
२ कात्तिक, काठमाडौं । चीनले निर्यातमा नियन्त्रण लगाउन सक्ने गरी नयाँ कानुन पारित गरेको छ । चीनको उच्च संसदीय कमिटीले शनिबार संवेदनशील वस्तुहरु, सेवा र प्रविधिको निर्यातमा अंकुश लगाउने कानुन पारित गरेको हो । चीनले राष्ट्रिय सुरक्षाको संरक्षणका लागि संवेदनशील वस्तुको निर्यातमा नियन्त्रणका लागि यो कानुन ल्याएको हो । यो नियम आगामी डिसेम्बरदेखि कार्यान्वयनमा आउनेछ ।
शनिबार चीनको पिपुल्स कांग्रेस स्ट्यान्डिङ कमिटिले यो नियम पारित गरेको हो । अहिले पारित गरिएको नियम अनुसार निर्यातमा नियन्त्रण हुन सक्ने सामग्रीमा सैन्य र न्युक्लियर उत्पादनहरुका अनुसार प्रविधि, सेवा र यसससँग सम्बन्धित विवरणहरु हुन सक्ने नेशनल पिपुल्स कांग्रेसको वेबसाइटमा उल्लेख छ ।
अमेरिकाले पछिल्लो समय चिनियाँ कम्पनीहरुमाथि अमेरिकाले अंकुश लगाइरहेको अवस्थामा चीनले यस्तो कानुन पारित गरेको हो । पछिल्लो समय विभिन्न विषयमा अमेरिका र चीनको विवाद बढ्दो क्रममा छ ।
गत अगष्ट महिनामा चीनको वाणिज्य मन्त्रालयले निर्यातका लागि प्रतिबन्ध लगाइएका केही प्रविधिको सूची सार्वजनिक गरेको थियो ।
स्रोत : द साउथ चाइना मर्निङ पोस्ट
प्रतिक्रिया 4