Comments Add Comment

कोरोनाविरुद्ध तीनवटै सरकारको समन्वयमा काम भइरहेको छ : डा. खतिवडा

२५ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणविरुद्ध तीनवटै सरकारको समन्वयमा काम भइरहेको दाबी गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा बोल्दै डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताए । पूर्वमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको पनि बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री डा. नविन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्ने बताए । अहिले अर्थतन्त्रका केही सूचक राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के गर्यो भन्दै उनले प्रश्न गरे । ‘आम्दानी नै नहुने स्थिति छ, रोजगारी खोसिएको छ, अस्पताल गएर उपचार गराउनसक्ने अवस्था छैन, उहाँहरूका लागि सरकारले के ग¥यो ? यसबाट कसरी बाहिर निस्कने भनेर चिन्तन र रणनीति खोइ ? जोशीले भने ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक संकट गहिरिँदै गएको बताए । अर्थतन्त्र विरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोही अनुसार उपचार गर्न सरकारले सर्भे गर्नुपर्ने उनले सुझाव दिए ।

‘देशलाई अझै धनी बनाउनुपर्छ भनेर कोभिड–१९ ले देखायो । धनी देशहरू व्यवसाय र रोजगारी जोगाउन जति पनि खर्च गर्नसक्ने सामर्थमा पुगे,’ उनले भने, ‘हाम्रो देशको आर्थिक अवस्था पनि राम्रो भएको भए व्यवसाय र रोजगारी जोगाउन सकिन्थ्यो ।’

अहिलेको संकटको बेला ठूला व्यवसायीले नाफा नकमाउदा पनि खासै समस्या नपर्ने उल्लेख गर्दै उनले साना र मझौला उद्योगलाई जोगाउन सरकारले दिल खोलेर सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सिप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताए ।

समन्वय, सहकार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लाग्नुपर्ने उल्लेख गर्दै कँडेलले कोभिड–१९ ले प्राथमिकताका क्षेत्र परिवर्तन गरेको बताए ।

स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै उनले लकडाउन कारण प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत अन्य रोजगारीका कारण सञ्चालनमा ढिलाइ भएको बताए ।

साइप्रसका पूर्वअर्थमन्त्री डा. मिचेल सारिसले कोभिड–१९ संकटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताए । ‘अहिलेको अवस्थालाई राजनीतिज्ञको नेतृत्वबाट भन्दा चिकित्सा क्षेत्रबाट एकरुपता र पारदर्शी रुपमा काम गर्न सकेको बताए । जुन नेतृत्वले स्वास्थ्यको दृष्टिबाट अर्थनीति बनाएका छन् । तिनीहरुले व्यापारमा राम्रो गरेको देखिन्छ,’ उनले भने ।

एसियन इन्स्च्यिुट अफ टेक्नोलोजी, स्कुल अफ इन्भारोमेन्ट, रिसोर्स एन्ड डभलपमेन्टका प्रा.डा. शोभाकर ढकालले कोभिड–१९ का कारण दिगो विकास लक्ष्यमा अझ चुनौती थपिएको बताए । १७ वटा लक्ष्यमध्ये धेरैजसो पूरा भएको उनले बताए । उनका अनुसार  अनलाइन व्यापार, ई–बैंकिङ क्षेत्रमा अवसर बढ्दै गएको छ ।

कार्यक्रममा पूर्वराजदूत भीम उदास, महिला तथा बालबालिका मन्त्रालयका सचिव यमकुमारी खतिवडालगायतले कोभिड–१९ बाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम अगाडि चाल्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment