Comments Add Comment

मलेसियामा बढ्यो राजनीतिक संकट

३० असोज, का ठमाडौं । मलेसियामा पछिल्लो केही समययता राजनीतिक अन्योल बढेको छ । मलेसियाका विपक्षी दलका नेता अनवार इब्राहिमले संसद्मा आफ्नो बहुमत रहेको दाबी गर्दै सरकार बनाउने घोषणा गरेसँगै मलेसियाको राजनीतिक संकट सतहमा देखिएको हो । गत मंगलबार अनवारले मलेसियाका राजासँग नयाँ सरकार निर्माणको लागि आफूले संसद्मा बहुमत साबित गर्न सक्ने बताएका थिए ।

अहिले मलेसियामा मुहइद्दिन यासिन प्रधानमन्त्री छन् । उनी गत मार्चमा पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार ढलाएर मलेसियाका प्रधानमन्त्री बनेका थिए । तर, त्यसको एक वर्ष पनि नहुँदै अर्का विपक्षी नेताले उनको सरकारलाई चुनौती दिएका हुन् । यसले मलेसियाको राजनीतिक संकट झन् गहिरिँदै जान सक्ने आशंका उत्पन्न भएको छ । मलेसियाको २२२ सदस्यीय संसद्मा यासिनसँग दुई सिटको बहुमत छ । यस्तोमा विपक्षी नेताले उनको नेतृत्वलाई चुनौती दिएका हुन् ।

यसैबीच मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले अनवारले आफ्नो सरकार बनाए पनि मलेसियाको राजनीतिक अस्थिरता भने कायम रहने आशंका व्यक्त गरेका छन् । शुक्रबार उनले आगामी दिनमा पुनः राजनीतिक गठबन्धन परिवर्तन हुँदै जाने र यसले मलेसियालाई थप राजनीतिक समस्या थप्ने बताएका हुन् । विशेषगरी पहिला सत्तामा रहेको युनाइटेड मलायज नेशनल अर्गनाइजेसन (यूएमएनओ) पार्टीको कारण मलेसियामा राजनीतिक गठबन्धन परिवर्तन हुँदै आएको हो ।

सन् २०१८ मा भएको आम निर्वाचनमा अनवरको सहयोगमा महाथिरको पार्टीले जित हासिल गरेको थियो । यससँगै ६ दशकदेखि सत्तामा रहेको यूएमएनओ पार्टी सत्ताबाट बाहिरिएको थियो र महाथिर मोहम्मद प्रधानमन्त्री बनेका थिए । तर, गत मार्चमा मुहइद्दिन यासिनले यूएमएनओको सहयोगमा सरकार बनाएका थिए । अहिलेको अवस्थामा महाथिरले मुहइद्दिन र अनवर दुवैलाई सहयोग नगर्ने बताएका छन् । उनले अहिलेको राजनीतिक अन्योलले मुलुकमा कुनै पनि सरकार नरहने अवस्था आउन सक्ने आशंका व्यक्त गरेका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment