Comments Add Comment

‘सेरो प्रिभिलेन्स टेस्ट’ गर्न सातै प्रदेशमा खटियो विज्ञको टोली

२३ असोज, काठमाडौं । कोभिड- १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको/नफैलिएको बारेमा गरिने भनेको सरकारी अध्यन बल्ल सुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा २ महिनाअघि एन्टिबडी परीक्षणका लागि ‘सेरो प्रिभिलेन्स टेस्ट’ गर्ने घोषणा गरेको थियो ।

सेरो प्रिभिलेन्स टेस्टको लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबारदेखि सातवटै प्रदेशमा खटाइएको ईडीसीडीले जनाएको छ ।

काठमाडौमा तालीमपश्चात टोलीलाई शुक्रबार प्रदेश खटाइएको हो । ईडीसीडीको निर्देशक डाक्टर वासुदेव पाण्डेका अनुसार गाइडलाइन बनाउने कार्य ढिलो भएकाले अध्यन ढिलो सुरु भएको हो । उनले भने, ‘यो अध्यनको प्राविधिक पाटोको कारणले ढिलो भयो, यसमा हामी मात्र नभएर हामीसँग सहकार्य गर्ने टोली पनि जिम्मेवार छ ।’

ईडीसीडीको अनुसार प्रत्येक प्रदेशका ३० वडामा रहेका मानिसको रगत नमुना परीक्षण गरिने छ भने एक वडामा १५ जनाको दरले नमुना परीक्षण गरिने छ । प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ । डाक्टर पाण्डेले भने, ‘दसैँ अगाडि नमुना संकलनको काम सकिन्छ ।’

नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने अध्यनले पत्ता लगाउने उनी बताउँछन् । उक्त टोलीले सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालिमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ । ‘एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छौ,’ पाण्डेले भने, ‘ती समूहले विभिन्न उमेर समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment