
२ कात्तिक, विराटनगर । ओखलढुंगा र उदयपुरका ५ जना नागरिक दसैँ मनाउन भारतको लद्दाखबाट फर्किँदै थिए । तर घर नपुग्दै बाटैमा उनीहरुले ज्यान गुमाउनुपर्यो ।
उदयपुरको कटारी नगरपालिका– १४ भदौरे स्थित सिद्दिचरण लोकमार्गमा शनिबार राति कार दुर्घटना हुँदा मानेभञ्ज्याङका ४ जना र उदयपुर कटारीका १ जनाको मृत्यु भयो ।
दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ओखलढुंगाको माने भञ्ज्याङ गाउँपालिका– ९ का ४६ वर्षीय रामबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीय नरमाया सार्की, २७ वर्षीय कर्णबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका– ८ शिरिसेका ३० वर्षीय महेशबाबु बिकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
भैरहवाबाट बा २० च ७१७१ नम्बरको कार रिजर्भ गरेर भैरहवाबाट ओलढुंगातर्फ जाँदै गरेका उनीहरु शनिबार राति ११ः५५ बजे दुर्घटनामा परेका मानेभञ्ज्याङ गाउँपालिका– ९ का वडाअध्यक्ष नानीबाबु मगरले जानकारी दिए ।
दुर्घटनामा परेको कार सडकबाट करिब ९०० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।
दुर्घटनामा मानेभञ्याङ–९ की ३१ वर्षीय कुमारी सार्की, १८ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते छन् । कल्पना र सवारी चालक खड्काको अवस्था गम्भीर भएकाले उपचारका लागि विराटनगर ल्याइएको छ ।
मानेभञ्ज्याङ ९ का वडा अध्यक्ष मगरका अनुसार दुर्घटनामा परेकाहरु भारतको लद्दाखबाट फर्किएकाहरु शनिबार बेलुका उदयपुर आइपुगेका थिए । ‘हिजो साँझ सम्पर्क हुँदा क्वारेन्टाइन कहाँ बस्नुपर्छ भन्दै सोध्नु भएको थियो’ वडाध्यक्ष मगरले भने ।
प्रतिक्रिया 4