Comments Add Comment

कविता : ईश्वरवल्लभकी आमाले आत्महत्या गरेको देशलाई तपाईं चिन्नुहुन्छ ?

युद्ध जितेर फर्किएको
भीम मल्ललाई काटेर
उनकी युवा रानीलाई घिसार्दै
बागमतीको चितामा पुर्‍याउने
हातहरू जन्माउने देश !

विष खुवाएर रानीको छोरालाई मारेको
दोष थुपारेर आत्महत्या गर्न
बाध्य पारिएका भीमसेन थापाको देश !
पराजित, सार्वभौम नागरिकको
नाक–कान काट्ने देश !

शैलेन्द्र साकार

बृहत् नेपालको लागि लड्ने
बहादुर शाहलाई अपमानित गर्ने देश !

स्वतन्त्र प्रेस चाहिन्छ भनी वकालत गर्ने
देवशमशेरलाई जिल्ला धपाउने
विद्रोही लखन थापालाई जिउँदै जलाउने
कवि गोपालप्रसाद रिमाललाई
बौलाहा बनाएर असमयमै मार्ने
देशलाई तपाईं चिन्नुहुन्छ ?

गोली ठोकेर युवा गंगालालको हत्या गर्ने
शुक्रराज जोशी र दशरथ चन्दलाई रूखमा झुण्ड्याउने
कृष्णलाल अधिकारीलाई जेलमा सडाउने
भोकभोकै महाकाव्य लेख्ने महाकविको भोको देश !
तपाईंले चिन्नुभएको छ ?

ईश्वरवल्लभकी आमाले आत्महत्या गरेको
देशलाई तपाईं चिन्नुहुन्छ ?
मैले त चिनिसकें,
तपाईं पनि चिन्नु चिन्नुहुन्छ ?

(साकारले २०३६ सालको ‘सडक कविता क्रान्ति’मा वाचन गरेको यो कविता त्यसपछि अहिले पहिलोपटक परिमार्जनसहित सार्वजनिक गरेका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment