Comments Add Comment

समुदायमा कोरोना संक्रमण भए नभएको अध्ययन गर्ने तयारी

२९ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमा पुगे नपुगेको पत्ता लगाउन गर्न सेरोलजिकल टेष्ट गरिने भएको छ ।

यसका लागि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिइसकेको छ ।

पछिल्लो समय वीरगञ्ज र विराटनगरमा समुदायमा संक्रमण फैलिएको स्थानीय चिकित्सकहरुले बताएका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा भनेको छैन । डब्ल्यूएचओका अधिकारीहरुले भने समुदायमा ब्यापक रुपमा नभई क्लस्टर वा समूहमा संक्रमण देखिएको बताएको छ ।

सेरोलजिकल टेष्टले संक्रमण समुदाय स्तरमा पुगे नपुगेको पत्ता लगाउनेछ । ईडीसीडीका निर्देशक डा. बासुदेव पाण्डेकाअनुसार सेरोलोजिकल टेष्टमा कति मानिसलाई सहभागी गराउने भन्ने यकिन हुन बाँकी छ । तर दुई साता सातवटै प्रदेशका विभिन्न उमेर समूहका मानिसको ३–५ मिलिलिटर रगत संकलन गरिनेछ र राष्ट्रिय जनश्वास्थ्य प्रयोगशामा त्यसको परीक्षण गरिनेछ ।

परीक्षणमा कोरोना परीक्षण नगरेका तथा यसअघि परीक्षण गर्दा नेगेटिभ आएकाहरु सहभागी हुनेछन् । र, उनीहरुको शरीरमा इम्युनोग्लोबुलिन जी (आईजीजी) एन्टीबडी भए नभएको हेरिनेछ ।

ईडीसीडीका निर्देशक वासुदेव पाण्डेको अनुसार आरटी पीसीआर टेस्टले संक्रमणको अवस्था पत्ता लगाउन कठिन हुनुको साथै महंगो पनि हुन्छ । आरटी पीसीआर विधिले तत्कालिन अवस्थामा संक्रमण छ छैन भन्ने कुरा मात्र पत्ता लगाउछ ।

तर सेरोलजिकल टेस्टले यसअघि समुदायमा संक्रमण थियो कि थिएन भन्ने तथ्य समेत पत्ता लगाउँछ ।’समुदायमा संक्रमण थियो र थिएन भनेर अध्ययन गर्न लागेका हौं, जसको निष्कर्षले हामी संक्रमणको कुन चरणमा छौं भन्ने समेत पत्ता लाग्छ’ डा. पाण्डेले भने, ‘यो अध्ययनले स्वास्थ्य मन्त्रालयलाई रणनीति बनाउन पनि सहयोग पुग्नेछ ।’

स्वास्थ्यकर्मीको छुट्टै अध्ययन

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने स्वास्थ्यकर्मीहरुको सेरोलजिकल टेष्ट गर्ने तयारी गरेको छ । यसका लागि प्रोटोकल तयार गरेर मन्त्रालयसँग बजेट माग गरिएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्वास्थ्यकर्मीसँग परिवारका सदस्यलाई सहभागी गराइने यो अध्ययन ६ हप्ताको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment