Comments Add Comment

‘महामारीमा दशैं स्किम हाेइन, पीडितलाई राहत दिनुपर्छ भन्ने लाग्याे’

२६ असोज, काठमाडौं ।  आईएमई रेमिट नेपालले २० वर्ष अघि अर्थात् स्थापनाकालदेखि नै हरेक दशैं-तिहारको अवसरमा विशेष स्किम ल्याउने गरेको थियो । यो स्किमअनुसार आईएमई गर्नेहरुले महंगो राशीका पुरस्कारहरु पाउँथे । २० वर्षदेखि निरन्तर ल्याइरहेको स्किम आईएमईले यस वर्ष भने नल्याउने भएको छ ।

कोरोना महामारीको बेला भएकाले उपहार दिने स्किम नल्याउने निर्णय गरिएको आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिए । यसपाली उपहारको स्किम होइन्, खाडीमा मृत्यु भएका श्रमिकका आफन्तलाई राहत बाँडिने सीईओ पोखरेलले बताए ।

उनका अनुसार कोरोना भाइरस (कोभिड-१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यका साथ आइएमईले ‘भरोसा कोष’ को स्थापना गरेको छ ।

कोषमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड-१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरणसहित पानीपोखरी, काठमाडौंमा अवस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सक्ने उनले बताए ।

यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने सीईओ पोखरेलले बताए । खाडीमा यसरी मृत्यु भएका श्रमिकका आफन्तलाई दिने रकम भने तोकिएको छैन । सीईओ पोखरेलका अनुसार अहिले कोषमा १ करोड रुपैयाँ राखिएको छ । मृतकका आफन्तलाई कम्पनीकै निर्णयअनुसार राहत उपलब्ध गराइने उनले बताए ।

‘हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ, त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ’ उनले भने, ‘चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ, हामीले यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौं ।’
यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा आफूहरु विश्वस्त भएको सीईओ पोखरेलले सुनाए ।

कसरी पाउँछन त मृतकका आफन्तले राहत ?
पोखरेलका अनुसार खाडी मुलुक तथा मलेसियामा काम गर्नकै लागि गएका श्रमिकहरु कोभिडले निधन भएको छ भने उनीहरुका आफन्तले राहत पाउनेछन् ।

मृतकको परिचयसहित आवेदकको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट खुलाइएको आवेदन, मृतकको नाम, देश र पासपोर्ट/भिषाकपी, मृत्युवरण गर्ने व्यक्तिसँगको नाता (प्रमाण सहित), मृत्युवरण गर्ने व्यक्तिको पासपोर्ट साइजको फोटो एकप्रति साथै सम्बन्धित देशको नेपाली दुतावासबाट जारी गरिएको मृत्यु प्रमाण-पत्र सहित आवेदन दिनु पर्नेछ ।

यसका लागि आईएमईले छुट्टै कोष नै बनाएको छ भने जिम्बेवार व्यक्ति समेत तोकेको छ । उनका अनुसार कम्पनीमा कार्यरत राजु पौडेल वा बि्रजन श्रेष्ठलाई मृतकका आफन्तले सम्पर्क गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment