Comments Add Comment

किन हराउँछ टेलिकमका पोस्टपेड प्रयोगकर्ताको ब्यालेन्स ?

६ कात्तिक, काठमाडौं । ‘विनाकारण ब्यालेन्स काटियो’ भनेर गुनासो गर्ने नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । पत्तो नपाई ब्यालेन्स काटिएर ‘वान–वे’ हुने गर्दा धेरैले यसलाई टेलिकमको ठगी भन्दै आएका छन् ।

वास्तविकता भने फरक छ । नेपाल टेलिकमका अधिकारीहरू भने ब्यालेन्स काटिने कुनै समस्या नभएको र अनधिकृत रुपमा ग्राहकको ब्यालेन्स नकाटिएको उनीहरूको दावी छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी पोस्टपेडका ग्राहले ‘चर्जिङ’ प्रणाली नबुझ्दा यस्तो समस्या आएको बताउँछन् ।

यसकारण काटिन्छ

नेपाल टेलिकमले प्रत्येक अंग्रेजी महिनाको १४ तारिखको मध्यरातबाट पोस्टपेडको ‘बिलिङ’ प्रक्रिया सुरु हुन्छ । सो दिनमा पोस्टपेडका ग्राहकको महिनाभरको खर्चको ‘रिभ्यु’ हुन्छ ।

पोस्टपेड ग्राहकले महिनाभरिमा खर्च गर्नैपर्ने न्युनतम् खर्च (रेन्टल ब्यालेन्स) तोकिएको हुन्छ । त्यस्तो त्यस्तो रेन्टल ब्यालेन्स अहिले मासिक ३८४ रुपैयाँ तोकिएको छ ।

यस्तो रेन्टल ब्यालेन्सबाट फोन, एसएमएस तथा डेटा सेवा लिन सकिन्छ । यसबाट डेटा प्याक किन्न पनि पाइन्छ । रेन्टल ब्यालेन्सबाहेकको रकम खर्चिनुपर्दा थप रिचार्ज गर्नुपर्छ । पोस्टपेड ग्राहकले गरेको खर्च हरेक १५ तारिखमा हिसाब हुन्छ । अहिले यही १५ तारिखका दिनमा धेरैको ब्यालेन्स कटौती हुने समस्या देखिने गरेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीका अनुसार धेरैजसो पोस्टपेड ग्राहकले ‘प्याक’ लिएर भ्वाइस तथा डेटा सेवा लिइरहेका छन् । तर, धेरैजसोले प्रिपेड ग्राहकका लागि बनाएको प्याक लिन्छन्, जसले पोस्टपेड ग्राहकले न्यूनत्तम खर्च गर्नैपर्ने ३८४ रुपैयाँ खर्च नहुनसक्छ ।

‘कतिपय ग्राहकको प्रिपेडको लागि किनेको प्याक किन्दा पोस्टपेडको रेन्टल ब्यालेन्स खर्च नै हुँदैन,’ उनले भने, ‘तर, बिलिङ हुने दिनमा पोस्टपेडमा न्युनतम ब्यालेन्सबाट खर्च हुन बाँकी रहेका प्रणालीले स्वतः काट्छ ।’ उनका अनुसार नपुग ब्यालेन्स भए रिचार्ज गर्नासाथै काटिन्छ ।

अधिकारीले पोस्टपेड ग्राहकले पोस्टपेडकै लागि ल्याइएका प्याकहरू लिनुपर्ने बताउँछन् । अन्य प्रिपेडका लागि बनाइएका प्याक लिँदा रेन्टल ब्यालेन्स खर्च नहुने र बिलिङ हुने दिनमा स्वतः काटिने उनको भनाइ छ ।

‘पोस्टपेडका हरेक प्याक रेन्टल ब्यालेन्स पनि खर्च हुने गरी बनाइएको छ, पोस्टपेडको प्याक लिनुभयो भने ३८४ रुपैयाँको प्याक लिँदा रेन्टल ब्यालेन्सको खर्च त्यसमै जोडिन्छ,’ उनले भने ,‘अन्यथा महिनाभरि प्रिपेडको प्याक लिनेलाई रेन्टल ब्यालेन्स काटिँदा विना कारण काटिएको महसुस हुन्छ ।’

कस्ता छन् पोस्टपेड प्याक ?

टेलिकमले पोस्टपेडका लागि ३८४ रुपैयाँको भ्वाइस प्याक ल्याएको छ । जसबाट टेलिकमको नेटवर्कभित्र ३० दिनमा ८ सय मिनेटसम्म फोन गर्न सकिछ । यतिकै रकमबाट ३० दिनभित्र खर्च गर्न मिल्ने ४ जीबी डेटा प्याक अर्को डेटा पनि लिन पाइन्छ ।

९९९ रुपैयाँको ३० दिने प्याक पनि छ । यसमा टेलिमकको नेटवर्कभित्र १५ सय मिनेट र अन्य नेटवर्कमा १७५ मिनेट कल गर्ने सुविधासहित २० जीबी डेटा र नेटवर्कभित्र एक हजारवटा एसएमएस गर्न सकिन्छ ।

अर्को १४९९ रुपैयाँको ३० दिने प्याक पनि छ । जसमा टेलिकमको नेटवर्कमा महिनाभरि अनलिमिटेड कल गर्न पाइन्छ । टेलिकमबाहेक एनसेल, स्मार्ट सेललगायतका नेटवर्कमा १७५ मिनेट कल गर्न सकिन्छ । महिनाभरिका लागि २० जीबी डाटा र एक हजार वटा एसएमएसको सुविधा पनि यही प्याकमा छ ।

५९९ रुपैयाँको एक महिने प्याक पनि छ । जसमा टेलिकमभित्र ४०० मिनेट र ५० मिनेट अन्य नेटवर्कमा कल गर्ने सुविधा छ । ४ जीबी डेटा र सयवटा नेटवर्कभित्र नेटवर्कमा एसएमएस गर्न सकिन्छ ।

७४९ रुपैयाँमा ३० दिनको अर्को प्याक पनि उपलब्ध छ । यसमा नेटवर्कभित्र ८ सय र अन्य नेटवर्कमा ७५ मिनेटको कल गर्ने सुविधासहित ८ जीबी डेटा र ५ सय वटा नेटकर्वभित्र एसएमएस गर्ने सुविधा छन् ।

अधिकारीका अनुसार यी सबै प्याकमा ३८४ रुपैयाँको रेन्टल ब्यालेन्स पनि जोडिन्छन् । जसले गर्दा रेन्टल ब्यालेन्स खर्च हुन नसकेर ब्यालेन्स काटिने समस्या हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment