
३० असोज, जनकपुरधाम । शुक्रबारसम्म प्रदेश २ मा कोभिड-१९ को संक्रमणका कारण १५९ जनाले ज्यान गुमाइसके । शुक्रबार मात्र थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र, कुल संक्रमितको संख्या १४ हजार ६२० पुगेको छ ।
तर प्रदेश २ मा सरकारको नेतृत्व र सम्वद्ध दलका नेताहरु भने कोरोनासँग खेलाँची गरिरहेका छन् ।
मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु र जनता समाजवादी पार्टीका नेताहरु हरेक दिनजसो मानिसहरुलाई भेला पार्ने राजनीतिक भाषणबाजी गर्न व्यस्त देखिएका हुन् ।
शुक्रबार त्यस्तै भयो । जसपाका नेताहरु राजेन्द्र महतो, अनिल झा, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल लगायतले धनुषाको सबैलामा ठूलो संख्यामा सर्वसाधारणलाई भेला परेर पार्टी प्रवेश कार्यक्रम गरेका छन् ।
जसपाका नेताहरुले माहामारीलाई भुलेर राजनीतिक कार्यक्रम गरेको यो पहिलो घटना भने होइन । २७ असोजमा पर्साको पकहामैनपुर गाउँपालिकामा यसरी नै पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।
१५ साउनमा सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा यस्तै कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो कोरोना भाइरससम्बन्धी चेतनामूलक भाषण ठोक्दै संक्रमण हुन नदिन व्यवहारमा परिवर्तन गर्नुपर्नेदेखि संक्रमित भइहाले अस्पतालसम्म पुर्याउनुपर्ने धारणा राखेका थिए ।
जनताको समस्या हेर्नु पर्दैन ?
कोरोना महामारीको समयमा यस्तो कार्यक्रम गर्नु कुनै हिसावले ठीक भन्न नसकिने बताउँछन् राजनीतिक विश्लेषक सुरेन्द्र लाभ । भन्छन्, ‘यो त कारेानालाई नटेर्नु हो ।’
मानिसको जीवनभन्दा महत्वपूर्ण पार्टी प्रवेश हुन नसक्ने बताउँदै लाभले यो भीड गर्नु कुनै पनि राजनीतिक दलका लागि शोभाको बिषय नभएको बताए ।
‘जनता भोकमरीले मरिरहेका छन् । न उपचार पाएका छन् न अर्को कुनै व्यवस्था गरिएको छ’ उनी भन्छन्, ‘जनताको समस्या समाधान गर्नेतर्फ ध्यान नदिई भीड गराउनुलाई कुनै पनि हिसावले ठीक भन्न सकिँदैन ।’
अहिले भीड जम्मा गर्नु र राजनीतिक कार्यक्रम गर्नु अवाञ्छित गतिविधि भएको उनले बताए ।
प्रतिक्रिया 4