Comments Add Comment

शान्तिवार्ताकै बीच अफगानिस्तान–तालिबान युद्धले लियो ठूलो रुप

Photo Credit : EPA

२८ असोज, काठमाडौं । तालिबान र अफगानिस्तानबीच कतारमा वार्ता जारी रहे पनि अफगानिस्तानमा भने युद्ध रोकिएको छैन । अहिले अफगानिस्तानको हेलमण्ड प्रान्तमा सरकारी सेना र तालिबानी लडाकुको बीचमा युद्ध जारी छ । युद्धका कारण सो क्षेत्रबाट हजारौं मानिसहरु विस्थापित भएका छन् । बुधबार यो हिंस्रक संघर्षको तेस्रो दिन हो । अफगानी सैनिकहरु रणनीतिकरुपमा महत्वपूर्ण मानिएको लश्कर गाहलाई तालिबानको आक्रमणबाट बचाउने प्रयास गरिरहेका छन् ।

गत महिना अफगानिस्तानका सरकारी प्रतिनिधि र तालिबानका प्रतिनिधिको बीचमा कतारको राजधानी सहर दोहामा वार्ता सुरु भएको थियो । वार्ता सुरु भएपछि पहिलोपटक दुई पक्षको बीचमा युद्ध सुरु भएको हो । अफगानी सेनाले तालिबानको आक्रमणको प्रतिकार गरिरहेको छ भने अमेरिकी हवाई आक्रमणले उनीहरुलाई सहयोग गरिरहेको छ । यसअघि गत फेब्रुअरीमा भएको सम्झौता उल्लंघन गरेको भन्दै अमेरिकी जनरल स्कट मिलरले तालिबानको निन्दा गरेका थिए ।

हिंसाको कारण हेलमण्ड र छिमेकी कान्धारमा विद्युत् आपूर्ति ठप्प भएको छ । सोमबार तालिबानले एक पावर सब–स्टेसनमा आक्रमण गरेको थियो । धेरै टेलिकम्युनिकेसन सेवा पनि ठप्प भएको छ । यहाँ जारी हिंसाको कारण पाँच देखि ३५ हजारसम्म मानिसहरु अन्यत्र विस्थापित भएको बताइएको छ ।

अफगानिस्तान र तालिबानको युद्धले १८ वर्षदेखि जारी रहेको युद्धको अन्त्य हुने अपेक्षा गरिएको भए पनि तालिबानले भने एकतर्फीरुपमा आक्रमण गर्दै आएको छ । यस्तोमा युद्धविरामको सम्झौता भए पनि आगामी दिनमा तालिबानले युद्ध जारी राख्न सक्ने आशंका उत्पन्न भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment