Comments Add Comment
निबन्ध :

सुमधुर मदिरा : क्षणभङ्गुर मित्रता

खासमा यो शीर्षक नै उपयुक्त थिएन । म यसैको फन्कोमा र यसैको रन्कोमा केही लेख्छु भन्ने सोचर टाउकोमा शीर्षक लेखिहालें तर सुरुमा नै मलाई कताकता यसको सेरोफरोभन्दा बाहिर नै कलम खेलाउन मन लाग्यो । म प्रायः केही लेख्नुपर्दा विषय र परिधि चयन गर्छु, सन्दर्भहरूको टिपोट गर्छु र सिलसिलाको तन्तुहरूलाई मनभित्र खेलाउँछु । यति भए मेरो मानसिक कर्मकाण्ड सकिन्छ ।

टाउकोमा शीर्षक लेख्छु र लेख्न बस्छु । यसपटक यो शीर्षकमा यस्तै गर्न खोजेको हो तर ‘श्रीगणेश’मा नै मन विषयान्तरको दिशातर्फ दगुर्यो । म कहिलेकाहीँ विचारहरूतिर ध्यानस्थ हुन्छु । विचार उद्भवका तन्तुहरू खेलाउँछु । मैले विश्वका केही विचारहरूलाई पढें । प्लेटो, लुइल्वाँ र प्रुधोदेखि हेगेल तथा कार्ल मार्क्ससम्मका विचार र दर्शनलाई बुझ्ने कोशिश गरें तर खासमा केही पनि बुझिनँ ।

रेशम बिरही

यी सबैका चिन्तना मानिसहरूको दुःखहरणमा नै केन्द्रित थियो । कतिपय आम नागरिकलाई राजनीतिक स्वतन्त्रताबाट विमुख गराएर सुखको सपना देख्थे भने कतिपयले राजनीतिक स्वतन्त्रतालाई विचारको कठघरामा बन्धक बनाउन चाहन्थे । जसले जस्तो विचारको प्रतिपादन गरे पनि आखिर सबैजसो विचारहरू एकप्रकारले विस्थापित नै भए । दार्शनिक इतिहासको पानामा मात्र स्थापित भए, समाज र मानिसहरूको मनबाट विस्थापित भए ।

मैले काठमाडौंका गल्लीहरूमा चालीसको दशकका विख्यात पञ्चायतविरोधी पत्रकारहरूको भूमिगत नालीको दुलो कहाँ पुगेर टुङ्गियो भन्ने पनि थाहा पाएँ । कोइलीको आकृतिमा कागहरूको बथान पनि देखेँ ।

कार्ल मार्क्सको विचारले भने विश्वका दुईतिहाई मानिसलाई छोयो । तर अनुयायीहरूको आचारले गर्दा यसलाई पनि रक्षात्मक चरणतिर धकेल्यो । नेपाली माटोमा उम्रिएका मार्क्सवादका प्रयोगधर्मी अनुयायीहरूले त झन् एउटी कनकवदनी सुन्दरीले पहिरने जामाजस्तै बनाए ।

यहाँनेर फेरि आफ्नै सातो उड्ने प्रसंग आयो । महिलालाई सौन्दर्यभोग्याको रूपमा उदाहरणयोग्य बनाएर यो लेखकले महिलामाथि अन्याय गर्यो भन्ने आरोप लाग्ला भन्ने डर छ । त्यसैले म प्रस्तुत उदाहरणलाई उल्ट्याउन चाहन्छु । एउटा बलिस्टाङ्ग सुडौल बाहु, सुन्दर चेहरा र धुङ्ग्रिएको कपाल भएका दैख्दैमा च्वाप्पै म्वाई खाउँजस्तो युवा अथवा तन्नेरीजस्तै बन्यो मार्क्सवाद ।

बैंसभरि झुत्ती खेल्ने, बैंस निखारेर वृत्ति खेल्ने अवसरमा लम्पसार पर्‍यो  विचार धार । बेलायतको चार्चिस्ट आन्दोलन र नेपालको मार्क्ससिस्ट  विचारको ग्रहदशा एउटै समवेत पिण्डरेखामा सुत्यो । जनता र नेताबीचको सम्बन्ध मदिरा पिउन्जेलको मधुरता र विद्रोही चेतको एकताजस्तो हुन पुग्यो । जब कि भोलि बिहान उज्यालो हुँदा साँझको मित्रता क्षणभंगुर हुन पुग्छ ।

म कहिलेकाहीँ विचार गर्छु, विचार कहाँबाट आउँछ र कुन आचारमा गएर थुप्रन्छ ? मन–मस्तिष्कबाट उम्रने विचारको घनत्व मानिसहरूको सरसंगतमा कस्तो आकार र प्रभावमा थुप्रन्छ भन्ने कुरा स्वयमांई थाहा भएन भने विचारको अर्थ के रह्यो र ?

नेपालको राजनीतिक फाँटमा मैले केही वैचारिक नेताहरूको संसर्गमा केही सिक्ने मौका पाएको छु । महामानव पदावलीले विभूषित विपी कोइरालादेखि मनमोहन, पुष्पलाल, निर्मल लामालगायत अन्य केहीलाई मैले नजिकबाट चिनें अर्थात् उनीहरूको विचारका तन्तुहरू सामान्यतया बुझेँ । प्रभावको अर्थमा भने पुष्पलाल जतिको सरल र वैचारिक कठोरता सायदै अरूमा देखेँ ।

विपी कोइरालालाई भने मैले आफ्नो परिवेशको मौलोबाट उम्कन दिइनँ । लामो कालखण्डसम्म म उनको सानदार जीवनशैली र ओजनदार विचार प्रवाहको मूक अध्येतामात्र भएँ । जिल्लातिरका समवयी र कनिष्ट मार्क्ससिस्टहरूको अहिलेको उधुमले भने सास फेर्न कठिन बनाउँदै गएको छ । कतिपयको विधि–व्यवहार प्रुधोको जस्तो देखेँ भने कतिपयको विचार टलक्क टल्कने सेतो मयलपोसमा मसी छर्किएजस्तो छ्याकरे देखेँ ।

राजनीतिका अतिरिक्त समाजसेवा, पत्रकारिता र साहित्यको बजारमा पनि विचारका अनेक बहस र तर्कहरू सुनेको छु । ‘कमाउ पत्रकारिता’ र ‘गुमाउ पत्रकारिता’ बीचको दशगजामा उभिएर हेर्दामात्र पत्रकारिताको असली अनुहार देखिएको रहेछ ।

मैले राजधानी सहर काठमाडौंका गल्लीहरूमा चालीसको दशकका विख्यात पञ्चायत विरोधी पत्रकारहरूको भूमिगत नालीको दुलो कहाँ पुगेर टुङ्गियो भन्ने पनि थाहा पाएँ । कोइलीको आकृतिमा कागहरूको बथान पनि देखेँ । पाइन्टका दुई पकेटमा हात राखेर पिपलबोट पुग्ने र कहिले दाहिने हात मिलाउने, कहिले देब्रे हात मिलाउने र आँखाचाहिँ नारायणहिटीतिर झिम्क्याउनेहरूको लिलाको बयान गर्दा हजार जिब्रा भएको शेषनागको जस्तै लाग्छ ।

अहिले पनि फुलेको कपाल र मदिराले झुलेको अनुहारमा पत्रकारिताको मादकता भयानकसँग छचल्किएको देखिँदैछ । यसमा मेरो अनुभवको सिङ्गो पहाड अभिमन्युको मृत्युजस्तै हो । महाभारतको चक्रव्यूह र अहिलेको मानिसबीचको ‘ग्रयाण्ड डिजाइन’ उस्तै–उस्तै हो । यही परिलक्षित र आयातीत डिजाइनमा नाचेको नेपाली राजनीतिको सोह्र–श्रृङ्गारले युक्त युवतीजस्तै, नेपाली पत्रकारिता !

म धुकचुक मान्दै पुकारिने एउटा कवि र लेखक पनि हुँ । तर मलाई आफूले नेपाली साहित्यमा महाभारत जितेजस्तै अहम् र दम्भ छ । मेरा केही अनुयायी र प्रसंशक छन् । उनीहरूको प्रसंशाको आत्मरतिमा उखरमाउलो ढंगले रतिकर्म र मदिरा धर्मतिर उन्मुख हुन्छु । घामले कोल्टो फेर्दै गएपछि मोबाइल फोन मेरो हातमा नाच्न थाल्छ । नम्बरहरू बुर्कुसी मार्छन् । म सबैभन्दा सोझो र बेबकुफ नम्बर थिच्छु र भट्टीतिर पस्छु ।

विचारको आड लागेपछि नाथे आचारको के डर ? ‘बडाले जे गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत’ लेखनाथले हामीलाई र वर्तमानलाई बुझेरै लेखिदिएका हुन् यो कविता ।

म : ‘तिमी भयानक शक्तिशाली कवि हौ !’

ऊ : (ऊ रनभुल्लमा पर्छ र गदगद हुन्छ ।)

म : ‘तिमीलाई शिखरमा पुर्‍याउनु मेरो पहिलो कर्तव्य हो ।’

ऊ : (ऊ बसिरहेको ठाँउबाट जुरुक्क उठ्छ र आफ्नो उचाइ नाप्छ )

म : ‘तिम्रो फलानो कृतिले त सबैलाई खर्लप्पै निल्यो ।’

ऊ : (ऊ चारैतिर आँखा डुलाउँछ र भट्टीका टेबलहरूमा भुसुनामात्र देख्छ ।)

म : ‘एउटा अर्को थप्ने कि ?’

ऊ : (ऊ भट्टीका वेटरलाई ‘ए फुच्चे !’ भन्दै हकारेर बोलाउँछ ।)

म : ‘अखबरका सबै साहित्यिक पृष्ठहरू तिम्रा हुन्छन् ।’

ऊ : (ऊ पकेटबाट मोबाइल निकाल्छ र पत्नीलाई हकार्दै भन्छ, ‘भोलिदेखि पत्रिका किनेर पढ्ने गर् ।’)

उसले मलाई बोकेर ट्याक्सीमा हाल्यो र पैसा तिर्‍यो । घर पुगेको याद भएन तर केही चड्कन भने याद आयो । कति चड्कन भयो त्योचाहिँ बिर्सिएँ । रातिको चड्कनले दैनिकी साध्य भएन । बिहान खोमारीको झोंकमा ‘हस्तप्रयास’मा थिएँ, साँझको महान कविको फोन आयो ।

‘हजुर नमस्ते !’

(मैले रेडिमेड, ‘आइ विल कल ब्याक’ थिचिदिएँ । )

अर्को साँझ भनें– म तिमीले फोन गर्दा अत्यन्त बिजी थिएँ । गर्छु भन्दाभन्दै अरूहरूको सयौं फोन आएर हैरान पार्‍यो । अलिकति ठूलो मानिस हुनु पनि दिक्कलाग्दो हुन्छ कहिले त !’ उसलाई यसरी सफाइ दिएर हौस्याएँ । हाम्रो नित्यकर्म सुरु भयो र उसले आफ्नो निमुखो आशाले नित्यकर्म पूरा गर्यो र सकियो ।

म एउटा वैचारिक कवि हुँ । म विश्व हल्लाउने विचारको आडमा छु । यही आडमा भएकोले मलाई कसैले हल्लाउन पनि सक्दैन ।

त्यत्ति एउटा साँझको कहिले त बिहान र दिउँसो पनि हल्लाइदिने तत्त्वसँग मलाई रत्तिभर डर छैन । विचारको आड लागेपछि नाथे आचारको के डर ? ‘बडाले जे गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत’ लेखनाथले हामीलाई र वर्तमानलाई बुझेरै लेखिदिएका हुन् यो कविता । यही कविताको पंक्तिको रमितामा म आफ्नो भविष्य देख्छु ।

मेरो अटुट नियमित प्रक्रियामा पात्र र प्रवृत्तिहरू फेरिँदै जान्छन् । म कविमात्र होइन अन्य विधाहरूको पनि गहिरो पारखी हुँ ।

मसँग अनेक विधाका लाल बुझक्कड लेखकहरूको औत्सुकीय हिप्नोटिजम छ । पहुँच र प्रयोगमा मेरो कलाकारिताका हरिशचन्द्रलाई वशिभूत पार्ने मेनुकाको जस्तै छ । मेरा लेखनको औकात र तागत मलाईमात्र थाहा छ । भन्नलाई त म भनिदिन्छु– ‘परिवर्तनकामी जोडदार कलम नै परिवर्तनको सम्वाहक हो ।’

तर मेरो कलमले केही लछारपाटो लगाएको छैन भन्ने रहस्यको चुरो मलाई मात्र थाहा छ । जसको कलमको तागतले आमूल परिवर्तनमा सघायो म उसैको आडमा अथवा पंक्तिमा जोडिएकोले नै मैले लेखेका नारा र तुकबन्दीहरू एउटै खान्दानीका साबित भए र म पनि धरानिया कवि ठहरिएँ ।

आजकल त समय अति उग्र हुन थालेको छ । नयाँ–नयाँ चैतन्यधारीहरूको अविष्कार हुँदैछ । मलाई कहिलेकाहीँ भित्रभित्र डर लाग्छ– ‘कतै मलाई आफ्नै विचारले त रोक्ने होइन ? कतै आफ्नै हर्कतको हथौडाले त ठोक्ने होइन ? ममा यस्ता दुःस्वप्नहरू आउन थालेको छ । विचारलाई पोशाक बनाउनुको परिणति पोशाक उतारिदियो भने थाहा हुन्छ । मभित्र पोशाकले छोपिएका कति अस्थिपञ्जर कुरूप विचारहरू छन् ।

एक साँझ म नियमित खेलखण्डबाट निवृत्त भएर घर पुगेँ । उही हविगत र उही बेहोसीमा कुनबेला निदाएँ, थाहा पाइएन ।

–‘नखोल, मेरो पोशाक नखोल ! छोप्नदेऊ मेरो अस्थिपञ्जर सत्य शरीर ।’ बिहानपख म यसो भन्दै बर्बराएछु ।

–‘अझै छोड्या छैन, कुकुरको झोलले ?’ पत्नीले यसो भन्दै ओढिरहेको सिरक फालिदिइन् ।

–‘जसको सिता खाई, उसैको गीत गाई : ‘प्लिज नफालिदेऊ मेरो अनुहार छोप्ने कालो पर्दा’ मैले यति भनेर फेरि सिरकले मुख छोपें ।

विचरा निमुखो एउटा कविसँगको सुमधुर मदिरापानको मित्रता भोलिपल्टको खोमारीसँगै क्षणभङ्गुर टुङ्गिन्छ । विचारको भञ्ज्याङहरूमा पनि म यस्तै रीति र थिति देख्छु । सडकमा उतारुन्जेल सुमधुर हुन्छ जनसाख, त्यसको औचित्य सकिएपछि समाप्त हुन्छ विश्वास र आस्थाको भर्‍याङ !!!

(रामपुर, चितवन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment