Comments Add Comment

आईपीएलमा नयाँ रेकर्ड : दुई पटकसम्म सुपर ओभर, अन्ततः पन्जाबले जित्यो

३ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब र मुम्बई इन्डियन्सबीचको खेल निकै रोमान्चक रह्यो । गएरातिको खेल दुई पटकसम्म बराबरी भयो । कडा टक्करकाबीच अन्ततः पन्जाबले मुम्बईलाई हराउन सफल भयो । यस जितसँगै पन्जाब अंक तालिकामा छैटौं नम्बरमा पुगेको छ ।

आइतबार राति दुबईमा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । पन्जाबले जितका लागि १ सय ७७ रनको लक्ष्य पायो । पन्जाबले पनि कप्तान केएल राहुलको ७७ रन मद्दतमा, ६ विकेटकै क्षतिमा १७६ रन बनायो । खेल बराबरी भएपछि नतिजाका लागि सुपर ओभरमा गयो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले पाँच रन बनायो र मुम्बईले पनि समान पाँच रन नै बनायो । पहिलो सुपर ओभर पनि टाई भएपछि खेल दोस्रो सुपर ओभरमा धकेलियो ।

दोस्रो सुपर ओभरमा मुम्बईको मोर्चा केरोन पोलार्ड र हार्दिक पाण्ड्याले सम्हाले । मुम्बईले ११ रन बनायो । पाचौं बलमा अम्पायरले पोलार्ड आउट भएको संकेत गरेका थिए तर रिभ्यू गरेर हेर्दा अम्पायरको निर्णय बदल्नुपरेको थियो ।

पन्जाबले जितका लागि एक ओभरमा १२ रन बनाउनु पर्ने भयो । ट्रेन्ट बोल्टको पहिलो बलमा क्रिस गेलले छक्का प्रहार गरे । दोस्रो बलमा गेलले एक रन बटुले । तेस्रो र चौथो बलमा मयंक अग्रवालले चौका प्रहार गरेर पन्जाबलाई जित दिलाए । म्यान अफ द म्याच पन्जाबका केएल राहुल चुनिए ।

पहिलो विकेट गुम्दा पन्जाबको खातामा ३३ रन थियो । त्यसपछि केएल राहुल र क्रिस गेल मिलेर दोस्रो विकेटका लागि ५.४ ओभरमा ४२ रनको साझेदारी गरे । गेललाई दशौं ओभरमा दीपक चहारले आउट गरे । गेलले २४ रन बनाए ।

गेल आउट भएपछि क्रिजमा आएका निकोलस पुरनले १२ बलमा २४ रन बनाए । उनलाई १३ औं ओभरमा जसप्रित बुमराहले आउट गरे । ग्लेन म्याक्सवेल खाता खोल्न नपाइ आउट भए ।

जिततर्फ अघि बढेको पन्जाबको टिमलाई अन्तिम तीन ओभरमा २७ रन चाहिएको थियो । मुम्बईका कप्तान रोहित शर्माले १८ औं ओभरमा जसप्रित बुमराहलाई बलिङ गर्न दिए । उनले ओभरको तेस्रो बलमा केएल राहुललाई बोल्ड गरे । राहुल ७७ रनमा आउट भए । उनले ५१ बलमा सात चौका र तीन छक्का प्रहार गरेका थिए । किफायती बलिङ गरेका बुमराहले १८ औं ओभरमा जम्मा पाँच रन दिए ।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ९ रन आवश्यक थियो । बलिङमा ट्रेन्ट बोल्ट थिए । अन्तिम बलमा २ रन चाहिएको बेला क्रिस जोर्डन रन आउट भए । र, पन्जाबको स्कोर मुम्बइसँग बराबर १७६ नै रहेपछि म्याच टाई भयो । मुम्बईका लागि जसप्रित बुमराहले २४ रन खर्चिएर तीन विकेट लिए ।

यसअघि मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । मुम्बईका लागि ओपरन क्विन्टन डिककले ४३ बलमा ५३ रन बनाए ।

कप्तान रोहित शर्मा ९ रनमा, सूर्य कुमार यादव शून्य रनमा र इशान किसन ७ रनमा आउट हुँदा क्रुणाल पाण्ड्या र डिककले चौथो विकेटका लागि ५८ रनको साझेदारी गरे । क्रुणालले ३४ रन बनाए ।

मुम्बईका केरोन पोलार्ड ३४ र नाथन कोल्टर नाइल २४ रनमा नटआउट रहे ।

पन्जाबका लागि मोहम्मद शामी र अर्शदीप सिंहले दुई–दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment