसेको थियो ।

त्यसो त बालुवाटारभित्र प्रधानमन्त्रीको बस्ने भवन र सचिवालय भवन फरक छन् । प्रधानमन्त्रीको पुरानो आवास भत्काएर अहिले निर्माणाधीन अवस्थामा रहेकाले ओली अहिले एउटा कामचलाउ भवनमा बस्दै आएका छन्, जुन पहिले राष्ट्रिय सभा अध्यक्षको निवास थियो । उक्त भवनबाट सचिवालय भवन करिब ३ सय मिटर दुरीमा पर्छ ।

प्रधानमन्त्री विभिन्न भेटघाट र बैठकका लागि सचिवालय भवनमा आउने गर्छन् । त्यहाँ आउँदा कहिले गाडी प्रयोग गर्छन् भने कहिलेकाहीँ हिँडेर आउँछन् ।

सचिवालय भवनमा एउटा ठूलो हल छ, जहाँ विभिन्न औपचारिक कार्यक्रम हुने गर्छन् । अर्को सानो हल पनि छ । पहिले सानो हलमा मन्त्रिपरिषद र पार्टी सचिवालय वैठक बस्ने गथ्र्यो । तर, अहिले सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले ती दुवै बैठक ठूलो हलमा गर्ने गरिएको छ । यस हलमा प्रधानमन्त्रीले आउजाउ गर्ने छुट्टै ढोका छ ।

प्रधानमन्त्रीसँग भेट्न विभिन्न मन्त्री र नेताहरु बालुवाटार आउने गरेका छन् । बालुवाटारमा नियमित आउनेहरुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, नेकपा नेता सुभाष नेम्वाङलगायत हुन् । यस्तो द्वीपक्षीय भेटघाटमा पनि दुरी कायम गर्ने गरिएको छ ।

पछिल्लो समय भएका औपचारिक कार्यक्रममा पनि सुरक्षित तरिकाले बसाइँको व्यवस्थापन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा बताउँछन् ।

‘बालुवाटारभित्र सबै प्रोटोकलहरुको कडाइका साथ पालना गरिएको थियो,’ थापाले अनलाइनखबरसँग भने, ‘खोई कसरी कोरोना फैलियो, आश्चर्यमा छौं ।’

संक्रमण स्रोत अस्पष्ट

बालुवाटारमा कोरोना कसरी प्रवेश भयो र एकाएक फैलियो भन्ने प्रष्ट छैन । एक महिना अगाडि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका सवारी चालकलाई कोरोना संक्रमण देखिएको थियो । त्यसपछि भट्टराई ५ दिन होम आइसोलेसनमा बसे । छैठौं दिनमा पीसीआर गराउँदा नेगेटिभ आएपछि उनी कार्यालय आउन थालेका थिए ।

आइसोलेसनमा बसेका सचिवालयका ६ जनामध्ये कोहीमा पनि कोरोनाको लक्षण भने देखिएको छैन । प्रधानमन्त्री ओलीको ‘गाइडलाइन’ मुताबिक नियमित बेसारपानी सेवन गरिरहेको उनीहरु बताउँछन्

करिब १५ दिन अगाडि प्रधानमन्त्री कार्यालयका फोटोग्राफर राजन काप्mले बिरामी भए । रुघाखोकी र ज्वरोले ग्रस्त पारेपछि उनी गत ५ असोजदेखि कार्यालयमा अनुपस्थित भए । ८ असोजमा उनले पीसीआर गराउँदा गराउँदा पोजिटिभ रिपोर्ट आएको थियो ।

त्यसपश्चात केही सुरक्षाकर्मी पनि संक्रमित भएपछि बालुवाटारभित्रै गत बुधबार पहिलो पीसीआर शिविर राखिएको थियो । भोलिपल्ट बिहिबार त्यसको रिपोर्ट आउँदा बाक्लो संख्यामा सुरक्षाकर्मी संक्रमित देखिए । त्यसपछि शुक्रबार दोस्रो शिविर राखियो, जसमा सचिवालयका सदस्यसहित बाँकी सबैले स्वाब दिएका थिए ।

शुक्रबार गरिएको पीसीआर टेस्टको रिपोर्ट शनिबार आउँदा सचिवालयका ६ जनालाई कोरोना पोजिटिभ देखियो । बालुवाटारमा नियमित उपस्थिति हुने गरेका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सञ्चार विज्ञ रामशरण बजगाईं, फोटोग्राफर राजन काफ्ले र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण पुष्टि भएको हो ।

काम पर्दा मात्रै बालुवाटार आउने गरेका प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अली, आर्थिक सल्लाहकार लालशंकर घिमिरेलगायतको रिपोर्ट भने नेगेटिभ आएको छ ।

संक्रमित बनेका सचिवालयका सदस्यहरु चार दिनदेखि आ–आफ्नै घरमा आइसोलेट छन् । नियमित बालुवाटार धाउने सल्लाहकारहरु एकैपटक अनुपस्थित बनेपछि प्रधानमन्त्रीको सचिवालय सुनसानजस्तै बनेको छ ।

सल्लाहकारहरुबीच इन्टरनेट र फोनमा नियमित कुराकानी भइरहे पनि सचिवालयको भर्चुअल बैठक भने भएको छैन । आवश्यकता हेरेर भर्चुअल बैठक पनि बस्न सकिने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए ।

‘आवश्यक पर्दा हामी होम क्वारेन्टाइनमै बसेर पनि प्रधानमन्त्रीलाई सहयोग गर्न सक्छौं,’ उनले भने, ‘इन्टरनेटमार्फत सबैजना आपसी सम्पर्कमा नै छौं । प्रधानमन्त्री कार्यालयको नियमित कार्यसम्पादनमा समस्या आउँदैन ।’

आइसोलेसनमा बसेका सचिवालयका ६ जनामध्ये कोहीमा पनि कोरोनाको लक्षण भने देखिएको छैन । प्रधानमन्त्री ओलीको ‘गाइडलाइन’ मुताबिक नियमित बेसारपानी सेवन गरिरहेको उनीहरु बताउँछन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई र प्रेस सल्लाहकार थापाले आइसोलेसनमा बस्दाको अनुभव यसरी साटे

अध्ययनमै दिन बित्छ : राजन भट्टराई

मलाई कोरोनाको लक्षण केही पनि छैन । स्वास्थ्यका सबै मानकहरु सामान्य छन् । तैपनि उच्च सतर्कतासाथ ललितपुरमा रहेको घरमा आइसोलेट भएर बसिरहेको छु ।

म बेडरुममा बस्छु । कोठाबाट बाहिर निस्केको छैन । कोठाभित्रै घाम आउने भएकाले उज्यालो छ । त्यसैले धेरै सकस भएको छैन ।

परिवारले पाकेको खानेकुरा ल्याएर ढोकामा राखिदिन्छन् । मैले प्रयोग गर्ने भाँडा छुट्टै छन् । खाइसकेर बाथरुममा आफैंले भाँडा माझ्छु । त्यसलाई घाममा सुकाउँछु । अनि मात्र थन्क्याउँछु । मैले प्रयोग गर्ने शौचालय छुट्टै छ ।

अहिलेको फुर्सदलाई मूलतः अध्ययनमा सदुपयोग गरिरहेको छु । पढ्न मन लागेर पनि नभ्याएर पुस्तकहरु पढिरहेको छु । साथै, कोरोनाकै विषयमा पनि इन्टरनेटमार्फत विभिन्न सूचना र जानकारी लिँदैछु । अनलाइन न्यूजहरु पढ्ने त छँदैछ ।

वास्तवमा मलाई पोजिटिभ देखिएला भन्ने लागेको थिएन । एक  महिनाअगाडि मेरो ड्राइभरलाई कोरोना संक्रमण देखिएपछि म ४÷५ दिन आइसोलेसनमा बसेको थिएँ । त्यसपछि परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आयो ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पोजिटिभ देखिएपछि पनि मैले पीसीआर टेस्ट गरेको थिएँ, किनकि उहाँसँग मैले एउटा कोठाभित्र भेटवार्ता गरेको थिएँ । त्यसबेला पनि मेरो नेगेटिभ आयो । यसपालि पनि नेगेटिभ नै आउला भन्ने थियो, किनकि लक्षण केही थिएन ।

बिहीबार बालुवाटारका थुप्रै सुरक्षाकर्मीको पोजेटिभ रिजल्ट आएपछि शुक्रबार हामीले लाइन बसेर स्वाब दियौं । त्यसको रिपोर्ट शनिबार आयो ।

पोजिटिभ रिजल्ट आए पनि खासै डर भने लागेन । नेपालमा कोरोनाको ट्रेन्ड हेर्दा गम्भीर बिरामी र मृत्यूदर एकदमै न्यून छ । त्यसैले यसलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने थियो र छ । उच्च सावधानी त अपनाउनैपर्छ ।

अहिले साथीभाइको फोन अत्यधिक आइरहेको छ । मेरो स्वास्थ्यप्रति जिज्ञासा राख्नुहुन्छ । कतिपय संक्रमण भएर ठीक भएकाहरुले आफ्नो अनुभव सुनाउनुहुन्छ र विभिन्न सल्लाह–सुझाव दिनुहुन्छ ।

खानपिन सामान्य नै छ । तातोपानी अत्यधिक पिउने गरेको छु । कीर्तिपुर आयूर्वेद अस्पतालबाट केही इम्युनिटी पावर बढाउने केही आयूर्वेदिक औषधिहरु पनि ल्याइएको छ । त्यो मात्रा मिलाएर सेवन गर्छु । गुर्जो, तुलसीको पात मिसिएको पानी त नियमित नै खाइन्छ । बेलुका दूधमा बेसार, मरिच हालेर पिउने गरेको छु ।

कोठाभित्र पनि व्यस्त छु : सूर्य थापा

पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि म तीनकुनेस्थित आफ्नै फ्ल्याटमा आइसोलेट भएर बसिरहेको छु । कोरोनाका लक्षणहरु भने केही पनि छैनन् । र, पनि सतर्कता त अपनाउनैप¥यो ।

खाने, बस्ने सबै बेडरुममा नै हो । कोठाबाट बाहिर निस्केको छैन । परिवारमा श्रीमती र छोरा छन् । हामी बसेको घरकै अर्को फ्ल्याटमा भाइ बस्छ । हाम्रो फ्ल्याटको शौचालय म प्रयोग गर्छु भने श्रीमती र छोराले भाइको फ्ल्याटको शौचालय प्रयोग गरिरहेका छन् ।

खानपिनमा बढीभन्दा बढी ध्यान दिइरहेको छु । जडिबुटीको चिया पिउने गर्छु । प्युठानबाट एउटा साथीले मलाई कोरोना भएको थाहा पाएपछि एक पाथी अर्गानिक बेसार पठाइदिएको छ । बिहान–बेलुका बेसार–पानी पिउने गर्छु । अरुलाई पनि खान भनेको छु । कीर्तिपुरको आयुर्वेद केन्द्रबाट केही आयुर्वेदिक औषधिहरु पनि प्राप्त भएका छन् ।

श्रीमती र छोराको पीसीआर गर्न बाँकी छ । भरे भोलि होला । जनस्वास्थ्यबाट फोन गरेर मेरो अवस्थाबारे सबै जानकारी लिइएको छ । नगरपालिकाबाट पनि फोन आएको थियो । कन्ट्याक ट्रेसिङका लागि नामावली लिइएको छ ।

टेलिफोन, म्यासेन्जर, ह्वाट्सएप, भाइबरमा धेरैभन्दा धेरैले सम्पर्क गरिरहनुभएको छ । टेलिफोन आउने क्रम ननस्टप जस्तै छ । सबैलाई आफ्नो स्वास्थ्य सामान्य रहेको बताउँछु ।

खासै डर लागेको छैन । अलिअलि जिउ तातेको अनुभूति भयो भने थर्मामिटर लगाएर हेर्छु । रक्तचाप, स्वासप्रश्वासको पनि आफैंले टेस्ट गर्छु । सबै नर्मल नै छन् ।

शुक्रबार स्वाब दिएपछि शनिबार घरमै बसेको थिएँ । रिपोर्ट पोजेटिभ आउलाजस्तो लागेको थिएन । दुई बजेतिर रिपोर्ट आयो । कसरी पोजिटिभ आयो भन्ने लाग्यो । राजन भट्टराईजीलाई फोन गरेँ । मेरो त यस्तो आयो भन्दा उहाँले आफ्नो पनि पोजिटिभ आएको सुनाउनुभयो । त्यसपछि विष्णु रिमाल सरलाई फोन गर्दा पनि त्यही जवाफ आयो । पछि रामशरण बजगाईंजीको पनि पोजिटिभ देखियो ।

हाम्रोभन्दा अगाडि राजन काफ्लेजीको पोजिटिभ आएको थियो । सिंगै सचिवालय आइसोलेसनमा गइयो । तर, खुशीको कुरा, हामी कसैलाई पनि लक्षण देखिएको छैन ।

कोठाभित्र पनि व्यस्त नै छु म त । हिजो बिहानदेखि त झन् फुर्सद नै छैन । खासगरी ५ नम्बर प्रदेशको राजधानीसम्वन्धी विवादलाई लिएर अन्तरवार्ता दिने, लेख लेख्ने काम गरिहेको छु । समाचारहरु हेर्ने, पुस्तकहरु पढ्ने त छँदैछ ।

सकेसम्म सतर्कता त अपनाइएको थियो । कहाँबाट कसरी स¥यो स¥यो । तर, चाँडै संक्रमणमुक्त हुनेमा विश्वस्त छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment