Comments Add Comment
गीत–सम्वाद :

कालीप्रसाद रिजाल : त्यही खसी चराउने, त्यही काट्ने !

‘गीतको हत्या धेरै गरेको छु, म कतै फिट नहुने मान्छे हुँ’

८ कात्तिक, काठमाडौं । ८० वर्षे चर्चित गीतकार कालीप्रसाद रिजालको  मनमा ‘केही मिठो बात’ गर्ने तुलबुल घटेको छैन । जे जस्तो भयो जीवन, त्यसको गीत लेख्ने चाह छ । अन्यायविरुद्ध हुँकार गर्ने कविता लेख्ने हतार छ ।

उनलाई जन्मस्थान धनकुटाबाट काठमाडौं पसेको हिजैजस्तो लाग्छ । सरकारी सेवा प्रवेश गरेको, नारायण गोपालहरूलाई भेटेको, कविता मात्र लेखेको ठिटोले प्रणयका कालजयी गीत सृजना गर्न थालेको उनलाई हिजै जस्तो लाग्छ । तर, त्यो २०२२ साल आसपासको कुरा हो ।

पाँच सय हाराहारी गीत र त्यत्ति नै कविता सृजना गरेका रिजाल केही वर्षयता चाबहिलस्थित निवासमै भेटिन्छन् । कोरोना कालमा त झन् कतै निस्किने कुरै भएन । उनी आफ्ना हराएका गीत/कविता खोज्ने धुनमा छन् । नयाँ लेख्ने जमर्कोमा छन् ।

यो सालको दसैं सुरु भएपछिको घमाइलो दिनमा चाबहिल निवासी रिजालसँग चाडपर्वको रौनक, गीत–कविता लगायत विषयमा अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकानीः

बाल्यकाल र अहिलेको दसैंमा धेरै फरक पाउनुहुन्छ, हैन ?

गीत जुनसुकैबेला लेखेको छु । कार्यालय समयमै पनि लेखेको छु । कति गीत मध्यरातमा उठेर नोट गरेको छु । बिहान चिया खाँदा साफी गरेको छु । चित्त नबुझ्दा तत्काल च्यातेर फ्याँकेको पनि छु । गीतको हत्या धेरै गरेको छु मैले

धेरै फरक आयो । धरानमा मेरो संयुक्त परिवार थियो । आठ जना बुबा–काकाहरू हनुहुन्थ्यो । चाडपर्वमा घरमा एउटा मेला नै लाग्थ्यो । नजिकका सबै आफन्तकहाँ टीका लगाउन जान्थ्यौं । बाल्यकालमा दसैं भनेपछि मन यसै फुरफुर–फुरफुर हुने ।

अहिलेको दसैंमा परिवारहरू एकै ठाउँमा हुँदैनन् । तैपनि चाड हो, मान्दै आएको छु । विदेशमा त मनाउँछन् भने आफ्नो देशमा हुँदा किन नमनाउनु ! दसैंसँग हाम्रो भावनात्मक सम्बन्ध नै ठूलो छ ।

बाल्यकालको दसैं सम्झँदा बढी उत्सव आउँछ कि सांस्कृतिक पक्ष ?

सानैदेखि परिवारमा मासु खाने गरियो । तर, म खसी काटेको, बली दिएको हेर्न सक्दिनथें । त्यही खसीलाई चराउन लाने अनि त्यसैलाई काट्ने कुरा मेरो मनले मान्दैनथ्यो ।

यसैले दसैं गीत लेख्दा पनि मानवीय सम्बन्धका, भावनाका, उल्लासका गीत लेख्छु ।  उत्सवको गीत नै दसैं गीत हो मेरा लागि । कविता लेख्दा दसैंका सामाजिक सन्दर्भहरू, असमानताहरू उठाउँछु । दसैंको कहर परेका मानिसको वेदना लेख्छु । व्यंग्य गर्छु ।

तपाईंका गीत रेशमझैं मुलायम र कविता संगीनजस्तै तीखो हुने गर्छन् नि !

कविता स्वयं गहकिलो र गहन हुन्छ । बुद्धिजीवी, श्रमजीवी भन्ने कुरा मलाई मन पर्दैन । मान्छे सबै बुद्धिजीवी, श्रमजीवी हुन्छन् । यसैले कविता लेख्दा समाजको उत्तरदायित्व बोकेको हुन्छु । योचाहिँ बुद्धिजीवीलाई भनेर लेख्ने गर्दिनँ ।

विश्लेषण, बिम्ब–प्रतीक र व्यंग्यले गर्दा कवितामा गहकिलो हुन्छु । मेरा गीतचाहिँ नीजत्वसँग बढी जोडिएर हार्दिक हुने गर्छ । मलाई सहर, गाउँ, हिमाल, उपत्यका, भीर–पाखासम्म आफ्ना गीत पुगोस् भन्ने लाग्छ । भरिया, खेताला सबैले मेरा गीत बुझुन्, भन्ने लाग्छ ।

दिनभर सरकारको प्रशासनिक काममा व्यस्त हुनुपर्ने मान्छे, कडा कविता र कालजयी गीतहरु कुन समयमा, कसरी लेख्नुहुन्थ्यो ?

गीत जुनसुकैबेला लेखेको छु । कार्यालय समयमै पनि लेखेको छु । कति गीत मध्यरातमा उठेर नोट गरेको छु । बिहान चिया खाँदा साफी गरेको छु । चित्त नबुझ्दा तत्काल च्यातेर फ्याँकेको पनि छु । गीतको हत्या धेरै गरेको छु मैले ।

कहिलेकाहीँ मनमा आएको गीत मनमै पाक्न दिन्छु । अब पाक्यो है भन्ने लागेपछि डायरीमा उतार्ने हो । हृदयमा गीत छ भने लेख्न त दश मिनेट पनि लाग्दैन ।

‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’ जस्ता गीत र ‘स्वदेशको गौरव’ जस्ता कविता लेख्नुभएको छ । तपाईंको लागि राष्ट्रवाद के हो ?

आफ्नो माटोसित जति प्रेम अरु केहीमा हुँदैन । आफ्नो गाउँ, आफ्नो घर प्यारो हुन्छ । तर, एउटा संवेदनशील मान्छेले अरुको राष्ट्रप्रेम पनि हृदयङ्गम गर्न सक्नुपर्छ । अन्धराष्ट्रवाद ठीक होइन ।

यो सहअस्तित्वको युग हो । आफूले पनि अरुकोमा हस्तक्षेप नगर्ने, अरुको हस्तक्षेप पनि प्रतिकार गर्न सक्ने सामर्थ्य हुनुपर्छ हामीमा । छोटकरीमा भन्दा मेरो राष्ट्रवाद यही हो ।

खास गरेर गीतका कारण तपाईं लोक–प्रसिद्व हुनुहुन्छ । कस्तो लाग्छ ?

अहिले नै फूलमाला लगाइदिएर इनाम दिए पनि मलाई प्रभाव पर्दैन । बाहिरबाट जतिसुकै बढाईं गरून् म फुर्कन्नँ । अरूको प्रशंसाले चुलिन म सक्दै सक्दिनँ । मेरो मनले सधैं भन्छ– तैंले अझै केही गर्न सकेको छैनस् !

जागिरको क्रममा मैले सम्झौता गरें । विद्रोह पनि गरें, फेरि सम्झौता गरें, फेरि झुकें । यसैले मभित्र एउटा ठूलो असन्तुष्टी छ । अंग्रेजी साहित्य पढ्न चाहन्थें, त्यो इच्छा पुरा भएन । आट्र्स पढ्न बनारस गएको कमर्सको जञ्जालमा अल्झिनुपर्यो ।

वकिल बन्न खोजें, त्यो पनि सम्भव भएन । जागिर मन पर्दैनथ्यो तर खानैपर्यो । यी सबै आवेग र असन्तुष्टीले म गीत लेख्न उद्देलित हुन्छु ।

भनेपछि स्रोताको माया, सद्भाव स्वीकार्नुहुन्न ?

स्रोताकै मायाले त म हाँस्न सकिरहेको छु । म नतमस्तक छु, उत्साही छु । त्यही उत्साहले गीत लेखिरहेको छु । आफूभित्र ‘म के–के न भएछु’ भन्ने भाव छैन भनेको मात्र हुँ । नेपालभित्र र बहिरका श्रोता नै मेरा सम्पत्ति हुन् ।

यही कारण तपाईंका गीतमा अवसाद धेरै आएको हो ?

गीतमा विचार होइन, गीतले प्रवाहित गरेको कुरा कति मधुर छ, त्यो कति गीतिमय छ त्यो कुरा ठूलो हो ।

कालिदासको पालादेखि अलिहेसम्म लेखिने शैली यही हो । प्रेम, विछोड, झगडा, तृष्णा, छटपटी, सुखदुःख नै गीतको स्रोत हो । लेखनमा भने आफ्नो मौलिकता हुनुपर्छ । मेरा गीतमा निराशा बढी हुनु स्वभावजन्य कुरा हो । जीवनको पहिलो दुई गीत ‘आँखा छोपी नरोऊ भनी’ र ‘झरेको पातझैं भयो’ निराशावादी धेरै देखिएकाले यसमा केही सत्यता छ ।

मलाई जीवनले नै यस्तै बनाइदियो । २४ वर्षकै उमेरमा धनकुटामा डिग्री (स्नातक) कलेजको प्रिन्सिपल भएँ । त्यहाँ पढाउनेमात्र होइन प्रशासनको हेरविचार गर्नुपर्थ्यो । त्यसमा पनि धेरै महिला पढ्ने क्याम्पस, मैले अनुशासन र कडा मिजासमा बाँधिनुपर्यो ।

प्रियजनहरू तपाईंलाई सृजनामा निकै कोमल,  तर व्यक्तिगत  व्यवहारमा कडा मिजासको मान्छन् नि !

पहिला पनि कतै भनेको छु– जोवन कहिले आयो, कहिले गयो मलाई पत्तै छैन । क्याम्पसको जागिरलगत्तै भूमिसुधारमा डाइरेक्टर भएँ । त्यसपछि सूचना विभागको  जिम्मा पाएँ । कहिले कामको ताल र मन एउटै दिशामा हुँदैनथ्यो । तीन दशकको प्रशासनिक बोझले मेरो स्वभाव त्यस्तो बनाएको हो ।

कविता र गीत लेखेकै कारण पञ्चायतकालमा सास्ती पाउनुभयो । ती कुरा ०४८ सालमा जागिर छाडेपछि खोल्न सक्नुहुन्थ्यो । तर, अहिले आएर मात्र पञ्चायतकालीन व्यथा भन्न थाल्नुभएको हो ?

मलाई जिम्मेवारीले पनि नखुल्ने स्वभावको बनायो । पद र त्यसको दायित्वले मेरो सृजनशील हृदयलाई मौनतामुखी बनाइदियो ।

पञ्चायतकालमा सूचना विभागको डाइरेक्टर पदमै बहाल छँदा गाईजात्राको बेलामा तीव्र व्यंग्य भएको कविता सुनाएपछि सूर्यबहादुरजी (थापा)ले मलाई तारो बनाए । मैले अहिले पञ्चायतको वेदना सुनाएजस्तो तपाईंलाई लागेको होला । तर, आफ्नो कुरा सार्वजनिक गरिहाल्ने स्वभाव छैन मेरो ।

म जे भएँ, त्यो परिस्थितिको बहावमा हुँदै आएँ । जे हुन चाहन्थें, त्यो भइनँ भन्ने गुनासो होइन, इमान–स्वाभिमानमा कतै सम्झौता गरें भन्ने गुनासोमात्र हो

आफूले पढेका प्रसिद्ध कविहरूलाई भेट्नकै लागि धरानबाट काठमाडौं आएको कुरा लेख्नुभएको छ । जीवनमा तपाईंलाई प्रभाव पारेका अविस्मरणीय स्रष्टाहरू सम्झनुहुन्छ ?

रामायण, महाभारत, लेखनाथ र लक्ष्मीप्रसादका कविता आमाकै मुखबाट सुन्ने सौभाग्य पाएँ मैले । कविताको अन्तर्यले यति मोहित बनायो कि पछि त्यही प्रेरणाले कविहरू भेट्नकै लागि काठमाडौंसम्म आइपुगें ।

काठमाडौं आउँदा मलाई गीत लेख्ने, आफैं गाउने अनि गायक बन्ने ठूलो इरादा पनि थियो । तर, काठमाडौं आएपछि देखेँ, यहाँ त एक से एक कविको जगजगी र कविताको पो माहोल रहेछ ।

देवकोटा, बालकृष्ण सम, सिद्धिचरण, भूपी, वाशु शशीजस्ता कवि देखें । अनि गीत लेख्ने, गाउने रहर छाडेर दुई दशकसम्म कवितामात्र लेखें ।

मलाई धेरै मन पर्ने, मलाई मनको कुरा पोख्ने साहित्यकार बालकृष्ण सम हुनुहुन्थ्यो । काठमाडौं आएको भोलिपल्टै मैले उहाँलाई ज्ञानेश्वर पुगेर भेटेको थिएँ । यसपछि भटेको सिद्धिचरण श्रेष्ठ, जो काठमाडौं बाहिरबाट आउने मजस्तो केटोलाई स्नेह दिने सच्चा कविहृदयको मानिस हुनुहुन्थ्यो । समकालीनमा बासु शशी, बिजयबहादुर मल्ल, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारी, कृष्णहरि बरालहरु मन पर्छन् ।

तपाईं कठोर व्यंग्य कवि हुनुहुन्छ । आजको अस्तव्यस्तता र विद्रुप राजनीतिक नेतृत्व देख्दा कत्तिको रिस उठ्छ ?

भाषण गर्दा एउटै रगतको हुँ भन्ने, गरिबलाई हेर्नुपर्छ भन्ने नेता धेरै देखें मैले । भरे आफ्नोमात्र भुँडी भर्ने उनीहरूको चालासँग आजीवन वाक्क भएर नै मैले व्यंग्य विधा समातेको हुँ  । व्यंग्य गर्ने भनेको रवाफ हुने, शक्तिले मातिएकाहरूलाई हो । गरिब, दुःखी र फुटपाथमा सुत्नेलाई व्यंग्य गरेर के काम ? विचरा त्यसलाई त भाग्यले नै व्यंग्य गरिसक्यो ।

व्यंग्य पचाउन ठूलो आँट चाहिन्छ । अर्थात् ठूलो छाति चाहिन्छ । त्यस्तो मानिस नेपालमा छैनन् । र त व्यंग्यको निशानाले सकारात्मक दिशा लिन सकेको छैन ।

अन्त्यमा, कालीप्रसाद रिजाल आफ्नै विश्लेषणमा कस्तो मानिस हो ?

म कतै फिट नहुने मान्छे हुँ । जागिर नखाने पक्षको मान्छे थिएँ, जागिर खानै पर्यो । वकिल हुन चाहन्थें, त्यो पनि भइनँ । जागिरबाट अवकाशपछि कुनै संगठनमा आबद्ध भएको छैन  ।

म जे भएँ, त्यो परिस्थितिको बहावमा हुँदै आएँ । जे हुन चाहन्थें, त्यो भइनँ भन्ने गुनासो होइन, इमान–स्वाभिमानमा कतै सम्झौता गरें भन्ने गुनासोमात्र हो । खासमा, म सधैं जीवनको गतिमा प्रवाहित हुन रुचाउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment