Comments Add Comment

कोरोना महामारीमा पनि नरोकिने जात्राहरु

उपत्यका र त्यस बाहिरका कुन कुन जात्रा रोकिने भए ?

सिकाली जात्रा/फाइल तस्वीर

३० असोज, काठमाडौं । ६ महिना लामो अन्यौलका बीच रातो मत्स्येन्द्रनाथको रथ तान्न थालेपछि १८ भदौमा स्थानीय र प्रहरीबीच भएको झडपले उग्र रूप लियो । रथ निर्माणदेखि रथारोहणको प्रक्रियासम्म मौन रहेको प्रशासनले रथ तान्ने क्रममा बल प्रयोग गरेपछि त्यहाँको स्थिति भड्किएको थियो ।

झडपपछि स्थानीय सरोकारवाला र प्रशासनबीच सहमति भयो र मत्स्येन्द्रनाथको रथयात्रालाई औपचारिकता दिएर जात्रा समाप्त भयो ।

कोरोना भाइरसको महामारी अझै सकिएको छैन । नेपालीहरूको मुख्यपर्व नवरात्रि एवं विजयादशमीको माहोल सुरु भएको छ । दसैंको समयमा विभिन्न जातजातिले मनाउने धेरै जात्रा पर्व यो साल के हुन्छ ? भन्ने चासो धेरैलाई छ ।

तर उपत्यका र उपत्यका बाहिरका पनि केही धार्मिक क्षेत्रमा भने सुरक्षा सतर्कता अपनाएर दसैंमा जात्रा पर्व जारी राख्ने तयारी भइरहेको छ । उनीहरूले परम्परा खण्डित हुन नदिन हरसम्भव सुरक्षाको मापदण्ड पालना गर्ने बताएका छन् ।

कतिपय जात्राहरू भने कोरोनाका कारण यो वर्ष नित्य पूजामा मात्रै सीमित राखिने भएको छ ।

काठमाडौंको चोभारमा रहेको आनन्दादि लोकेश्वरको मन्दिरमा दसैंको कोजाग्रत पूर्णिमापछि लाग्ने मेलाको तयारी चलिरहेको छ । आश्विन पूर्णिमादेखि कात्तिक पूर्णिमासम्म एक महिना मनाइने सो जात्राको अन्तिम ५ दिन धेरै भिड लाग्ने गर्छ । यद्यपि अघिल्लो वर्षतिर कोजाग्रत पूर्णिमाकै दिनदेखि मन्दिरमा भिडभाड हुने गथ्र्याे । कुष्टरोग र विभिन्न महामारीबाट बचिने विश्वासका साथ माजिसहरु आउँछन् ।

आनन्दादि लाेकेश्वरमा जात्राकाे क्रममा बाजा बजाउन व्यस्त युवायुवती/तस्वीर सौजन्य : सराेज शाक्य

कोरोनाको त्रासकाबीच हुन लागेको मेलामा भौतिक दुरी कायम गर्ने र सुरक्षा सतर्कता अपनाएर मेला चलाउने तयारी भइरहेको कच्छपाल सुवर्ण विधि महाविहार व्यवस्थापन समितिका सचिव एवं आनन्दादि लोकेश्वर मन्दिरका पुजारी सरोज शाक्यले बताए ।

उनका अनुसार जात्राभन्दा पनि व्रतको समयमा त्यहाँ निर्जला व्रत बस्नेहरूको भिड लाग्ने गर्छ, त्यसलाई व्यवस्थापन गर्ने तयारी भइरहेको छ । ‘कोरोना भाइरसका कारण यो साल श्रद्धालुकै कम भिड लाग्न सक्छ’ शाक्यले अनलाइनखबरसँग भने ‘हामी निर्जला व्रत बस्नेहरूलाई सामाजिक दुरी कायम गरेर व्रत बस्ने गरी व्यवस्थापन मिलाउने तयारीमा छौं ।’

ललितपुरकै दसैं नमनाउने गाउँ भनेर चर्चित खोकनाको सिकाली जात्रा भने जारी राखिने भएको छ । तर कोरोना भाइरसका कारण थोरैभन्दा थोरै मान्छे सहभागी भएर जात्रा सम्पन्न गर्ने तयारीमा स्थानीय छन् ।

सामाजिक अभियान्ता एवं स्थानीय रुद्रायणी विद्यालयका प्रधानाध्यापक समेत रहेका कृष्ण भगत महर्जनले अघिल्लो वर्षको जस्तो धुमधामका साथ जात्रा नमनाए पनि यो साल सिकाली जात्रा स्थगित भने नगरिने जानकारी दिए । ‘कोरोना भाइरसको महामारीले खोकना पनि अछुतो छैन, त्यसैले हामी जात्रा संक्षिप्त र थोरै मान्छे राखेर गर्छाैं, पहिलेको जस्तो धुमधाम भने हुँदैन’ महर्जनले अनलाइनखबरसँग भने ।

पाटन दरबार क्षेत्रमा तलेजु मन्दिरबाहिर मनाइने खड्ग जात्रा भने यो साल नमनाइने भएको छ । २०५४ सालदेखि २० वर्षसम्म नमनाइएको सो जात्रा यो वर्ष कोरोनाका कारण नित्यपूजामा मात्रै सीमित गर्ने तयारी रहेको तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको जोखिमका कारण जात्रा समितिले नै यो साल आन्तरिक पूजाआजामा सीमित राख्ने निर्णय गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि जिल्लामा नित्य पूजाबाहेक जात्रा पर्व सञ्चालनमा रोक लगाइएको बताउँछन् ।

यो वर्ष भक्तपुरका सबै जात्रा कोरोनाबाट प्रभावित भएका छन् । तलेजुमा दिइने सबै किसिमको बली यो वर्षको लागि स्थगित गरिएको छ । तर दसैंको नवमीको दिन धुमधामका साथ मनाइने भक्तपुरको खँ मेय् भने यो साल स्थगित नहुने भएको छ । यो वर्ष भाकल गर्ने व्यक्तिले राँगो किनेर नवदूर्गा गणलाई बुझाइसकेको र घण्टाकर्ण चतुर्दशीको दिनदेखि नै प्रक्रिया सुरु भइसकेकोले यो वर्ष खँ मेय् पनि नरोकिने भएको छ । तर यसमा अघिल्ला वर्षमा जस्तो स्थानीयको सहभागिता भने नगराउने सहमति भएको छ ।

स्थानीय प्रशासन, स्थानीय तह र जात्रा व्यवस्थापनबीचको छलफलको क्रममा यो निर्णय भएको हो । खँ मेय् र नवदूर्गा नाच रोक्नको लागि तीन चरणमा छलफल भयो । सम्बन्धित नवदूर्गा गणहरूसँग भएको छलफलमा जात्रा मनाउने तर सर्वसाधारणको भिड हुन नदिनेबारे जात्रा पक्ष र प्रशासनबीच सहमति भएको नवदूर्गा गणका सदस्य अमित वनमालाले जानकारी दिए ।

भक्तपुरको पाया जात्रामा पनि बाजा बजाउन नदिने र बाहिर भिड जम्मा गरेर नगरपरिक्रमा गर्न नदिने निर्णय भइसकेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनका अनुसार अब नवदूर्गा गणले तलेजु मन्दिर परिसरभित्रै सबै प्रक्रिया पूरा गरेर यस वर्षको जात्रा सम्पन्न गर्छन् ।

खड्गजात्रा काठमाडौं उपत्यकामा भिन्नभिन्नै किसिमले विभिन्न ठाउँमा मनाउने गरिन्छ । काठमाडौं जिल्लाभित्र मनाइने सबै किसिमका पाया जात्राहरू यो वर्ष औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय भएको छ ।

बौद्धमार्गीहरूले विक्रमाशील महाविहार (ठमेल भगवान् बहाल)बाट निकाल्ने खड्गजात्रा विहारभित्र मात्रै सीमित गर्ने निर्णय गरिएको ठमेल पाया व्यवस्थापन समितिका विश्वम्भरलाल प्रधानले जानकारी दिए ।

त्यस्तै, काठमाडौं महानगरपालिकाको २७ नं वडाका वडाध्यक्ष चिनियाँमान असन पाया र महाबौद्ध पाया पनि यो साल बन्द गर्ने निर्णय गरिएको बज्राचार्यले जानकारी दिए । उनले अनलाइनखबरसँग भने ‘असन क्षेत्रमा मनाइने सबै जात्रा यसवर्ष औपचारिकतामा मात्रै सीमित गरिने भएको छ । नित्यपूजा बाहेक खड्ग निकाल्ने जात्रा स्थगित गर्ने निर्णय भइसकेको छ ।’

त्यस्तै, उपत्यका बाहिर पनि केही ठाउँमा भौतिक दुरी कायम गरेर जात्रा मनाउने तयारी भएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको त्रिपुरासुन्दरी मन्दिरमा दसैंको बेलामा लाग्ने जात्रा भाकल भएका र पुजारीलाई मात्रै प्रवेश दिनेगरी सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ । गाउँपालिकाकी उपाध्यक्ष देवीकुमारी पाण्डे बुर्लाकोटीले भाकल भएकालाई मन्दिर नआउनु भन्न पनि नसक्ने भएकोले पुजारी र भाकल भएकालाई सुरक्षित रुपमा मन्दिर प्रवेश गर्न दिइने र बाँकीलाई मन्दिरमा आउन नदिने तयारी गाउँपालिकाको रहेको बुर्लाकोटीले जानकारी दिइन् ।

राजतन्त्र हुँदासम्म धुमधामका साथ मनाइने गोरखा दरबारमा रहेको गोरखनाथ मन्दिरमा पहिले ठूलो भिड हुन्थ्यो । वर्षको एक दिनमात्रै सर्वसाधारणलाई खोलिने सो मन्दिर अहिले वर्षैभरि स्थानीयको लागि समेत खुला हुन थालेपछि त्यहाँ तुलनात्मक रुपमा कम भिड हुने गर्छ । तर यो वर्ष गोरखा दरबार क्षेत्रका सबै दसैं पूजा स्थगित भएको छ ।

गोरखा दरबारबाट नेपाली सेनाले फूलपाती ल्याउने कार्यक्रममा पनि सुरक्षा सतर्कता अपनाउने र भिड हुन नदिने स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले धेरै भिड हुने मनकामना मन्दिर र गोरखा मन्दिरमा मान्छेको भिड हुन नदिने व्यवस्था प्रशासनले मिलाइसकेको जानकारी दिइन् ।

सरोकारवालाले देखेका चुनौतीहरू

काठमाडौं, भक्तपुर र ललितपुरका एक एक वटा जात्रा यो दसैंमा जनस्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरेर गर्ने तयारी भएको छ । तर जात्रा मनाउने सम्बन्धित सरोकारवाला निकायले समेत यसमा केही चुनौती भने देखेका छन् ।

सिकाली जात्रा/फाइल तस्वीर

खोकनाका सामाजिक अभियान्ता महर्जन जात्रामा धेरै ज्येष्ठनागरिकहरुको संलग्नता हुनु नै कोरोनाको यो महामारीको क्रममा चुनौतीको विषय हो । कोरोनाको जोखिममा पनि धेरै ज्येष्ठनागरिक नै रहेको र जात्राको विधि पूरा गर्न पनि उनीहरू आवश्यक रहेकोले यो यसपालिको सिकाली जात्राको मुख्य चुनौतीको विषय हो ।

त्यस्तै, स्थानीयलाई सहभागी गराउँदिन भन्दाभन्दै पनि स्थानीयको सहभागिता बढ्ने हो कि ? भन्ने अर्काे चुनौतीको विषय हो । यो काठमाडौं र भक्तपुरमा पनि रहेको सरोकारवालाहरु बताउँछन् । आनन्दादि लोकेश्वरका शाक्य मान्छेलाई सकेसम्म घरमै व्रत बस्नुभन्दा पनि भिड लाग्ने हो कि ? भन्ने चिन्ता रहेको भन्दै त्यसको व्यवस्थापन कसरी मिलाउने ? भन्ने बारेमा छलफल चलिरहेको बताउँछन् ।

त्यस्तै, भक्तपुर पर्यटन विकास समितिका सचिव दीपेशराज शर्मा पनि जात्रामा स्थानीयको भिड नियन्त्रण कसरी गर्ने भन्ने बारेमा प्रशासनले सुरुमा नै तयारी गर्नुपर्ने बताएँछन् । ‘स्थानीयको भिड आयो भने जात्रा आयोजकले मात्रै रोक्न नसक्न पनि सक्छन् । त्यो यहाँको चुनौती हो । यही चुनौतीलाई समाधान गरेर जात्रा सञ्चालन गर्नुपर्छ’ शर्माले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment