Comments Add Comment

दसैंको मुखमा तरकारी छोइनसक्नु

दसैंको मुखमा मनलाग्दी भाऊ, लकडाउनमा उत्पादन घटेको दाबी 

२४ असोज, काठमाडौं । दसैं नजिकिएसँगै तरकारीको मूल्य उच्च दरमा बढ्न थालेको छ । गाजरबाहेक सबैजसो तरकारीको भाऊ बढेको छ । इस्कुसबाहेक प्रायः सबै तरकारीको मूल्य ‘थ्री डिजिट’ मा बढेको छ ।

कालिमाटी तरकारी बजारको थोक मूल्यलाई आधार मान्दा खुद्रा बजारमा प्रायः सबैजसो तरकारी प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरे बताउँछन् ।

यो वर्ष लकडाउनका कारण कृषकमा परेको मनोवैज्ञानिक त्रासको असर उत्पादनमा पनि परेको घिमिरेको तर्क छ ।

लकडाउनमा नेपाली तरकारीको उत्पादन नभएको र भारतबाट आएकाले महंगो भएको व्यवसायीहरुले तर्क गरे पनि चाडबाडका बेला मनोमानी भाऊ बढाइएको हुन सक्ने उपभोक्ताको गुनासो छ ।

अझै एक महिना तरकारीको मूल्य घट्ने अवस्था नरहेको बताउँदै घिमिरे भन्छन् ‘दशैंअघि मूल्य घट्ने अवस्था छैन, अब विस्तारै उपत्याकाका टनेलका उत्पादन आउन थाल्छन्, तराईबाट पनि उत्पादन आउन थाल्छ, त्यसपछि मात्रै तरकारी सस्तो हुन्छ ।’

इस्कुसबाहेक सबैजसो तरकारी महंगो

कालिमाटीको थोक बजारमा शनिबार गोलभेडाको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा माथि पुगेको छ । एक हप्तायता गोलभेडाको मूल्य प्रतिकिलो ७ देखि १५ प्रतिशतले बढेको हो । केही हप्ताअघिभन्दा गोलभेडा सस्तो भए पनि यो हप्तादेखि फेरि बढेको छ ।

यो वर्ष आलु पनि चरम महंगो भएको छ । अहिले भारत, भुटान र बंगलादेशबाट आलु आयात भइरहेको छ । रातो आलु थोकमै प्रतिकिलो १०० रुपैयाँ माथि पुगेको छ । भारतीय रातो आलुको मूल्य थोकमा ६५ रुपैयाँ हाराहारी पर्छ । मुडेको रातो आलु पनि थोकमै प्रतिकिलो ८५ रुपैयाँ बराबर पर्छ ।

बन्दाको मूल्य पनि थोकमा किलोको ७० रुपैयाँ भन्दा माथि छ । स्थानीय काउलीको थोक मूल्य किलोमा १२० रुपैयाँ भन्दा बढी छ ।

यो हप्ता लामो भन्टाको मूल्य पनि ह्वात्तै बढेको छ । करिब आधाभन्दा बढी मूल्य बढेर लाम्चो भन्टा थोकबजारमै किलोमा १५० रुपैयाँ नाघेको छ । तने बोडी पनि करिब १५ प्रतिशत महंगो भएर थोक बजारमै किलोमा १५५ रुपैयाँ पर्न थालेको छ ।

लोकल घिउसिमी एकहप्ताअघि थोक बजारमा ७० रुपैयाँमा बिक्री भइरहेको थियो, अहिले बढेर १०० को हाराहारी पुगेको छ । हाइबि्रड घिउसिमी पनि ८० रुपैयाँबाट ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ । भटमास कोसाको प्रतिकिलो ६० रुपैयाँ हाराहारीमा थोक मूल्य छ । एकहप्ताअघि ७० रुपैयाँमा पाइने तितेकरेला थोक बजारमै प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ ।

लौकाको मूल्य एक हप्तामा २० प्रतिशत बढेको छ । एक हप्ताअघि थोकमा ६० रुपैयाँमा पाइने लौकाको मूल्य ७५ रुपैयाँ पर्छ । खुद्रामा पुग्दा प्रतिकिलो एक सय रुपैयाँ नाघेको छ ।

परबरको मूल्य पनि थोकमै १०५ रुपैयाँ पुगेको छ । घिरौंला थोकबजारमै प्रतिकिलो ११५ रुपैयाँ भन्दामाथि छ । एक हप्ताअघिसम्म घिरांैला ८५ रुपैयाँमा पाइन्थ्यो ।

झिँगुनीको मूल्य पनि ८० रुपैयाँभन्दा माथि छ । एक हप्ताअघि ९८ रुपैयाँ प्रतिकिलोमा पाइने भिन्डीलाई अहिले थोकमै ११५ रुपैयाँ तिर्नुपर्छ ।

रायो, पालुंगो र चम्सुरको साग थोक बजारमा प्रतिकिलो १०० रुपैयाँ पर्छ । तोरीको सागको मूल्य पनि बढेर ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

डल्ले र कन्य च्याऊ १५ देखि २० प्रतिशत महंगो भएको छ । एक हप्ताअघि थोकमा १४५ रुपैयाँमा कारोबार भएको कन्य च्याउ अहिले प्रतिकिलो १८५ रुपैयाँ भएको छ । डल्ले च्याउ ३५५ बाट ४१० रुपैयाँ पुगेको छ ।

निगुरो र गान्टे मुला थोकबजारमै किलोमा ९५ रुपैयाँ पर्न थालेको छ । पिँडालु प्रतिकिलो ६० रुपैयाँ पर्छ । पाकेको फर्सी भने ३८ रुपैयाँ प्रतिकिलोमा किन्न पाइन्छ ।  सेतो मुलाको थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ हाराहारी छ ।

कागती प्रतिकिलो १३५ बाट बढेर १५५ रुपैयाँमा पुगेको  छ । भेडे खुर्सानी किलोको १५५ रुपैयाँ पर्छ । हरियो लसुनको मूल्य प्रतिकिलो २४५ रुपैयाँ छ । हरियो प्याजको मूल्य प्रतिकिलो १४५ रुपैयाँ छ । भारतीय सुकेको प्याजको थोक मूल्य किलोमा ११० रुपैयाँभन्दा माथि छ । हरियो धनियाँ एक हप्ताअघि ४२५ रुपैयाँ थियो, अहिले बढेर प्रतिकिलो ४५५ रुपैयाँ पुगेको छ ।

अहिले स्कुस अरुभन्दा सस्तो  छ । स्कुसको थोक मूल्य प्रतिकिलो २८ रुपैयाँ छ । तर, यो मूल्य पनि एक हप्ताको बीचमा ५६ प्रतिशतले बढेको हो । एक हप्ताअघि स्कुस १८ रुपैयाँमै किन्न पाइन्थ्यो ।

यो हप्ता गाजरको मूल्य भने अत्यधिक घटेको छ । एक हप्ताअघि ११५ रुपैयाँ प्रतिकिलो रहेको गाजर अहिले किलोमा ६० रुपैयाँमा झरेको छ ।

खुद्रामा मनलाग्दी भाउ

थोक बजारमै तरकारी छोइनसक्नु भएपछि खुद्रा बजारमा झण्डै यसको आधाभन्दा बढी मूल्य जोडेर बेचिँदैछ । थोकमा ६० रुपैयाँमा किनिएको गोलभेडा खुद्रामा १०० रुपैयाँ माथि मूल्य राखेर बेचिँदैछ ।

तरकारीमा उच्च नाफाखोरी भइरहँदा पनि सरकारले प्रभावकारी बजार अनुगमन गर्न सकेको छैन । कृषकबाट बजारसम्म आउँदा दोब्बर बढेको तरकारीको मूल्य उपभोक्ताको भान्छासम्म पुग्दा तेब्बरसम्म बढ्ने गरेको छ ।

विभिन्न तहका बिचौलियाले तरकारीको मूल्य आफ्नो नाफा अनुकुल हुने गरी बढाउने गरेका छन् । बजारमा जति मूल्य परे पनि चुपचाप किन्नुपर्ने उपभोक्ताको बाध्यताको फाइदा बिचौलिया र ब्यापारीहरुले उठाउँदैछन् ।

बजारमा हुने आपूर्तिका आधारमा तरकारीको दर घटबढ हुने गरेको छ । तर, अहिले तरकारीको मूल्य किन बढ्यो भन्ने भरपर्दो कारण ब्यापारीहरुले पनि दिन सकेका छैनन् । अहिले आपूर्ति व्यवस्था सहज भएकाले ब्यापारीले उत्पादनको अभावलाई कारण देखाएका छन् ।

उत्पादन घटेको दाबी

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष घिमिरेको भनाइ मान्ने हो भने यो वर्ष नेपालमा तरकारी उत्पादन ३० देखि ४० प्रतिशत घटेको छ ।

लकडाउनका बेला (चैत, बैशाख र जेठ) मा लागतभन्दा कममा पनि नबिकेर तरकारी खाल्डोमा हाल्न बाध्य भएपछि कृषकले तरकारीको उत्पादनमा जोड नदिएको घिमिरेको भनाइ छ ।

‘यो सिजनका लागि प्रायः बेमौसमी तरकारी आउनुपथ्र्यो, त्यसका लागि कृषकले हाइबि्रड बीउबिजन पाउनुपथ्र्यो,’ घिमिरे भन्छन्, ‘जापानबाट आउने त्यस्ता बीउ यो वर्ष लकडाउनका कारण कृषकले पाउन सकेनन्, त्यसको असर पनि अहिले देखिएको छ ।’

उनका अनुसार उत्पादन बढाउन युरिया मल पनि तरकारीमा हाल्ने गरिएको तथ्य लुकेको छैन । तर, यो वर्ष मल पनि किसानले पर्याप्त पाएनन् ।

‘काउली, बन्दा, साग सिमी, भिण्डी, करेला, काँक्रो बरेला, साग, गोलभेडाजस्ता तरकारी अहिले किसानसँग पर्याप्त उत्पादन भएको छैन,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष घिमिरेले अनलाइनखबरसँग भने, ‘गोलभेडाको मूल्य उच्च भएपछि भारतबाटै आउन थालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment