
३० असोज, काठमाडौं । मानव अधिकार आयोगले भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीलाई दोषी ठहर्याएको छ । आयोगको बुधबार बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
आयोगका एक अधिकारीका अनुसार बैठकले महाशाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रूगम कुँवरसहित प्रहरी नायब निरीक्षक दिपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र प्रहरी सहायक निरीक्षक राजन खड्कालाई कारबाही गर्नुपर्ने भनेको छ । आयोगले त्यसवेलाको वस्तुस्थिति र प्रमाणले भक्तपुर इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको हत्या भएको निष्कर्ष निकालेको उनले बताए ।
प्रहरीले २१ साउन २०७५ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न दुई जनामाथि गोली हानेको थियो । तत्कालीन महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भक्तपुरको डोलेश्वर जंगलमा दोहोरो भिडन्त भएपछि दुई जना अभियुक्त मारिएको प्रतिक्रिया दिएका थिए ।
तर, आयोगको छानविनले तमाङद्वयलाई घरबाट पक्राउ गरेर जंगलमा लगेर हत्या गरिएको पाइएको भनेको छ । यसबाट मानव अधिकारको गम्भिर उल्लंघन भएको बताउँदै कारबाही गर्न भनेको छ ।
यसअघि आयोगले विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टरमा पनि प्रहरीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ । तर, प्रकरणमा संलग्न प्रहरी अधिकृतमाथि हालसम्म कारबाही प्रक्रिया अघि बढेको छैन ।
प्रतिक्रिया 4