+
+

कृषि मन्त्रालयको निष्कर्ष : नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव छ

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ असोज ३० गते ९:१३

३० असोज, काठमाडौं । कृषि मन्त्रालयको अध्ययन कार्यदलले नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव भएको निष्कर्ष निकालेको छ ।

कृषि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले बिहीबार सो सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ ।

प्रारम्भिक प्रतिवेदनमा नेपालमा रासायनिक मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्राविधिक अध्ययन भने आवश्यक  रहेको उल्लेख छ ।

प्रतिवेदनमा तत्काल युरिया प्लान्ट स्थापना गर्नका लागि बायोमास ग्यासिफिकेसन र जलविद्युतको हाइव्रिड प्रविधि अवलम्वन गर्न उपयुक्त हुने सुझाव दिएको छ । नेपालमा जलविद्युतको पर्याप्त उत्पादन हुन थालेकाले विद्युतको महसुल घट्ने आँकलन गर्दै कार्यदलले उक्त प्रविधि उपयुक्त रहेको जनाएको छ ।

युरिया मल उत्पादनका लागि उपयुक्त प्रविधिको छनौट र त्यससँग सम्वन्धित आर्थिक विश्लेषणका पाटोमा थप अध्ययन गर्न सम्बन्धित विषयका प्राविधिक÷विज्ञहरुसँग छलफल गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।

रासायनिक मल कारखाना स्थापना सम्बन्धमा हालसम्म भएका अध्ययन प्रतिवेदनहरुको विस्तृत समीक्षा र अनुसन्धात्मक अध्ययन गर्ने कार्यादेश कार्यदलले पाएको थियो ।

प्रतिवेदन बुझ्दै मन्त्री भुसालले राजनीतिक तहमा मात्र उठ्दै आएको रासायनिक मल कारखाना खोल्ने विषय अब मन्त्रालयले औपचारिक रुपमा ग्रहण गरेको बताए । ‘मल कारखाना खोल्ने विषय थप प्राविधिक अध्ययन गर्दै तार्किक निष्कर्षमा पुर्याइने छ,’ मन्त्री भुसालले भने ।

लगानी बोर्ड र जाइकाले गरेको अध्ययनको समयभन्दा अहिले प्रविधिमा धेरै विकास भइसकेकाले कारखाना स्थापनाको लागत अझ कम हुन सक्ने सम्भावना रहेको मन्त्री भुसालको भनाइ छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?