+
+
Shares

चल्मलायो चारपाङ्ग्रे सवारीको बजार, नयाँभन्दा सेकेन्ड ह्यान्डमा आकर्षण

अघिल्ला दशैंको तुलनामा नगण्य ब्यापार

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७७ असोज २९ गते ११:४७

२८ असोज, काठमाडौं । लकडाउनपछि ठप्प भएको चारपांग्रे सवारी (कार, जीप, भ्यान) को बजार दशैं नजिकिएसँगै चल्मलाएको छ । तर, विगतका दशैंको छेउछाउ पनि खरिदविक्री नभएकाले व्यवसायी उत्साहित भने छैनन् ।

विगतमा दशैंअघि काठमाडौंको भकृटीमण्डपमा ‘नाडा अटो मेला’ लाग्थ्यो । त्यहाँ अर्बौं मूल्यमा सयौं गाडी बुकिङ हुन्थ्यो । व्यवसायीहरुका अनुसार वर्षभरिमा हुनेमध्ये करिब ४० देखि ५० प्रतिशत ब्यापार दशैंअघि नै हुन्थ्यो ।

दशैंमा अटो व्यवसायी र सम्वद्ध कम्पनीका कर्मचारीलाई एक मिनेट फुर्सद निकाल्न गाह्रो पथ्र्यो । ग्राहकलाई गाडी देखाउने, सुविधा र विशेषता बुझाउने, र बुकिङ गर्नेदेखि डेलिभरी दिनेसम्मका कामको चापमा हुन्थे उनीहरु । दशैंमा हुने ब्यापारकै भरमा वषर्ाको मौसममा ब्यापारमा आउने मन्दीको सोधभर्ना हुन्थ्यो ।

धनाढ्य वर्गमा दशैंमा नयाँ गाडी किन्ने र फेर्ने सोख नै हुन्छ । शहरका मध्यमवर्ग पनि पछिल्लो सयममा इन्ट्री र मिडियम लेभल तथा रेन्जका गाडी किन्न लालायित हुने गरेका छन् । तर, यो वर्ष महामारीका कारण धेरैको नयाँ गाडी किन्ने योजना पछाडि धकेलिन पुगेको छ ।

मूल्य कम पर्ने भएकाले दुईपाङ्ग्रे सवारीको व्यापारमा खासै फरक परेको छैन । तर, चारपाङ्ग्रे सवारीको व्यापारमा मन्दी छ । दशैंको समयमा भएको व्यापारलाई विगतसँग तुलना गर्दा कम्पनीहरु खुसी हुनसक्ने अवस्था छैन ।

दशैंको माहोल सुरु भएपछि गाडीका सो-रुमहरुमा केही ग्राहकहरु गाडी हेर्न र किन्न पुगिरहेका छन् । लकडाउन खुलेपछि सुस्त भएको ब्यापारलाई दशैंले थोरै उत्साह भने थपेको बताउँछन् नाडा अटोमोबाइल्स एसोसियन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाल ।

‘लकडाउन र त्यसपछिका निषेधाज्ञाले ब्यापारमा टिक्न नै नसकिने अवस्था ल्याएको थियो, तर, दशैंको समयमा गाडी किन्न केही ग्राहक सोरुममा देखिएपछि त्यसले ब्यापार टिकाउन सकिन्छ कि भन्ने आश जगाएको छ,’ उनले भने ।

नाडाका पूर्वअध्यक्ष तथा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अन्जन श्रेष्ठ दशैंको समयमा पनि निरासाजनक ब्यापार भएको बताउँछन् । उनको कम्पनी नेपालमा हुण्डाई गाडीको आधिकारिक विक्रेता हो ।

‘अघिल्लो हप्ता केही ब्यापार बढेको थियो, फेरि ब्यापारको गति सुस्ताउन थालिसक्यो,’ श्रेष्ठ भन्छन् । महामारीका कारण प्रभावित ग्राहकले नयाँ गाडी किन्ने वातावरण नै तयार नभएकाले बजारमा निरासा छाएको उनले बताए ।

सिप्रदी ट्रेडिङका मार्केटिङ म्यानेजर प्रशन्न पन्त विगतको दशैंको तुलनामा गर्दा ब्यापारको अवस्था नाजुक रहेको बताउँछन् । सिप्रदी टाटा मोटर्सको आधिकारिक विक्रेता हो ।

लकडाउनपछि पनि माथि उकासिन नसकेको बजारलाई दशैंले विस्तारै जगाउने आशा सिप्रदीको पनि छ । ‘दशैंले बजारलाई केही चलायमान गराउन सकेको छ, तुलनात्मक रुपमा विगतको भन्दा कम उत्साह भए पनि विस्तारै बजारले आफ्नो गति लिनेमा आशावादी छौं,’ पन्तले भने ।

दशैंमा चार पांग्रे सवारी किन्ने शहरीया मध्यम तथा उच्चवर्ग लकडाउनका कारण बढी प्रभावित भएको थियो । त्यसपछि पनि अधिकांश उद्योग, ब्यापार र सेवा माथि उठ्न सकेको छैन । आम्दानीमा नै प्रभाव परेपछि सवारी किन्नेहरु घट्नु स्वभाविक भएको गाडी विक्रेता कम्पनीको भनाइ छ ।

ग्राहकलाई आकषिर्त गर्न अधिकांश कार विक्रेता कम्पनीले विभिन्न अफरहरु ल्याएका छन् । दशैंमा किन्दा नगद छुट दिनेदेखि बम्पर उपहारसम्म दिने योजना पनि ग्राहकलाई तानेको छ ।

आधाभन्दा कम आयात

तथ्यांकमा हेर्दा पनि यो वर्ष गाडी आयात नराम्ररी प्रभावित भएको देखिन्छ । भन्सार विभागका अनुसार दशैंलाई लक्षित गरेर गत वर्ष भदौसम्म विभिन्न किसिमका ३१ सय १५ वटा चारपांग्रे सवारी आयात भएका थिए । यो वर्ष त्यो संख्या १३ सय ९ वटा मात्रै छ ।

प्रदशे ३ को चारपांग्रे सवारी दर्ता हुने साना ठूला यातायात कार्यालय एकान्तकुनाका अनुसार यो वर्षको दशैंअघि साना सवारीको दर्ता झण्डै आधाभन्दा बढी घटेको छ । कार्यालयका सूचना अधिकारी लेखनाथ खतिवडा दशैंअघि सवारी दर्ताको खासै चाप नरहेको बताउँछन् ।

‘विगतका दशैंअघिको तुलनामा प्रष्ट देखिने गरी सवारी दर्ता घटेको छ,’ उनले भने, ‘असोज महिनाको तुलानात्मक तथ्यांक असोज १ मा प्रकाशित गर्छौं ।’

व्यवसायीहरु भने गत वर्ष आयात भएकै गाडी पनि नबिकेको र बजारमा नयाँ सवारी किन्ने माहोल नभएको कारण आयात घटाउनुपरेको बताउँछन् ।

सेकेन्ड ह्यान्डको माग बढ्दो

नयाँ सवारीको माग र आपूर्ति प्रभावित भएपनि बजारमा (पुराना) सेकेन्ड ह्यान्ड गाडीको माग भने ह्वात्तै बढेको छ । माग बढे पनि त्यसअनुसार सेकेन्ड ह्यान्ड सवारीको आपूर्ति हुन नसकको व्यवसायीहरु बताउँछन् ।

लकडाउन खुलेदेखि नै सेकेन्ड ह्यान्ड सवारीको माग बढेको थियो । दशैंको छेकासम्म पनि माग बढ्ने क्रम जारी छ । सकेन्डह्यान्ड सवारी बिक्री गर्ने सिप्रदी एस्युअर्ड प्रालिका बिजनेस हेड ध्रुब रेग्मी माग भए पनि नयाँ सवारी कम बिकेकाले सेकेन्ड ह्यान्ड सवारी मागअुसार आपूर्ति हुन नकसकेको बताए ।

‘कुनै ग्राहकले नयाँ गाडी किन्नुभयो भने उहाँको गाडी सकेन्ड हयान्डमा जाने हो,’ उनले भने, ‘अहिले नयाँ गाडी कम बिक्दा सेकेन्ड ह्यान्ड गाडीको बिक्री चक्रमा आएको माग धान्न सकिने अवस्था छैन ।’

उनका अनुसार महामारीका बेला धेरैले आफ्नै सवारी हुनुपर्ने महसुस गरेका छन् । सार्वजनिक सवारीमा हिँड्दा संक्रमणको डर हुने भएकाले पुरानो भए पनि आफ्नै गाडी नै चढ्ने योजना बनाउनेहरु बढेका छन् ।

तर, धेरैलाई समस्या आम्दानीमै छ । त्यसमाथि बजारमा सिक्ने क्रममा पुरानै गाडी चलाउन चाहने नियिमत खालका ग्राहक पनि थपिन्छन् । यिनै कारणले सेकेन्ड ह्यान्ड गाडी खोज्न आउनेहरुको संख्या बढे पनि पर्याप्त विकल्प दिन नसकेको रेग्मीकाे भनाइ छ ।

‘सेकेन्ड ह्यान्ड गाडीको आपूर्ति प्रभावित भएपछि विगतको दशैंहरुजस्तो ठूलो संख्यामा बिक्री पनि छैन,’ उनले भने, ‘तर, माग भने नभएको हैन ।’

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?