Comments Add Comment
पुस्तक अंश :

इतिहासको पृष्ठ : त्रिभुवन–चन्द्र मिलेटरी अस्पताल

नेपाली इतिहास, संस्कृति एवं पुरातत्त्वका चिरपरिचित अध्येता डा गोविन्द टण्डनको इतिहासका थप पृष्ठहरू शीर्षकको पुस्तक साङ्ग्रिला बुक्सले भर्खरै बजारमा ल्याएको छ।

ऐतिहासिक एवं पुरातात्त्विक स्थल, लिच्छविकालिक समाज एवं इतिहासका विविध पक्ष, मठमन्दिर, गुठी व्यवस्था, धर्म, संस्कृति, साँस्कृतिक सम्पदा संरक्षण सम्वर्द्धन लगायत केही इतिहासपुरुषबारे यसमा चर्चा गरिएको छ।

पहिले प्रकाशित एवं अप्रकाशित गरी झण्डै ६७ वटा विभिन्न शीर्षकका लेखको सङ्ग्रह भएको यस पुस्तकमा मालीगाउँमा वि. सं. २०४९ मा पाइएको संवत् १०७ को जयवर्माको मूर्तिको विषयमा स्वदेशी विदेशी विद्वान्हरूको प्रचलित धारणाभन्दा फरक दृष्टिकोणले यस पुस्तकमा अध्ययन गरिएको छ।

उक्त पुस्तकको एक अंश इतिहासको पृष्ठ : त्रिभुवन–चन्द्र मिलेटरी अस्पताल  यहाँ प्रस्तुत गरिएको छ :  

सैनिकहरुको सुविधाको दृष्टिकोणले स्थापना गरिएको त्रिभुवन–चन्द्र मिलेटरी अस्पताल नेपालको पहिलो सैनिक अस्पताल हो । त्यसभन्दा अगाडि वि.सं. १९४७ मा वीर अस्पताल तथा वि.सं. १९६१ मा भादगाउँ अस्पताल खुलेको थियो ।

नेपालले पहिलो विश्वयुद्धमा बृटिश सरकारहरुलाई सहयोग गरेवापत प्राप्त रकमले त्रिभुवन–चन्द्र मिलेटरी अस्पतालको स्थापना गरिएको हो । यसैले यो अस्पताललाई ‘महासंमर स्मारक अस्पताल’ पनि भनिन्छ । यसको उद्घाटन वि.सं. १९८३ भाद्र २४ गते बिहीबारका दिन भएको थियो ।

डा. गोविन्‍द टण्डन

यसको उद्घाटन श्री ५ महाराजाधिराज त्रिभुवनबाट भएको थियो तथा श्री ३ चन्द्रको पनि उपस्थिति थियो । उद्घाटन समारोह भव्यसँग आयोजन गरिएको थियो । त्यो एक किमिसले सैनिकहरुको महादिनै थियो भने हुन्छ । निजामतीतर्फ आमन्त्रित हुनेहरुमा धर्माधिकारी तर्कराज पण्डित, गुरुराज हेमराज पण्डित, बडाकाजी मरिचमानसिंह तथा मिरसुब्बा अष्टमानसिंहमात्रै जम्मा चार जवानलाई आफूखुशी लुगा तथा टोपी लगाइ समारोहमा सामेल हुने उर्दी थियो । उद्घाटन समारोहको सानो झलक यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ ।

सैनिक जवानहरु अस्पतालको पूर्वतर्फ टुँडिखेलमा जम्मा भएका थिए । श्री ५ बडामहारानीलगायत श्री ३ बडामहारानीहरुको लागि महाकालस्थानमा बस्ने व्यवस्था गरिएको थियो । श्री ५ महाराजाधिराज तथा श्री ३ महाराजको लागि अस्पतालभित्र माथि उक्लने बरण्डामा बस्ने व्यवस्था मिलाइएको थियो ।

बृटिश दूतको पनि त्यस वेला उपस्थिति थियो । साथै उद्घाटन कार्यक्रममा कम्याण्डर–इन–चिफ, पकज, पुकज, दकज, उकज, जनरल बहादुरशमशेर, लेफ्टिनेन्ट जनरल अग्निशमशेर, लेफ्टिनेन्ट जनरल सिंहशमशेर तथा अरु जनरलहरु उपस्थित थिए ।

सो बरण्डाको दायाँतर्फको डायसमा रोलवाला लेफ्टिनेन्ट कर्णेलसम्म बसेका थिए भने बायाँतर्फ मेजर शेरशमशेर, मेजर खम्बशमशेर, मेजर हिरण्यशमशेर, बडागुरुज्यू, माहिला गुरुज्यू, मिष्टर बुफोर्ड र उनको साथ आएका कप्तान थिए । अरु दुई मेमहरुको लागि पनि त्यही बस्ने व्यवस्था गरिएको थियो ।

दायाँ–बायाँ चोसेमुनि अन्य सैनिक अफिसरहरु खडा थिए । दक्षिणतर्फ पटाङ्गिनीको पालमा कर्णेलहरु थिए भने उत्तरतर्फको पालमा बाबुसाहेवहरु थिए । त्यस वेला वसन्तपुर चौतरियाका भाइहरु तीन जना, सल्यानी राजा, बृगेडियर कर्णेल दलबहादुर, सुब्बा भरतमणि, सर्दार नारायणभक्त, मि.सु. राममणि, सुब्बा तीर्थराज, नासु कालिचरण, हरमणि, केदारमणि, अरु डाक्टर र माष्टर गरी चार जना उपस्थित थिए ।

धीरशमशेरको शालिकको सिक्रीभित्र निजामती अफिसर, लिगेशनका कर्मचारीहरु थिए । हजुरिया गारदहरु मुर्दाघरनिरको चौरमा रह्यो भने दक्षिणतर्फ पालदेखि पछाडि रैफल ब्याण्ड रह्यो । ढोकामा दायाँ–बायाँको पर्खाल जोडिएर निसानहरु रहेको थियो । ढोकादेखि भित्रको सडकको दायाँ–बायाँ पाँच–छ कदमको दूरीमा भाला लिएका जङ्गी पोशाक लाएका सेन्ट्रीहरु लहरै उभिएका थिए ।

उद्घाटन कार्यक्रम हेर्न आउने सर्वसाधारण दर्शकहरुमा घच्चाघच्ची नहोस् भन्ना खातिर आवश्यक प्रहरी खटाउने काम जनरल बबरशमशेरलाई सुम्पिएको थियो । प्रहरीबाट नपुगेमा जङ्गीबाट खटाउने बन्दोबस्त भएको थियो । मञ्च तथा कार्यक्रमस्थलको सजावटको जिम्मा ले.क. रुद्रबहादुर कुँवरलाई दिइएको थियो ।

अस्पतालको अगाडि र दक्षिणतर्फ कौसी–कौसीमा, पूर्वपट्टिको सडकदेखि वीर अस्पतालको पर्खालसम्म दायाँ–बायाँ बाँस गाडी तोरण, झण्डा राखी सजधजसाथ सिँगारिएको थियो । अस्पताल क्याम्पको ढोकाभित्र सडकको दायाँ–बायाँ बृजलोडर तोप –२ मेसिनगन –२ राखी सजाइएको थियो ।

अस्पतालको कौसी, झ्याल तथा पर्खालहरुमा सिंहदरबारबिजुलीअड्डाबाट बालगिरिमा ल्याइएको चिमहरु बिजुलीअड्डाका कालिगढहरु खटी बालेका थिए । अस्पतालको उद्घाटन सुनको ताल्चा खोली गरिने भएकोले ताल्चा, साँचो र अन्त्रापलाई सुनको जलप लगाउने कामको जिम्मा कर्णेल भूपालशमशेर ज.ब.रा. लाई दिइएको थियो ।

त्रिभुवन–चन्द्र मिलेटरी अस्पतालको वास्तुकार कम्याण्डर कर्णेल किशोरनरसिंह राणा थिए । उद्घाटन कार्यक्रमको बेला उनैले अस्पताल निर्माणसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए । अस्पतालको उद्घाटन श्री ५ त्रिभुवनबाट भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री श्री ३ चन्द्रले लामो भाषणै जाहेर गरेका थिए ।

भाषणमा उनले अङ्ग्रेज सरकारसँगको सम्बन्ध, नेपालले पुर्‍याएको सहयोग, पहिलो विश्वयुद्धमा देखाएको वीरता र प्रशंसा गर्न चुकेका छ्रैनन् । भाषणमा एक ठाउँमा भनेका छन्– ‘आफ्ना प्रजाको भलाइ र आफ्नो मुलुकको उन्नतिका निमित्त गर्नुपर्ने सबै काम– कुरामा अवस्था हेरी सकेसम्म पूरा गराउने हिसाबबाट मैले कामकाज गरेको छु ।

फलानाले प्रजाको असल गर्नामा र मुलुकको उन्नति बढाउनामा समेत भरमग्दुर गरेका रहेछन् भन्ने कुरामा पछि– पछिकाले पनि गुन मानी दिए भने मैले गरेको राजकाजमा सबैभन्दा ठूलो गौरव र सन्तोषको कुरा त्यही हुन जानेछ’ । त्यही समारोहमा उनले क्षयरोगका बिरामीहरुका लागि ‘स्वास्थ्यगृह’ (Santorioum) स्थापना गर्ने उद्देश्यले सात लाख छुट्टयाएको घोषणा गरे ।

आफ्नो भाषणको अन्तमा उनले श्री ५ महाराजाधिराजलाई अस्पतालको उद्घाटन गरिबक्सन जाहेर गरेका थिए । उनले त्यस वेला जे भाषणमा बोले त्यसलाई हेर्दा राजकाज गर्ने सर्वेसर्वा व्यक्ति नै आफैलाई देखाएका छन् । राजा नाममात्रका हुन, खोपाका देवतासरह हुन भन्ने जस्तो देखाउन कुनै कसर छोडेका छैनन् ।

कार्यक्रमको समाप्तिपछि जङ्गीतर्फ भोलिपल्ट शुक्रबार र पर्सिपल्ट शनिबार गरी दुई दिन तथा निजामतितर्फ भोलिपल्ट शुक्रबार एक दिन बिदाको घोषणा गरियो । त्यस्तै चारभञ्ज्याङभित्र तीन रात दुई दिन अर्थात् साठी घण्टा जुवा फुक्यो ।

अस्पतालनिर्माणमा प्रशंसनीय कार्य गरेवापत चिफ इञ्जिनियर किशोरनरसिंह राणालाई निजको साविक खान्गी रु ९४००।– मा थप रु ६००।– गरी वार्षिक रु १०, ०००।– सहित कम्याडिङ कर्णेल र रु २०००।– बकस दिई उनलाई दर्शन गराइयो ।

निर्माणकार्यमा संलग्न देहायका व्यक्तिहरुलाई मो. रु. १५००।– बकस दिइएको थियो–

१. कप. पहलमान कटुवाल छेत्रीके २०० ।
२. हाकिं चन्द्रविक्रम सिजापतिके ९५० ।
३. कोते शेरबहादुर षड्काके ७५ ।
४. नासु आसाराम श्रेष्ठके ५० ।
५. भडारे लक्ष्मीप्रसाद पाध्याके २० ।
६. नौसिँदा पृथीबाहादुरके १२ ।
७. ज्मादार गणेश बहादुरके १५ ।
८. सुर्जे ४।३ नं ह. भिम बहादुरके १५ ।
९. गणेश १।३ सि. जनक पाध्याके १० ।
१०. सुर्य्ये ८।५९ सि. धनराज अधिकारीके १२ ।
११. प प्र २।३१ सि. जुद्धबहादुरके १२ ।
१२. ध्यास्कामीती (?) ८।२ नं नं अ. लालबहादुरके १० ।
१३. ऐ. ८।१३ प्रतीम कार्कीके १० ।
१४. ऐ ८।१० सी रमन वाहादुरके १० ।
१५. ऐं ८।१४ सी गोपाल मगरके १० ।
१६. सीकर्मी नाईके रत्नमानके ८० ।
१७. दकर्मी नाईके वुद्धीमानके ७५ ।
१८. वज्रकर्मी नाईके सीधीलालके २५ ।
१९. चीत्रकारी हर्ष वहादुरके २० ।
२०. लोहकर्मी नाइके वीरमांसीके २५ ।
२१. ज्यामी नाइके हर्षबहादुर ज्यापुके १० ।
२२. दकर्मी नाईके कुलवहादुरके ३० ।
२३. सीकर्मी दकर्मी लाई बदनामके २७ ।
२४. दकर्मी नाइके जुजुमान के ८० ।
२५. प्रा (प्रा?) पस कुलवहादुर के ६० ।
२६. वज्रकर्मी नाईके कासीवाक २५ ।
२७.  फष्टमीस्त्री आसामदुक के १२५ ।
२८. प. हरिलालके २० ।
२९. डकर्मी नाईके कृष्णवहादुरको १० ।
३०. पानी अडाके २५ ।
३१. वीजुली अडाके २५ ।
३२. सेद्घरमा झ्याल ढोका वनाउने सीकर्मी के २५ ।
३३. पै जं ज्या अ‍ैमान सीं लामाके १५ ।
३४. डोजं ज्मा सेते लामाके १२ ।
३५. पैजंह लालवीर लामाके १० ।
३६. जाचकी कारींदा मोली लालके १० ।

श्री ३ महाराजबाट गरिबक्सेको भाषण

सरकार,
आजको यस उत्सवमा तकलिफ उठाइ सवारी भएकोमा दिलैदेखिको स्वागत, सत्कार जाहेर गरी यो हस्पताल खोल्ने निगाहा राखी बक्सेकोमा आदरपूर्वकको धन्यवाद पनि चढाउँछु । हस्पतालका बारेमा सबैजसो कुरा भर्खर रिपोर्टबाट सुनी सकिएको हुनाले यस बारेमा अरु धेरै भन्नु पर्ने केही छैन । अब सरकारको इजाजत लिई खाली दुई–चार कुरामात्र अहिले बोल्न चाहन्छु । मिष्टर विलकिन्सर सज्जन हो !

आफ्नु देशको महिमा बढाउनालाई ज्यान दिने वीरहरुको सम्मान गर्न र आफ्ना फौजी संगी–साथीहरुको दुःख–दर्द हटाउने कामको उठानलाई समेत सफल गराउन भनी हामीहरु आज याहाँ जम्मा भै रहेका छौ । मैले गर्नु पर्ने अनेक किसिंका कामहरुमा यस्तो काम गर्न पाउँदा मलाई साह्रै नै खुसी र सन्तोष पनि लाग्छ ।

न्याय र हकलाई कायेम राख्न र सये वर्षभन्दा अघि देखिको ब्रिटिस सर्कारसँगको सचा सुदृढ दोस्ताना स्पष्ट देखाउनालाई समेत हाम्रो यो सानो मुलुकबाट आफ्ना मनोमान खुसीराजीले लड्न भनी गएका वीरहरुलाई नबिर्सीने गरी बनेको स्मारकमा सरिक हुन पाउनु यो मलाई साँचिकै खुसी लाग्ने कुरा हुन आइरहेछ ।

लडाइँमा पीठ् नफर्काई वीरहरुको आत्मा परआत्मामा लीन भई तिनीहरु मोक्ष हुन्छन् भन्ने कुरा हाम्रो धर्म र हाम्रा शास्त्रमा लेखिएको हुनाले त्यो महासमरका सबै मैदानमा असल विचारलाई खुसी र बाहादुरीसाथ लडी वीरगतिमा पुगेका ती लडाका जवानहरुलाई सम्झेर हामीले दुःख मनाउ गर्ने प्रयोजन केही छैन ।

सज्जन हो ! ती वीरहरुले बहादुरीसाथ लडी उसै ठाउमा प्राणस्मेत दिएर आफ्नु कीर्तीको खम्बा खडा गरी गएका हुनाले तिनका निमित्त अरु स्मारकको दरकार थियो । जस्तो ठूलो विचार मनमा लिई तिनीहरुले उत्साहसाथ प्राण दिएथ्ये उस्तै विचार मनमा लीई हरदम तिनीहरुको मनैले सम्मान गर्न सके साह्रै असल कुरा हुने थियो तर आजकालका समयमा मानिसले आफ्नै जीउपाल्नालाई अनेक तरहका झनझटमा अलमलिनु पर्दा ती सब कुरालाई आजभन्दा भोलि भोलिभन्दा परसी बिर्सदै जाने सम्भव हुन्छ ।

तस्तो हुँदा ती वीरहरुले आफ्नु प्राण दिई कायम गरेको असल कुरा पछि लोपै हुन जाला भन्ने देखिनाले ती सबै कुरा सधैँ नजरका सामुन्ने रही सबैलाई सम्झाइ रहने होस् भनी यौटा असल स्मारक खडा गर्ने तजबिज भएको हो ।

यहाँका बासिन्दा देखी परदेशीहरुले र यस शहरमा आउने जानेस्मेत सबैले पछिसम्म पनि यस घरमाथी राखिएको गोरषाली सपुत वीरको शालिकलाई देखेर तिनका वीरतालाई सम्झी, मनै–मनले तिनको गुण गाऊन भन्ने अभिप्रायले यो धमार्थको आरोग्य भवन खडा गरिएको छ ।

श्रीपरमेश्वर पशुपतिका अनुग्रहले यो हस्पताल बनी तयार भैसकेको र अबलाई येसबाट सबैले राम्ररी फाइदा उठाउन सके भने मात्र हाम्रो यो बनाउनाको इच्छा पूरा सफल हुनेछ तर त्यो इच्छा पूर्ण हुनालाई खास गरेर अहिलेका र पछि हुने प्रबन्धकर्ता र ट्रष्टीहरुले आफू माथी विश्वास गरी सुम्पिएको धर्मकामको भारालाई राम्रो हिसाबसित पालना गरी दिए भन्ये मात्र हुन सक्ने हुनाले तिनीहरुले पनि आफ्नु कर्तव्येलाई नीच पारी बिर्सी दीने छैनन् भन्ने भरोसा लिएको छु ।

यो हस्पतालमा खटिएका डाक्टर र कर्मचारीहरुले पनि आफ्ना पैसाको इज्जतलाई राम्ररी सम्झेर परोपकारबाट हुने फलको पनि विचार राखी तनमन दियेर दुःखीको दुःख हटाउनामा कति कसर राषने छैनन भन्ने पनि आशा राषेको छु ।

अघि चीफ इन्जिनियेरले भनेबमोजीम रोगीलाई आराम र सुविस्ता दिलाउनालाई आजकाल भइरहेका नञा तरकीब र सामाग्रीहरुको स्मेत ईन्तीजाम पुर्‍याई हाम्रो यो सानु मुलुकमा हुन सकेसम्म गरी सजिएको हुनाले डाक्टर कर्मचारी र ट्रष्टीहरुका राम्रो उद्योग र बन्दोबस्तले येसलाई नमूनालायेकको हस्पताल गराउलान भने उमेद छ ।

यो हस्पतालको नक्सा तजबीज गर्ने र बनाउने कामको हेर विचार पुर्‍याउन खटिएका चीफ कर्णेल किशोरनर्सिं राणालाई मेरो धन्यवाद छ ।

आफ्ना प्रजाको भलाई र आफ्नु मुलुकको उन्नतीका निमित्त गर्नुपर्ने सबै काम कुरामा अवस्था हेरी सकेसम्म पूरा गराउने हिसाबबाट मैले कामकाज गरेको छु । फलानाले प्रजाको असल गर्नामा र मुलुकको उन्नती बढाउनामा स्मेत भरमौग्दुर गरेका रहेछन् भन्ने कुरामा पछि – पछिकाले पनि गुन मानी दिए भने मैले गरेको र राजकाजमा सबैभन्दा ठूलो गौरव र सन्तोषको कुरा तेही हुन जानेछ ।

सज्जन हो । यही मौकामा म अर्काे यौटा खुसीको कुरा पनि सुनाउन चाहान्छु । हाम्रो यो मुलुकमा कठोर क्षयरोगले गर्दा वर्षेनी धेरै प्रजाहरुको अकालमा नास भई रहेको हुनाले तेस्को बचाउ हुने बन्दोबस्त गर्नालाई अहिले सात लाख रुपैया पर सारी सो रुपैयाँबाट हालमा भइरहेका उन्नतीको सबै कुराले सकभर पूरा गराइ असल सानु कसीमबाट यौटा ‘स्वास्थ्य गृह’ (सानातोरीयम्) खडा गराउने तजबिज भएको छ ।

श्री पशुपतिनाथको निगाह रहन गयो भने अब चाँडै नै सो घर बनी हाम्रो मुलुकमा धर्मार्थ र परोपकारका निम्ति यसैगरी खडा रहेका अरु घरको सङ्ख्यामा यो पनि थपिन गई पुगीसरी नआउने र अरु बाहिरीया मुलुकमा गई औषधी गराउन नसक्ने गरिब प्रजाहरुका दिलको निरासा हट्न जाला भन्ने पनि उमेद राषेको छु ।

अब धेरै के भनु मैले बोलेका सबै कुरा राम्ररी चित्त लगाइ सुनी दिएकोमा सबै सज्जनहरुलाई मेरो हृदयेदेखिको धन्यवाद छ । जुन मूल कारणबाट मात्र सबैको सम्पूर्ण कल्याण हुन्छ, तिनलाई मनमा राषी यो नयाँ बनेको आरोग्य भवनमाथि पूरा अनुग्रह रहोस् भन्ने र राम्ररी यसको उन्नति बढदै पछि कालान्तरसम्म पनि यसबाट सबैको भलाइ हुँदै गई सबैको कृपादृष्टि पाई यो निरन्तर चलिरहोस् भन्ये स्मेत् यस राज्यका सर्वशक्तिमान रक्षक श्रीपशुपतिनाथका पाउमा हामी सबैको सविनय प्रार्थना छ ।

सरकार !

आज यस सभामा विराजमान भई शोभा बढाइ बक्सेको हुनाले हामी सबैले स्नेह गरी पाल्ना गर्नु पर्ने यस अस्पतालमाथि सबैको उत्साह बढ्न गै यसको निरन्तर उन्नति हुँदै जानेछ भन्ने मलाई पूरा आशा लागि रहेछ, बितेका असल कुराको सम्झनाले र पछि पनि असलै हुनेछ भन्ने आस लिई भरीपुर भई रहेका चित्रबाट हाम्रा फौजी साथीभाइहरुको उपकार गर्नालाई खडा गरिएको आजको यो शुभकाम माथि सधैं सुदृष्टि परी रहोस् भनी ईश्वर पुकार गरी यो त्रिभुवन – चन्द्र मिलीटरी अस्पताल खोली बक्सियोस् भन्ने सर्कारमा प्रार्थना गर्दछु । जो हुकुम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment