
२९ असोज, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहलाई भेट्न गएका नेपाल विद्यार्थी संघ -नेविसंघ_का विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
विश्व विद्यालयका विद्यार्थीका समस्याबारे बिहीबार ध्यानाकर्षण गराउन गएका विद्यार्थीलाई विनाकारण प्रहरीले पक्राउ गरेको नेविसंघ केन्द्रीय कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य अनि शाहीलगायत सबिन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटुवाल, सुरेन्द्र जैसी र राजकुमार घिमिरे रहेका छन् ।
उनीहरु विद्यार्थीका मागबारे ध्यानाकर्षण गराउन जाँदै गर्दा उपकुलपतिकै निर्देशनमा विद्यार्थीमाथि आक्रमण भएको र उल्टो प्रहरीले पक्राउ गरेको नेविसंघको आरोप छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी उपकुलपतिकै निर्देशनमा विद्यार्थीमाथि आक्रमण र गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी राजेन्द्रप्रसाद भट्टले भने ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरुले तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको बताएका छन् ।
प्रतिक्रिया 4