Comments Add Comment

गुण्डा नाइके राधेलाई १० दिन हिरासतमा राख्न अनुमति

२३ असोज, काठमाडौं । गुण्डा नाइके राधे भण्डारीलाई १० हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

मुलुकी अपराध संहितामा भएको शान्ति सुरक्षा भंग गर्न खोजेको सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रशासनले अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय, धादिङले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा उनी पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय, धादिङको टोलीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय, गजुरीको क्षेत्राधिकारभित्र पर्ने ठाउँबाट जिल्लाले विना समन्वय उनलाई लगेको थियो ।

प्रहरी प्रधान कार्यालय, नक्साल स्रोतका अनुसार भण्डारीसँग मिलेमतो रहेको आशंकामा गजुरीका डीएसपी विश्वराम खड्कालाई ‘ओभरटेक’ गरिएको थियो । हालै उनलाई प्रहरी मुख्यालयले जिम्मेवारीबाट समेत हटाएको छ ।

डीएसपी तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिले त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको तिम्सिनाले अनलाइनखबरसँग बताए । त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए ।

यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए । त्यसअघि चरी समूहका आयुप तामाङको समेत उनले हात काटिदिएका थिए ।

चरीलाई गोली हानेको घटनामा उनी राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । चरी भने २१ साउन २०७१ मा भीमढुंगामा भएको प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment