Comments Add Comment

बृहत टुँडिखेल गुरुयोजना कार्यान्वयनपछि काठमाडौंमा विशाल खुला क्षेत्र : राष्ट्रपति भण्डारी

५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीदेखि दशरथ रंगशालासम्म जोड्ने बृहत टुँडिखेल गुरुयोजना कार्यान्वयनमा लैजान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरेकी छन् ।

बुधबार काठमाडौंको रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी हुन् ।

पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउने राष्ट्रपति भण्डारीले बताइन् ।

‘यसबाट साँस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु’ राष्ट्रपति भण्डारीले भनिन् ।

परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्नुले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा उदाहरण प्रस्तुत गरेको उनले बताइन् ।

‘प्राकृतिक एवं साँस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाण्डौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु’ राष्ट्रपति भण्डारीले भनेकी छन् ।

राष्ट्रपति भण्डारीले भूकम्पबाट घरबारबिहीन सबैलाई घरबासको व्यवस्थासहित पुनस्र्थापना गर्ने र भूकम्पबाट क्षतविक्षत भएका साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्ने बताएकी छन् ।

भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुने उनले बताइन् ।

दरबार हाइस्कुल उद्घाटन

बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको पनि उद्घाटन गरेकी छन् ।

भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्‍याउने चीन सरकारलाई राष्ट्रपति भण्डारीले धन्यवाद दिएकी छन् ।

उनले भूकम्प पश्चातको पुनर्निर्माणमा सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगतको निम्ति प्रेरक बन्न सक्ने विश्वास लिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment