+
+

अबको पत्रकारिता : प्रारम्भिक बयान

प्रविधिको घेराबन्दीमा परेको पत्रकारिताले कसरी बाँकी चुनौतीको सामना गर्न सक्छ ? ‘डेमागग्’ प्रवृत्तिले लोकतन्त्रको उछित्तो काढ्न सफल हुँदै जाँदा अभिव्यक्तिको स्वतन्त्रता, लोकतन्त्रको पहरेदार मार्ग चित्र कोर्न सक्नु नै अबको पत्रकारिताको मूल बाटो हो ।     

भवानी बराल भवानी बराल
२०८१ माघ १२ गते १२:३८

‘अबको पत्रकारिता कस्तो हुनुपर्छ ?’ यो विषयको हल खोज्नु चानचुने कुरा होइन । एउटा बसाइ र एउटा लेखोटले र्‍याङ्काठ्याङ यस्तो हुनुपर्छ भन्ने विषय नै होइन । यद्यपि तत्वबोधका लागि यहाँ एकाध जिज्ञासा उठाउने प्रयत्नसम्म गरिएको छ ।

सूचनाप्रविधिको अभूतपूर्व विकासले अबको पत्रकारिताको रूपरेखा नै परिवर्तनको किनारामा पुर्‍याइदिएको छ । परम्परागत ढंगले अबको पत्रकारिताले लक्ष्य भेदन गर्न सक्दैन । सूचनाप्रविधि र पत्रकारिताको गहन सम्बद्धता नै अबको पत्रकारिता हुनेछ ।

सूचनाप्रविधिको विकासले पत्रकारिताको तकनिकी विकासमा महत्वपूर्ण भूमिका खेलेको छ नै । यसका अतिरिक्त सूचना सञ्चार, विषयवस्तुको सञ्चार व्यवस्थापनमा पनि व्यापक फेरबदल ल्याउनेछ, ल्याउन थालेको छ । यो तकनिकी विकाससँगै पत्रकारिताको अवधारणा यस्तै हुनुपर्छ भन्ने कुनै ढंगको रूपरेखा आउन सकेको छैन । यसैले अबको पत्रकारिताले वैश्विक विमर्श र बहसको माग गर्दछ ।

प्रविधि युगीन पत्रकारिता

उच्च प्रविधिको युगमा पत्रकारिता कसरी जोगाउने, कसरी विकसित तुल्याउने या अबको पत्रकारिता कस्तो हुनुपर्छ भन्ने विषय विमर्शको निष्कर्ष अहिलेसम्म आएको छैन । टुङ्गोमा पुग्न यस्तो पत्रकारिताको व्यापक चिन्तन, बहस केन्द्रित गर्न सक्नुपर्छ । तब मात्र ‘वादे वादे जायते तत्व बोधः’ हुनेछ ।

यतिखेर त आउने पत्रकारिताको प्रारम्भिक विषय नै केन्द्रित छ । अभ्यासको हैसियतमा पुगेकै छैन । तर पनि पत्रकारिताका अध्येताहरूले विभिन्न फोरममा यो विषयको चर्चा प्रारम्भ गर्दै आएका छन् । सन् २०२३ मा हिमालमिडिया मेलामा डिजिटल युगमा पत्रकारिता कसरी जोगाउने विषयमा गम्भीर विमर्श भएको थियो ।

यही विषयमा ‘प्लाइस मिडिया, सिङ्गापुर’का सह–संस्थापक रिसद पटेलले विषयमाथि गम्भीरतापूर्वक विचार प्रवाह गरेका थिए । ‘डिजिटल युगमा पत्रकारिताको शक्ति जोगाउन मिडिया सञ्चालनको रणनीति फेर्नुपर्ने’ पटेलको धारणा थियो । उनले भनेका थिए, ‘मानिसहरूसँग कुरा गर्नु, उनीहरूको समस्या सुन्नु र समाधान गर्ने सामग्री पस्कनुले पत्रकारितालाई व्यावसायिक रूपमा जोगाउन सक्छ ।’

नेपाली पत्रकारिताका अध्येताहरूले पनि प्रविधि युगीन पत्रकारिता कसरी गर्ने विषयको बहस प्रारम्भ गर्न सुरु गरेका छन् । पत्रकारिताका अध्येता श्रीराम पौडेलले ‘सुविधाजनक र आरामदायी पत्रकारिता’ (गोरखापत्र, २४ वैशाख २०७९) शीर्षकमा लामै बहस छेडेका छन् ।

प्रविधिको विकाससँगै पत्रकारिता गर्न सुविधाजनक र आरामदायक भएकोले पाठकले नयाँ सुरुचिपूर्ण खुराक नपाएकोले पाठक, श्रोताको आकर्षण घटेको उनले जिकिर गरेका छन् । विषयवस्तु पठनीय र गम्भीर नभएकोले आजको पत्रकारितामा पाठक, श्रोता कमै विचरण गर्न पुगेका छन् ।

प्रविधिको घेराबन्दीमा पत्रकारिता

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ‘प्रविधिको घेराबन्दीमा पत्रकारिता’ (जर्नालिजम अण्डर डिजिटल सिज) ‘थिम’ (नारा) तय गरेको थियो । विश्वभरिको पत्रकारिता प्रविधिको घेराबन्दीमा परिसकेको यो थिमको अन्तर्य हो ।

यो थिममा गम्भीर बहस आजपर्यन्त हुनसकेको छैन । अबको पत्रकारिताको मार्गचित्र पत्रकारितालाई प्रविधिको घेराबन्दीबाट उम्काउने, बचाउने हुनुपर्छ । प्रविधि साधन हो, साध्य होइन भन्ने मान्यतालाई आत्मसात् गराउनुपर्छ । यसका लागि गम्भीर, पठनीय र संग्रहणीय सामग्री उत्पादन, प्रकाशन–प्रसारणले मात्र अबको पत्रकारिताको विश्वसनीयता पुनस्र्थापित गर्न सक्छ ।

यसका लागि सिर्जना शक्तिको व्यापक उपयोग गरेर पत्रकारितामा विषयवस्तु प्रस्तुत गर्न सक्नुपर्छ । अन्यथा प्रविधिको घेराबन्दीमा पत्रकारिता पुगिसकेको छ, विस्फोटनको स्थितिमा पुग्यो भने पत्रकारिताको हालत के होला ?

तर युनेस्कोले त्यसको ठीक एक वर्ष पछाडि सन् २०२३ मा ‘भविष्यको अधिकार निर्माण गर्न’ शीर्षकको अर्को थिम ल्यायो । सन् २०२४ मा ‘ब्रह्माण्डको लागि प्रेस’ थिम ल्यायो । सन् २०२५ मेमा कस्तो थिम लिएर आउने हो हेर्न बाँकी नै छ । यसरी प्रत्येक वर्ष सूचनाप्रविधिमा आएको फेरबदल र नयाँ आविष्कारले पत्रकारिताको परिभाषा, यसको उपयोगिता र कर्मलाई पार्ने प्रभाव मूल्याङ्कन गर्न जरूरी छ ।

पत्रकारितामा सिटिजन र सिभिक

पत्रकारिता शिक्षामा ‘सिटिजन’ (नागरिक) पत्रकारिता र ‘सिभिक’ (नागरिक) पत्रकारिता शब्दावली प्रयोग हुँदै आएको छ । नेपाली भर्नाकुलर भाषामा दुवै पत्रकारिता शब्द अर्थमा एकै लाग्न सक्छ । तर यी दुई शब्दावलीको व्यापक र भिन्न अर्थ हुन्छ ।

नागरिकले आफूलाई लागेको सूचना, सन्देश, अभिव्यक्ति आफैंले प्रकाशन–प्रसारण गर्नुलाई सिटिजन (नागरिक) पत्रकारिता भनिन्छ । सामाजिक सञ्जाल सिटिजन (नागरिक) पत्रकारिताका साधन हुन् । ट्विटर, फेसबुक, टिकटक, युट्युब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालको सहयोगमा हुने नागरिकका अभिव्यक्ति यसका उदाहरण हुन् ।

पत्रकारिताको दक्ष जनशक्तिले गर्ने पत्रकारिता सिभिक (नागरिक) पत्रकारिता हो । आमसञ्चारका माध्यम अखबार, रेडियो, टेलिभिजन, अनलाइन पोर्टल यसका माध्यम वा साधन हुन् । पहिलो सिटिजन पत्रकारिता स्वेच्छिक र व्यक्तिगत हुन्छ ।

दोस्रो सिभिक पत्रकारिता स्वेच्छिक र ऐच्छिक हुन सक्दैन । दुवै पत्रकारिता नागरिकसँग सम्बन्धित नै हुन्छ । तर पछिल्लो सिभिक पत्रकारिताले सर्वजन हिताय सोच्दछ । यसर्थ सिभिक पत्रकारिताले अबको पत्रकारिताको प्रस्थानबिन्दु पहिल्याउन सक्नुपर्छ ।

तर यतिखेर नागरिक पत्रकारिताको माध्यम सामाजिक सञ्जाल पूरै पत्रकारितामा हावी भएको छ । प्रविधिको घेराबन्दीमा पत्रकारिता परेको भनेको यही हो । यो चुनौतीलाई पार लगाउनुपर्छ । सूचनाप्रविधिको तकनिकी उपयोग पत्रकारिता जोगाउनु र फस्टाउनुपर्छ ।

रहलपहल

सूचनाप्रविधिको द्रुत विकासलाई चौथो औद्योगिक क्रान्तिको रूपमा पनि लिइन्छ । यो क्रान्ति पछि ब्रह्माण्डका हरेक क्षेत्र र विधामा प्याराडाइम सिफ्ट (प्रतिमान परिवर्तन) भएको छ । दर्शन, राजनीति, सिद्धान्त, वैचारिक सवालहरू परिमार्जन, परिष्कृत गर्ने बेला भएको छ ।

राजनीतिक क्षेत्रका वैचारिकीमा आएको संकटका कारण यतिखेर ‘डेमागग्’ (लोकरिझ्याइँ), ‘छद्म राज्य’, कथित नयाँ विश्व व्यवस्था आदि प्रवृत्तिको आयतन बढ्दै गएको छ । हाम्रै देशको राष्ट्रिय राजनीतिमा पनि यस्ता प्रवृत्तिहरूको उपस्थिति भइसकेको छ । यसले गम्भीर राजनैतिक वैचारिकीलाई काकतालीमा पारेर परास्त गर्न सक्छ । यसकारण गम्भीर जनमत निर्माण गर्ने हेतु अबको पत्रकारितामा हुनुपर्छ ।

यसर्थ अबको पत्रकारिता कस्तो हुनुपर्छ भन्ने विषय गम्भीर र विहंगम एवम् विराट छलफलको विषय हो । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टलिजेन्स, एआई) का कारण पनि पत्रकारिताको अबको यात्रा नयाँ तर चुनौतीपूर्ण यात्रा हो । पत्रकारिताको रणनीति, कार्यनीति निर्माण आजको अत्यावश्यक विमर्श हो ।

अबको पत्रकारिता गम्भीर, पठनीय, सुरुचिपूर्ण र संग्रहणीय सामग्री उत्पादन गर्ने हदको हुनुपर्छ । जनरुचि, सार्वजनिक सरोकार, विश्वासयोग्य विषय, दिशानिर्देश र तदनुकूल जनमत निर्माण गर्न सक्षम हुनुपर्छ । पत्रकारिताको कार्यसूची, मार्गचित्र के हुने खुट्याउन सक्नुपर्छ । लक्षित समूह, पाठक, श्रोता, दर्शकको विचारको वाहक हुनुपर्छ ।

प्रविधिको घेराबन्दीमा परेको पत्रकारिताले कसरी बाँकी चुनौतीको सामना गर्न सक्छ ? लोकतन्त्रको रक्षा अर्ध–मूर्छित वा घेराबन्दीमा परेको पत्रकारिताले गर्न सक्दैन । अहिले यस्तै भइरहेको छ । ‘डेमागग्’ प्रवृत्तिले लोकतन्त्रको उछित्तो काढ्न सफल हुँदै गएको यसै कारणले हो । विचार अभिव्यक्तिको स्वतन्त्रता, लोकतन्त्रको पहरेदार पत्रकारिताको मार्ग चित्र कोर्न सक्नु नै अबको पत्रकारिताको मूल बाटो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?