+
+
Shares

१६ सय वर्षदेखि काठका खम्बाले थामिरहेको भेनिस सहर

हरेक स्थानीय व्यक्तिलाई थाहा छ कि इटालीको भेनिस सहर वास्तवमा उल्टो जंगल हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेनिस सहरका भवनहरु १६ सय ४ वर्ष पुराना काठका खम्बामा बनेका छन्, जसले सदियौँदेखि संरचनालाई थामिरहेका छन्।
  • भेनिसका काठका खम्बा समुद्र सतहभन्दा तल गाडिएका छन् र माटोको घर्षणले भवनलाई बलियो बनाउँछ।
  • काठ, माटो र पानीको संयोजनले काठलाई कुहिनबाट बचाउँछ र भेनिसका जगहरू अझै सुरक्षित छन्।

१६ सय ४ वर्ष पूरानो यो सहर लाखौँवटा साना ठूला काठका खम्बाको जगमा बनेको छ । ती थामलाई जमिनमा यस्तो प्रकारले गाडिएको छ कि त्यसको तिखो चुच्चो भाग भुइँतर्फ छ ।

लार्च, ओक, एल्डर, स्प्रूस, एल्म तथा सल्लोजस्ता रुखका काठबाट बनेका ती थामको लम्बाई एक मिटरदेखि लिएर साडे ३ मिटरसम्म रहेको छ । तिनै खम्बाले सदियौँदेखि चट्टानका महल तथा अग्ला घण्टाघरहरुलाई थामिरहेका छन् ।

भेनिस सहरको त्यो संरचना इन्जिनियरिंगको यस्तो अद्भुत उदाहरण हो, जसमा प्रकृति तथा भौतिक विज्ञानका शक्तिलाई उत्कृष्ट ढंगले उपयोग गरिएको छ।

अहिलेको जमानाका आधुनिक भवनहरुमा बलियो जगका लागि स्टिल तथा कंक्रिटको प्रयोग गरिन्छ । तर त्यहाँ चाहीँ सोही उल्टो जंगलले सदियौँदेखि भेनिस सहरलाई थामिरहेको छ । वर्तमानका आधुनिक जगहरु भेनिसमा जस्तो लामो समयसम्म टिक्न पनि असम्भव हुन्छ ।

स्विजरल्याण्डको इटिएच विश्वविद्यालयमा जियो मेकानिक्स र जियोसिस्६म इन्जिनियरिंग विषयका प्राध्यापक अलेक्जेन्डर प्यूज्रिन भन्छन्, ‘आजकलका कंक्रिट वा स्टिलका जगहरु करीब ५० वर्षसम्म टिक्ने ग्यारेन्टीका साथ बनाइएको हुन्छ । वास्तवमा ती जग त्यो समयभन्दा धेरै अवधिसम्म टिक्छन् नै तर जब हामीले घर वा औद्योगिक पूर्वाधारहरु बनाउँछौँ, त्यसमा मानक आयू भनेको ५० वर्ष नै हुन्छ ।’

भेनिसका काठका जगको प्रविधि आफ्नो बनावट, सदियौँसम्म टिक्ने क्षमता तथा आफ्नो विशाल आयतनका कारण निकै रोचक छ ।

सहरको मुनि कूल् कतिवटा काठका खम्बा छन् भन्ने एकीन संख्या कसैलाई पनि थाहा छैन । रियाल्टो पुलको मुनि मात्रै १४ हजारवटा काठका खम्बा गाडिएका छन् भने सन् ८३२ मा निर्मित सेन्ट मार्क भेसिलिकाको मुनि १० हजारवटा ओकका रुखको प्रयोग गरिएको छ ।

कसरी गाडियो ती खम्बा ?

भेनिसका भवनहरुको जग निर्माणका लागि काठका खम्बाहरुलाई जतिसक्दो अधिकतम गहिराईसम्म गाडिएको थियो ।

त्यो काम संरचनाहरुको बाहिरी हिस्साबाट सुरु भएर केन्द्रतर्फ बढ्दथ्यो । आमरुपमा एक वर्गमिटरमा नौवटा खम्बा गोलाकार (स्पाइरल) ढाँचामा गाडिन्थ्यो ।

त्यसपछि खम्बाहरुको टुप्पो काटेर त्यसलाई एक समान सतहमा परिणत गरिन्थ्यो, जो समुद्रको स्तरभन्दा तल हुन्थ्यो ।

अनि त्यसमाथि काठकै तेर्सा संरचना राखिन्थ्यो त्यसलाई जत्तेरोनी या मादिएरी (काठका बिम तथा दलिन) भनिन्थ्यो । त्यसमाथि चाहीँ भवनका ढुंगा राखिन्थ्यो ।

सहर निर्माणका काठको चरम कटान भएसँगै भेनिस गणराज्यले छिटै नै आफ्ना जंगलहरुको रक्षा गर्न सुरु गर्यो ताकि पूर्वाधार तथा जहाज निर्माणका लागि पर्याप्त काठ उपलब्ध होउन् ।

इटालीको नेशनल काउन्सिल फर रिसर्चको बायो इकोनोमी इन्स्टिच्यूटका शोध निर्देशक निकोला मक्कियोनीका अनुसार भेनिसले नै काठको खेती अर्थात् सिल्भिकल्चरको अवधारणाको सुरुवात गरेको थियो ।

हुनत भवनहरुको जगका लागि काठका खम्बामा निर्भर रहेको सहर भेनिसमात्रै होइन । तर भेनिसका केही यस्ता कुरा छन् जसले उसलाई अनौठो बनाइदिएका छन् ।

एम्सटर्डम पनि यस्तै एक सहर हो जो आंशिक रुपमा काठकै खम्बामा बनेको छ ।

त्यहाँ र उत्तरी युरोपका केही सहरमा समेत जगको रुपमा प्रयोग गरिएका ती काठका खम्बा सिधै तलसम्म गएर ठोस चट्टान (बेडरक) लाई छुन्छन् अनि लामा खम्बा र टेबलका खुट्टाको रुपमा काम गर्दछन् ।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका वास्तुकलाका प्राध्यापक थोमस लेस्लीका अनुसार चट्टानहरु पानीको सतहको नजिक हुँदा मात्रै यो तरिका सही हुन्छ ।

उनका अनुसार मिसिगन तालको किनारमा चट्टानहरु सतहभन्दा करीब १० फिट तल छन् ।

उनी भन्छिन्, ‘यति लामो आकारका रुख खोज्नु कठीन हुन्छ । भनिन्छ कि सन् १८८० को दशकमा शिकागोमा मानिसहरुले एउटा रुखको काण्डमा अर्को रुखको काण्डलाई राखेर जग बनाउने कासिस गरेका थिए । तर त्यो तरिकाले पनि काम गरेन । अन्ततः उनीहरुलाई थाहा भयो कि वास्तविक शक्ति माटो र खम्बाको बीचमा उत्पन्न हुने घश्रणमा रहेको छ ।’

उक्त सिद्धान्तको आधार हो माटोलाई बलियो बनाउनु । जतिधेरै खम्बा एक ठाउँमा गाडियो उति नै धेरै घश्रण पैदा हुन्छ र भवनको जगत बलियो हुन्छ ।

यो प्रविधिलाई वैज्ञानिक भाषामा हाइड्रोस्टाटिक चाँप भनिन्छ ।

थोमस लेस्लीका अनुसार जब धेरैवटा खम्बाहरु नजिक नजिक गाडिन्छ, तब माटोले ती सबैलाई कँसेर पक्रिन्छ ।

भेनिसका काठका जग पनि यहीँ सिद्धान्तमा काम गर्दछन् । ती खम्बा कडा चट्टानसम्म पुग्दैनन्, मात्र माटाको घश्रणका कारणले गर्दा भवनहरुलाई थामेर राख्छन् । यो तरिका निकै पुरानो हो ।

पहिलो शताब्दीका रोमन इन्जिनियर तथा वास्तुकार भिट्रुभियसले पनि यो प्रविधिको बारेमा उल्लेख गरेका थिए । रोमनहरुले पुल बनाउनका लागि पानीमा डुबेका काठका खम्बाहरुको प्रयोग गर्दथे ।

चीनमा पनि जल द्धार अर्थात् वाटर गेट यहीँ प्रविधिबाट बनाइन्थ्यो ।

मेक्सिको सिटीमा एज्टेकहरुले सोही तरिका अपनाएका थिए । तर स्पेनिसहरुल्े उनीहरुको प्राचीन नगरलाई ध्वंस गरेर र त्यस ठाउँमा क्याथोलिक चर्च बनाए ।

प्युज्रिनका अनुसार एज्टेकहरु आफ्नो पर्यावरणमा निर्माण गर्ने काममा स्पेनिसहरुको तुलनामा धेरै पोख्त थिए । स्पेनिस मानिसहरुले पछि जो चर्च बनाए त्यो अहिले असमान रुपमा धस्सिइरहेको छ।

उनका अनुसार मेक्सिको सिटीको उक्त क्याथेड्रल तथा पूरै मेक्सिको सिटी जगसँग सम्बन्धित हरेक गल्तीको जिवन्त उदाहरण हो ।

किन कुहिँदैनन् काठ ?

डेढ हजार वर्षभन्दा धेरै समयसम्म पानीभित्र रहँदापनि भेनिस सहरका काठे जगहरु अहिलेसम्म बलियोसँग टिकिरहेका छन् । यद्यपि यी काठका खम्बाहरुमा कत्तिपनि क्षति नपुगेको चाहीँ होइन ।

करीब १० वर्षअघि पादोवा तथा भेनिस विश्वविद्यालयको एक टिमले सहरका जगहरुको स्थितिको अध्ययन गरेको थियो ।

उनीहरुले सन् १४४० मा बनेको फ्रारी चर्चको घण्टाघरको जगबाट जाँच सुरु गरे, जो एल्डर वनस्पतीको काठका खम्बाबाट बनेको थियो ।

फ्रारी घण्टाघर हरेक वर्ष करीब १ मिलिमिटरका दरले धस्सिइरहेको छ । अर्थात् अहिलेसम्म यो करीब ६० सेन्टिमिटर तल गैसकेको छ ।

मक्कियोनीका अनुसार चर्च वा अन्य भवनहरुको तुलनामा घण्टाहरुको वजन कम क्षेत्रमा केन्द्रित हुन्छ । जसका कारण घण्टाघरहरु तिव्र गतिमा धस्सिन्छन्, अग्लो हिल भएका जुत्ताजस्तै ।

शोधकर्ताहरुले अध्ययनको क्रममा केही काठमा क्षति पुगेको त फेला पारे तर पानी, माटो तथा काठ मिलेर बनेको उक्त प्रणालीले हालसम्म पनि त्यसलाई सम्हालिरहेको छ ।

साथै शोधकर्ताहरुले अक्सिजन रहित वातावरणका कारण काठ नकुहेको भन्ने मिथकलाई पनि खारेज गरिदिए ।

वास्तवमा ब्याक्टेरियाहरूले काठमा आक्रमण गर्दछन् चाहे त्यहाँ अक्सिजन किन नहोस् । तर ब्याक्टेरियाको असर धमिरा तथा किराको तुलनामा निकै सुस्त हुन्छ, जुन अक्सिजनको उपस्थित मा सक्रिय हुन्छन् ।

यसका अलावा पानीले काठका ती कोशिकाहरुलाई भरिदिन्छ, जसलाई ब्याक्टेरियाले खाली गराएका हुन्छन् । यसबाट काठको विद्यमान आकार कायमै रहन्छ ।

टिमका सदस्य इज्जो भन्छन्, ‘के चिन्ता लिनुपर्ने कुनै कुरा छ ? छ वा छैन पनि । तर यस्तो खालका शोधहरु चाही निरन्तर जारी राख्नुपर्दछ ।

उनका अनुसार दश वर्षअघि नमूना लिएपछि अहिलेसम्म नयाँ नमूनाहरु संकलन गरिएको छैन, किनकि यो प्रक्रिया निकै कठीन छ ।

मक्कियोनी भन्छन्, ‘यी जग अझै कति शताब्दी टिक्छन् भन्ने कुरा हामीलाई थाहा छैन । तर जबसम्म पर्यावरण अहिलेकै जस्तो रहन्छ, त्यसबेलासम्म यी टिक्नेछन् । यो प्रणालीले यसकारण पनि काम गर्दछ कि यो काठ, माटो तथा पानी तीनवटै तत्वको संयोजनको रुपमा रहेको छ ।

माटोले अक्सिजनलाई टाढा राख्दछ । पानीले काठका कोशिकाहरुको आकार कायम राखिदिन्छ भने काठले भवनलाई थामिराख्नका लागि आवश्यक घर्षण दिइराख्छ ।

निकै सुन्दर

१९ र २० औँ शताब्दीमा जग निर्माणका लागि काठको ठाउँ पूर्ण रुपमा सिमेन्टले लिएको थियो ।

तर हालैका वर्षहरुमा काठबाट निर्माणको चलन पुनः बढेको छ, यहाँसम्म कि अहिले काठका गगनचुम्बी भवनहरु पनि बनाउन थालिएको छ ।

प्राध्यापक लेस्लीका अनुसार वर्तमानमा काठलाई पुनः एउटा निकै विशेष तथा आधुनिक निर्माण सामाग्रीको रुपमा हेर्न थालिएको छ र यसका पछाडि तथ्इगत कारणहरु पनि छन् । काठले कार्बलाई सोस्दछ । यो प्राकृतिक रुपमा नष्ट हुन्छ र आफ्नो लचिलो संरचनाका कारणले यो भूकम्प प्रतिरोधी सामाग्री मानिन्छ ।

हुनत भेनिस काठको जगमा उभिएको एक्लो सहर होइन । तर यो एकमात्र यस्तो सहर हो जहाँ घर्षणमा आधारित प्रविधिलाई व्यापक स्तरमा प्रयोग गरिएको छ, जुन अहिलेपनि पूर्ण रुपमा सुरक्षित तथा अविश्वसनीय रुपमा सुन्दर छ ।

प्राध्यापक प्यूज्रिन भन्छन्, ‘यी भवनहरु ती मान्छेले बनाएका थिए जसले न माटोको मेकानिक्स पढेका थिए, न त जियो टेक्निकल इन्जिनियरिङ्ग। तरपनि उनीहरुले सदियौँसम्म टिक्ने यस्ता चिज बनाए जसलाई बनाउने कुरा हामीले आज केवल सपना देख्नमात्रै सक्छौँ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?