Comments Add Comment

दसैँमा उपत्यकाको नाका सिल गर्न संसदीय उपसमितिको सुझाव

२६ असोज, काठमाडौं । दसैँं–तिहारको समयमा उपत्यका प्रवेश गर्ने नाका बन्द गर्न सरकारलाई संसदीय उपसमितिले सुझाव दिएको छ ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना भाइरस (कोभिड–१९) को महामारी थप भयावह हुने चेतावनी दिएको हो ।

सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपसमितिले गरेको अध्ययन र अनुगमनको निष्कर्ष र सुझाव सुनाउँदै संयोजक जीवनराम श्रेष्ठले यस्तो बताएका हुन् ।

संयोजक श्रेष्ठले भने, ‘उपत्यका हटस्पट भएर देखा पर्यो । यसलाई नियन्त्रण गर्न अब उपत्यकाको संक्रमित बाहिर नजाउन् भन्नेमा ध्यान दिनुपर्यो । उपत्यकाबाट जाने कुराले बाहिर जिल्लामा समेत भयावह हुने अवस्था रहेका कारण दसैँ– तिहारको बीचमा उपत्यकाको बोर्डर सिल गर्नुपर्छ । भित्र आउने र बाहिर जाने कुरालाई बन्द गर्नुपर्छ भन्ने हाम्रो सुझाव रहेको छ ।’

गत भदौ ९ गते शिक्षा तथा स्वास्थ्य समितिको बैठकले श्रेष्ठको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिले उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा पुगेर कोरोना महामारी रोकथाममा सरकारले गरेको कामको अनुगमन गरी प्रतिवेदन तयार पारेको छ ।

उपत्यकाबाहिर हेलचेक्र्याईं 

संयोजक श्रेष्ठले उपत्यका बाहिर कोरोना महामारीबाट बच्न सतर्कता नअपनाइएको र अत्यधिक हेलचेक्र्याईं पाइएको बताए ।

‘उपत्यकाबाहिर कोभिडको प्रभाव नभएको जस्तो देखियो । कामकाज भइरहेकै छ । सरकारी कार्यालयमा भीड त्यत्तिकै लागेको छ । यो कदम गम्भीर विषय हो’ श्रेष्ठले भने, ‘१० प्रतिशत मान्छेले मात्रै मास्क प्रयोग गरेको देख्यौं ।’

संयोजक श्रेष्ठका अनुसार संघीय सरकारले लक्षण नदेखिएकाको पीसीआर परीक्षण नगर्ने भनेपछि प्रदेश र स्थानीय तहबीचमा असमझदारी देखा परेको बताए ।

‘स्थानीय तहले स्वाब संकलन गरेर पठाउने प्रदेशले प्रोटोकल बाहिर भयो भनेर टेष्ट नगरिदिने समस्या रहेको पाइयो’ श्रेष्ठले भने ।

संयोजक श्रेष्ठले कोरोना उपचार गरेबापत पाउने सुविधा तोकेर निजी अस्पताललाई प्रयोग गर्न पनि सुझाव दिएका छन् ।

लकडाउन राजनीतिक निर्णय हो : स्वास्थ्य मन्त्रालय

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले लकडाउन गर्ने विषय राजनीतिक निर्णय भएको बताएका छन् ।

आवतजावतमा कडाई गर्ने विषयमा छलफल भइरहेको भन्दै उनले त्यसबारे सरकारले निर्णय गर्नुपर्ने बताए । कोरोना रोकथामका लागि प्रत्येक जिल्लामा प्रदेशमार्फत पैसा पठाइएको तर, त्यसको सदुपयोग भएको आफूहरुले नपाएको पोखरेलले बताए ।

दलकै कार्यकर्ताबाट भिडभाड

सांसद विद्या भट्टराईले राजनीतिक दलहरुले कार्यकर्तालँई भिडभाड नगर्न निर्देश गर्नुपर्ने बताए । ‘कोरोना महामारीका बीचमा राजनीतिक गतिविधि भएका छन्, भिडभाड भएका छन् । दलहरुले आफ्ना कार्यकर्तालाई भिडभाड नगर्न निर्देशन दिने हो भने पनि कोरोनाको महामारी रोकथाममा योगदान गर्ने थियो’ उनले भनिन् ।

सांसद उमेश श्रेष्ठले सरकारले कोरोना महामारीको व्यवस्थापन सही ढंगले गर्न नसकेको टिप्पणी गरे । आफैँ कोराना संक्रमित भएर निको भइसकेका सांसल श्रेष्ठले भने, ‘काठमाडौंको व्यवस्थापन असाध्धै सुधार गर्नुपर्छ । मैले देखेको व्यवस्थापन चुस्त दुरुस्त बनाउन आवश्यक छ । कोभिड ठूलो समस्या भएका कारण यसमा ध्यान दिन प¥यो ।’

सांसद श्रेष्ठले दसैँं तिहारको १०–१५ दिन काठमाडौं ठप्पै पार्ने प्रस्ताव पनि गरेका छन् । ‘दसैँ तिहारको समयमा १०–१५ दिन ठप्पै बन्द नगरे काठमाडौंमा कोरोनाले थप महामारीको रुप लेला जस्तो लाग्छ’ सांसद श्रष्ठले भने ।

समिति सभापति जयपुरी घर्तीले सरकारको काम कारबाहीलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् । नागरिकले पनि सावधानी अपनाएर कोराना फैलिन नदिन ख्याल गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment