+
+
Shares

वडा कार्यालयले भन्यो : दसैँ मान्न असोज ३० भित्र घर आउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २६ गते १९:२१

२६ असोज, गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलको वडा कार्यालयले दसैँ मान्न असोज ३० गतेभित्र घर आइसक्नुपर्ने भनी सूचना जारी गरेपछि त्यसको आलोचना भएको छ ।

सर्वदलीय बैठकको निर्णय भन्दै वडा कार्यालयले दसैँ मान्न गाउँ आउनेहरु असोज ३० गते आई ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने सूचना जारी गरेको थियो । त्यस्तै विदेशबाट आउनेहरुको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने र ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भनी निर्णय गरेको थियो ।

वडाध्यक्ष नरबहादुर पाण्डेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त निर्णय गरिएको बताए । गाउँपालिका अध्यक्षलाई फोन गर्दा सम्पर्क नभएपछि समन्वय गर्न नपाएको उनको भनाइ छ ।

‘हाम्रो वडामा दुई जनालाई कोरोना पुष्टी भइसकेको छ, दशैका लागि अझै दुई/तीन सय मान्छे बाहिरबाट आउँदैछन्, गाउँमा कोरोना नफैलिओस् भनेर यो निर्णय गरेका हौ,’ उनले भने ।

गाउँपालिकाको आइसोलेसनमा चिकित्सक नभएको र वडामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने स्वास्थ्यकर्मी समेत नहुँदा समस्या भएको उनले बताए ।

गाउँपालिका अध्यक्ष भन्छन् – सच्याउँछौं

उक्त निर्णयको सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला गण्डकी गाउँपालिकाले पनि असन्तुष्टि जनाएको छ । गाउँपालिका अध्यक्ष होमबहादुर रानाले आफूहरुसँग समन्वय नगरी एकलौटी ढंगबाट वडाले निर्णय गरेको बताए ।

‘वडा नम्वर ४ को भालडाँडामा दुइ जनालाई कोरोना देखिएकाले त्यो क्षेत्रमा अलि सम्वेदनशील हुनुस् भनेर केही दिनअघि वडाध्यक्षलाई भनेको थिएँ,’ अध्यक्ष रानाले भने, ‘तर हिजो हामीसँग समन्वय नगरी आफूखुशी मनपरी निर्णय गर्नुभएछ ।’ उक्त निर्णयलाई विपद व्यवस्थापन समितिको बैठक बसेर सच्याइने उनले बताए ।

हेर्नुहोस् वडा कार्यालयको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?