Comments Add Comment

प्रचण्डको सचिवालयले भन्यो – भारतीय गुप्तचरसँग भेट भएको छैन

६ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको  सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ ।

विहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका युवा संघका नेता रामप्रसाद सापकोटा दीपशिखाले अनलाइनखबरसँग भने, ‘अध्यक्षले भारतीय गुप्तचर प्रमुखलाई भेट्नु न परैजाओस्, उनी काठमाडौं आएकै हुन् कि होइनन् भनेर अहिलेसम्म भेरिफाई गरिरहनुभएको छ । उहाँलाई भारतीय गुप्तचर प्रमुख काठमाडौं आएको थाहै छैन ।’

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि भारतीय गुप्तचरसँग प्रचण्डको भेट नभएको बताए ।

भारतीय गुप्तचरको आगमनबारे प्रचण्ड सचिवालय अनभिज्ञता यदि सही हो भने यो भ्रमणबारे प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी सचिवालयमा कुनै पनि छलफल वा पूर्वजानकारी नदिएको देखिन्छ ।
नेकपाको गत स्थायी कमिटी बैठकले पार्टी र सरकार सञ्चालन दुई अध्यक्षवीचको सरसल्लाहमा गर्ने भनिएको थियो ।

पछिल्लो समय भारतसँग सीमा विवाद चर्कंदै गएका बेला नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले नै नेपाल सरकारले नक्शा जारी गर्नुपर्ने निर्णय गराएका थिए । पार्टीको सो निर्णयपछि सरकारले नक्सा जारी गरेको थियो । तर, पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा ओली पक्षका कार्यकर्ताहरुले प्रचण्डलाई ‘भारतीय दलाल’ समेत भन्ने गरेका थिए ।

तर, अहिले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचरलाई नेपाल निम्त्याउँदा पार्टीमा कुनै सल्लाह नै नगरेको प्रचण्डका निकटस्थहरु बताउँछन् ।

प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा जुगलले प्रेस नोट नै जारी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

रअका प्रमुख गोयल र प्रचण्डवीच भेट भएको भन्ने कतिपय सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्ने सापकोटाले भनेका छन्, ‘सम्वेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment