Comments Add Comment

नेतान्याहूको राजीनामा माग्दै इजरायलमा हजारौंको प्रदर्शन

Photo Credit : Reuters

२५ असोज, काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजीनामा माग गर्दै शनिबार हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् । नेतान्याहूमाथि अहिले भ्रष्टाचारको मुद्दा चलिरहेकाले उनी प्रधानमन्त्रीको कुर्सीमा अझै बसिरहन नमिल्ने भन्दै प्रदर्शनकारीहरुले उनको राजीनामा माग गरेका हुन् । त्यसका साथै नेतान्याहूमाथि कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पनि भ्रम फैलाएको आरोप छ । यसअघि पनि महामारीकै बीच नेतान्याहूको राजीनामा माग गर्दै इजरायलमा आवश्यक कोरोना सतर्कता अपनाउँदै प्रदर्शन गरेका थिए ।

शनिबार प्रदर्शनकारीहरुले इजरायलभर सयौं स्थानहरुमा प्रदर्शन गरेका थिए । मुलुकभर अहिले लगाइएको लकडाउनको कारण उनीहरुले प्रधानमन्त्रीको निवासअघि भने प्रदर्शन गर्न पाएका थिएनन् । अहिलेको नियम अनुसार मानिसहरु आफ्नो निवासबाट एक किलोमिटरभित्र मात्र जम्मा हुन पाउँछन् ।

शनिबार सबैभन्दा धेरै मानिसको भिड तेल अभिभमा रहेको हबिमा स्क्वायरमा देखिएको थियो । उक्त क्षेत्रमा हजारौं प्रदर्शनकारीहरु जम्मा भएर नेतान्याहूको विरुद्धमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले नेतान्याहूले आफूहरुको भविष्य ध्वस्त पार्न खोजेको बताएका थिए ।

प्रहरीले दिएको जानकारीअनुसार तेल अभिभ र जेरुसलेममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सो क्रममा चार जनालाई पक्राउ गरिएको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment