Comments Add Comment

जारको पानीमा किरा भेटियो

४ कात्तिक, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा तीन दिन पहिले एउटा उजुरी पर्‍यो । सामान्यतया फोटो र टेलिफोनमार्फत विभागको हटलाइनमा उजुरी आइरहने भएपनि यो उजुरी अलि फरक थियो ।

पसलबाट किनेर उपभोक्ताले घरमा लगेको प्रशोधित जारको पानीमा किराका लार्भा स्याउँ स्याउँती दौडिरहेको भिडियो उजुरी विभागलाई प्राप्त भएको थियो । उजुरी आउनेबित्तिकै विभागका अनुसन्धान अधिकारीहरु केही बेर त अकमक्क भएको निर्देशक रवीन्द्र आचार्यले बताए ।

‘हामीले हरेक दिन जारको पानी पिउँछौं, आम मानिसलाई यस्ता पानीप्रति भरोसा पनि छ, तर उपभोक्ताले गरेको गुनासो आङ सिरिङ्ग हुने थियो,’ निर्देशक आचार्यले भने । जारबाट खन्याइएको पानी राख्ने भाँडोमा खन्याइएको पानीमा स साना किराका लाभ्राहरु दौडिरहेको देख्न सकिन्छ ।

गम्भीर प्रकृतिको गुनासोपछि विभागले उजुरीकर्तासंग थप समन्वय गर्‍यो । उजुरीकर्ताले दिएको विवरणपछि विभागका निर्देशक आचार्यले उक्त पानी कम्पनी खोज्ने र अनुसन्धान गर्ने नेतृत्व आफैँ लिए ।

पानी उत्पादक कम्पनी टोखामा रहेको पत्ता लाग्यो । निर्देशक आचार्य आफ्नो टोलीसहित सोमबार टोखाको उद्योगमा पुगे । यस्तो पानी उत्पादन र बिक्री गर्ने कम्पनी शुभलक्ष्मी फूड एण्ड वेभरेज थियो ।

कम्पनीले सामान्य फिल्टर प्रयोग गरेर जमिनमुनिको पानी उपभोक्तालाई बिक्री गर्ने गरेको अनुगमन टोलीले फेला पार्‍यो । यतिसम्मकी पानी उद्योग दर्ता पनि नभएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञा पत्रसमेत नलिएको अनुगमनमा भेटियो ।

‘जमिनमुनिबाट पानी निकालेर सामान्य फिल्टर मात्रै गरेर बजार पठाएको जस्तो देखियो, पानी कम्पनी पूर्ण रुपमा अवैध पाइयो,’ निर्देशक आचार्यले भने । अनुगमन टोलीले सञ्चालकलाई कम्पनी दर्ता, खाद्यको अनुज्ञा पत्र लगायतको कागज पत्र देखाउन भने पनि नसकेको विभागले जनाएको छ ।

विभागले उक्त उद्योगलाई सिल गरेको छ । पानीको नमूना संकलन गरेर ल्याएको विभागले कागज पत्र पेश गर्न उद्योगीलाई विभागमा हाजिर हुन पत्र काटेको पनि निर्र्देशक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment