
२९ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको संक्रमण नियन्त्रणका लागि फ्रान्सले राजधानी पेरिससहित नौ सहरमा रात्रीकालीन कर्फ्युको घोषणा गरेको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले शनिबारदेखि कार्यान्वयनमा आउने गरी बेलुका सात बजेदेखि बिहान ६ बजेसम्म रात्रीकालीन कफ्र्युको घोषणा गरेका हुन् । त्यस्तै सार्वजनिक स्वास्थ्य आपतकाल पनि घोषणा गरिएको छ ।
यसैबीच जर्मनीले पनि कोरोना संक्रमण नियन्त्रणको लागि जोखिमपूर्ण क्षेत्रमा बार र रेष्टुरेन्टहरु बन्द गर्ने निर्णय गरेको थियो । बुधबार जर्मन चान्सलर एन्जेला मर्केलले गत अप्रिलपछि पहिलोपटक एकैदिन पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेसँगै सामाजिक गतिविधिमा प्रतिबन्धको नियम अघि सारेकी हुन् ।
नयाँ नियम अनुसार एक लाख मानिसमा ५० भन्दा धेरै मानिस संक्रमित भइसकेको स्थानमा दुई परिवारका १० जनाभन्दा धेरै मानिस जम्मा हुन पनि पाइने छैन ।
युरोपको कोरोनाको दोस्रो लहर फैलिएसँगै समग्र युरोपभर सामाजिक गतिविधिमा प्रतिबन्धका नियमहरु अघि सार्ने क्रम चलिरहेको छ ।
स्रोत :बीबीसी
प्रतिक्रिया 4