+
+
फिल्म :

४० वर्षपछि भेटिएको कथा : चेस अफ द विन्ड

‘चेस अफ द विन्ड’ केवल फिल्म मात्र होइन, एउटा सामाजिक दस्तावेज हो। यसले बोकेको जटिल-प्रयोगात्मक कथावस्तु, गहिरो दृश्यात्मक भाषा, समयातीत सन्देश, उच्च कलात्मक निर्देशन र यथार्थपरक समाजशास्त्रीय दृष्टिकोणले गर्दा यो फिल्म इरानमा मात्र नभएर विश्व सिनेमाको इतिहासमा समेत विशेष र महत्वपूर्ण स्थानमा रहेको छ। 

ऋतेश ऋतेश
२०८१ माघ ५ गते १३:१६

वर्ष सन् १९७९…। हजारौं वर्ष पुरानो इरानको शाही शासन समाप्त भई इस्लामी गणतन्त्र स्थापना भएको वर्ष। त्यसको दुई वर्षअघि अर्थात् सन् १९७७ बाट बुद्धिजीवी, विद्यार्थी तथा विपक्षी समूहले मानवअधिकारको हनन्, भ्रष्टाचार र असमानता विरुद्ध शाहको अधिनायकवादी शासनलाई विरोध गर्न थालेका थिए। उक्त विरोध विस्तारै जनआन्दोलनमा परिणत हुँदैगयो, जहाँ मजदुर, किसान, व्यापारी, महिला तथा धार्मिक नेताहरू मिसिन थाले। सरकारले उनीहरूको प्रदर्शनमाथि बल प्रयोग गरेपछि विरोधले झनै विकराल रूप लिंदै गयो। अन्तत: १६ जनवरी, १९७९ मा शाही शासनका अन्तिम राजा ‘मोहम्मद रेजा शाह पहलवी’ देश छाड्न बाध्य भए।

गणतन्त्र ल्याउन गरिएको उक्त जनआन्दोलनलाई ‘इरानी इस्लामी क्रान्ति’ भनेर पनि भनिन्छ। त्यस ऐतिहासिक घटनाले देशका राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनाहरूमा परिवर्तन लिएर आउन थाल्यो। इस्लामी शासन पनि विस्तारै शाह शासन जस्तै निरंकुश बन्दै जान थाल्यो। त्यसले आफ्ना विपक्षीलाई दमन गर्न थाल्यो। उनीहरूको राजनीतिक स्वतन्त्रता हनन् हुन थाल्यो, जसले गर्दा समाजमा दमन, अस्थिरता र विभाजन क्रमश: बढ्दै जान थाले।

१९७९ को इस्लामी क्रान्तिपछि इरानमा कला र संस्कृतिलाई झन् कडा नियन्त्रणको अधीनमा राख्न थालियो। नयाँ नेतृत्वको इस्लामी सरकारले कलालाई आफ्नो धार्मिक, सांस्कृतिक र राजनीतिक आदर्शअनुसार सीमितता तथा नियन्त्रणमा राख्ने नीति अपनायो, जसले सिनेमा, संगीत, चित्रकला, साहित्य र रंगमञ्चलाई गहिरोसँग प्रभाव पार्‍यो। सिनेमा नै इरानमा क्रान्तिपछिको सबैभन्दा प्रभावित भएको कलाको क्षेत्र बन्न पुग्यो, किनभने सिनेमालाई जनतामा ठूलो प्रभाव पार्न सक्ने असरदार माध्यम मानिन्थ्यो/मानिन्छ। पर्दामा महिलाहरूलाई अनिवार्य रूपमा ‘हिजाब’ लगाउनुपर्ने नियम लागू गरियो, महिला-पुरुष बीचको कुनै पनि शारीरिक सम्पर्कलाई प्रतिबन्धित गरियो, महिलाहरूको स्वतन्त्रता र सशक्तीकरण देखाउने कथावस्तुहरूलाई अस्वीकार्य ठानियो। प्रेम, व्यक्तिगत स्वतन्त्रता र राजनीतिक आलोचनाका विषयहरूलाई सेन्सर गरिन थालियो। फिल्महरूले आफ्नो कथामा इस्लामी नैतिकता र क्रान्तिको आदर्श झल्काउनुपर्ने अनिवार्यता लागू गरियो। त्यति मात्रै नभएर नयाँ नेतृत्वले विदेशी फिल्महरूको आयातमा समेत कडा नियन्त्रण गर्न थाल्यो।

फिल्म निर्देशकहरूले धार्मिक आस्थालाई कुनै पनि प्रकार अथवा रूपमा चुनौती दिन पाउँदैनथे। इस्लामी क्रान्तिपछि इरानमा बदलिएको राजनीतिक, धार्मिक र सांस्कृतिक नीतिका कारण सेन्सरसिपको शिकार थुप्रै फिल्म, कलाकार तथा निर्देशकहरू भए। क्रान्तिपछि या अघि बनेका थुप्रै फिल्म तथा निर्देशकहरू प्रतिबन्धमा परे। केही कलाकारहरू जेल परे, केहीले देश छोड्न बाध्य भए।

क्रान्तिपछिका वर्षहरूमा फरक राजनीतिक दृष्टिकोण र सरकारबाट अनैतिक ठहर भएकै कारण ‘जफर पनाही’, ‘मोर्सेदेख आघेली’, ‘डारियुश मेहरजुई’जस्ता निर्देशकहरू पटक-पटक हिरासतमा परे। सरकारको आलोचनात्मक फिल्महरू बनाएको भन्दै ‘सोजा एडिल’, ‘परिस बनाई’, ‘नासिर ताकवा’जस्ता निर्देशकहरू देश छोड्न बाध्य भए। फिल्ममा वर्गीय असमानता, भ्रष्टाचार, सामाजिक विघटन, महिला पात्रहरूको प्रस्तुति आदिले गर्दा ‘द काउ’, ‘द डियर’, ‘द रिपोर्ट’, ‘स्टिल लाइफ’जस्ता फिल्महरू प्रतिबन्धित भए।

सरकारबाट इस्लामी मूल्य र आदर्शलाई संरक्षण गर्नका निमित्त कला र संस्कृतिमाथि कडा नियन्त्रण गरिएको थियो, तर त्यसले व्यक्तिगत स्वतन्त्रता र कलात्मक अभिव्यक्तिलाई गम्भीर रूपमा सीमित पार्दै लगिरहेको थियो। क्रान्तिपछि इरानी सिनेमामा व्यापक रूपमा परिवर्तन आएको थियो। तर, एक प्रकारले ती प्रतिबन्धहरूले अन्तर्राष्ट्रियस्तरमा इरानी सिनेमालाई परिचित गराउँदै लिएर जान थाल्यो। त्यसपछि ती सीमा र प्रतिबन्धहरूको बावजुद पनि केही इरानी कलाकार तथा निर्देशकहरूले भूमिगत रूपमा वा निर्वासनमा बसेर कलाको माध्यमबाट आफ्नो सन्देश दिन थाले/दिइरहेका छन्। त्यसले पनि प्रमाणित गरिरहेको छ, कलालाई कहिल्यै कसैले पनि आफ्नो नियन्त्रणमा राख्न सक्दैनन्।

वर्गीय शक्ति संघर्ष, महिला पात्रहरूको शक्तिशाली प्रस्तुति र पितृसत्तात्मक संरचनाको आलोचना प्रस्तुत गरेको भन्दै इस्लामी सरकारले फिल्म ‘चेस अफ द विन्ड’लाई पनि प्रतिबन्ध लगाएको थियो। ‘मोहम्मद रजा अस्लानी’ले निर्देशन गरेको फिल्म तत्कालीन इरानी समाजको वर्गीय संरचना, महिला अधिकार र पारिवारिक राजनीति जस्ता विषयमा आधारित रहेको छ। फिल्म इरानको राजशाही समयमा निर्माण भएको थियो। फिल्मले सामाजिक परिवर्तन र वर्गीय संघर्षको विम्ब प्रस्तुत गरेको कारण सरकारले यसलाई खतरा ठानेको थियो। त्यसैले ‘चेस अफ द विन्ड’लाई ‘अनैतिक’ र ‘सामाजिक मूल्यहरूको विरोधी’ भन्दै त्यसका धेरैजसो प्रतिहरू जफत गरियो, केही प्रिन्ट इस्लामिक क्रान्तिपछिको समयमा नष्ट भए। त्यसपछि फिल्म सधैंका निमित्त हराएको मानियो।

फिल्मले इरानमा हुने सम्पत्तिको संघर्ष र परिवारभित्रको गुटबन्दीलाई देखाउँछ। कथामा एक धनी परिवारको प्रमुख महिलाको मृत्युपछि सम्पत्तिको स्वामित्वको लागि परिवारभित्र अन्य सदस्यहरूबीच संघर्ष सुरू हुन्छ। फिल्मका पात्रहरूको स्वार्थ, षड्यन्त्र र हिंसाले समाजको पितृसत्तात्मक संरचना, महिला दमन र वर्गीय विभाजनलाई मज्जासँग चित्रण गरेका छन्। फिल्ममा प्रयोग भएका छायाँ, रंग र स्थिरताले पात्रहरूको आन्तरिक संघर्ष र दमन साथै हिजो र आजको समय बीचको भिन्नतालाई प्रतीकात्मक रूपले प्रस्तुत गरेका छन्।

 

कथा घरभित्र जमिरहेको हुँदा घर पनि आफैंमा एउटा प्रमुख पात्र झैं प्रतीत हुन्छ, जहाँ पात्रका रहस्यमयता र अस्थिरता प्रतिबिम्बित भएका छन्। आफ्नो आमा (घरको प्रमुख महिला) को मृत्युपछि छोरी ‘अघदास’ दु:खमा डुब्छिन्। उनी अशक्त छिन्। उनी त्यस ठूलो घरमा आफ्नी आमाको विधुर ‘हाजी आमू’ र उनका दुई भतिजाहरू ‘रमजान’ र ‘शाबान’सँगै बस्न थाल्छिन्। रमजानको अघदाससँग बिहे तय भइसकेको छ, तर उसलाई अघदासप्रति नभएर केवल उनको सम्पत्तिप्रति चासो छ।

अघदासको हेरचाहमा उनकी नोकर्नी ‘कनिजक’ छिन्, जसको शाबानसँग पनि राम्रो मित्रता रहेको छ। फिल्ममा अघदास र हाजी आमूको इतिहास बताउन धोबीघाटमा धोबिनीहरूको कुराकानीलाई बीच-बीचमा देखाइन्छ। उनीहरू दुवैलाई लाग्छ, घरको एकमात्र हकदार उनीहरू हुन्। एक प्रकारले उनीहरूबीच सम्पत्तिको लागि संघर्ष र षड्यन्त्र हुन थाल्छ। त्यसैको परिणामस्वरूप अघदासले हाजी आमूको नाममा रहेको घरको कागजात सबै जलाइदिन्छन्। उनले हाजी आमूलाई मार्ने योजना पनि बनाउँछिन्, जसमा उनले आफ्नी नोकर्नी र रमजानलाई सामेल गर्छिन्। उनीहरू मिलेर हाजी आमूलाई मार्छन् र उसको शरीरलाई घरको छिंडीमा लुकाएर राख्छन्।

केही दिनपछि, हाजी आमूका केही ऋणदाताहरू प्रहरी सहित घरमा पैसा असुल्न आइपुग्छन्। अघदासले हाजी आमूलाई धेरै दिनदेखि नदेखेको दाबी गर्छिन्, तर प्रहरीले उनलाई केही समयअघि सडकमा देखेको बताउँछन्। त्यो सुनेर अघदास झस्किन्छिन्। उनी विस्तारै भय र मानसिक पीडामा डुब्दै जान्छिन्। एउटा घुमन्ते सांगीतिक समूहले हाजी आमूलाई सार्वजनिक रूपमा देखेको दाबी गरेपछि उनी झन् भयभीत भएर बिरामी पर्छिन्। यसरी उनी आफूले बुनेको जालमा आफैं अल्झिंदै जान्छिन्। फिल्मले एकपछि अर्को गर्दै रहस्यका थुप्रै पत्रहरू उप्काउँदै लैजान्छ।

फिल्मको कथाले पितृसत्तात्मक व्यवस्थाले महिलामाथि गर्ने हिंसा, उनीहरूको सम्पत्तिको अधिकारप्रतिको द्वेष र त्यसले निम्त्याउने अन्यायलाई मजेदार रूपले उजागर गरेको छ। फिल्ममा अशक्त महिला ‘अघदास’लाई सम्पूर्ण महिलाहरूको आर्थिक र सामाजिक स्वतन्त्रताको प्रतीकको रूपमा देखाइएको छ, जसले आफ्नो विरुद्धको षड्यन्त्रसँग जुध्ने कोसिस गरेकी छिन्।

‘चेस अफ द विन्ड’ले कलात्मक र राजनीतिक मर्मलाई आफूभित्र राम्रोसँग अटाएको छ। यसले दमनकारी समाजमा आवाजविहीनहरूको कथा भन्ने प्रयास गरेको छ। इरानमा जब यो फिल्म प्रदर्शन भएको थियो, यसले अत्यन्त नकारात्मक प्रतिक्रिया पाएको थियो। त्यसबेलाका दर्शक र समीक्षकहरूले यसलाई त्यति धेरै रूचाएका थिएनन्। सायद फिल्मको शैली र कथावस्तु गहिरो र प्रतीकात्मक भएको हुँदा त्यस समयका दर्शकहरूले राम्रोसँग बुझेनन्। उनीहरू यस्तो प्रयोगात्मक तथा कलात्मक फिल्मका लागि तयार थिएनन्। फिल्मको सुस्त गति, सांकेतिक संवाद र गहिरो सामाजिक टिप्पणीले दर्शकहरूलाई फिल्म जटिल लागेको थियो।

कतिपयले दर्शकहरूले त फिल्मलाई अत्यधिक रूपमा ‘पश्चिमी प्रभाव’ भएको भन्दै अस्वीकृत गरेका थिए।  त्यतिबेलाको इरानी सिनेमाहरू परम्परागत कथावाचन र सरल सामाजिक ड्रामामा केन्द्रित हुने गर्थे। ‘चेस अफ द विन्ड’ त्यसको ठ्याक्कै विपरीत थियो। त्यसैले फिल्म इरानमा व्यावसायिक रूपमा पूर्ण रूपमा असफल रह्यो। यसलाई सीमित हलमा मात्र प्रदर्शन गर्न दिइएको थियो, तर पनि दर्शकहरूको कम उपस्थिति र सरकारको दबाबका कारण छोटो समयमै हटाइयो। फिल्मले बोकेको कथावस्तुले गर्दा तत्कालीन शासनका लागि फिल्म आपत्तिजनक ठहरियो। इस्लामिक क्रान्तिपछि भने फिल्मलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइयो।

निर्देशक ‘मोहम्मद रजा अस्लानी’का लागि त्यो सबैभन्दा ठूलो झड्का थियो, किनभने उनको त्यो पहिलो फिल्म थियो। फिल्मले प्रदर्शनमा सफलता र आलोचकहरूबाट सकारात्मक प्रतिक्रिया पनि पाएन। फिल्म प्रतिबन्धित भएपछि, उनी इरानको सांस्कृतिक परिवर्तन र राजनीतिक दबाबका कारण फिल्म निर्माण जारी राख्न पनि असमर्थ भए। एक प्रकारले उनको फिल्म प्रतिबन्ध मात्र नभएर हराएको थियो। त्यस घटनाले आघातमा परेका ‘मोहम्मद’ले सधैंका निमित्त आफ्नो फिल्म करियर छोडेर चित्रकलातिर लाग्ने निर्णय लिए। त्यसपछि उनी चित्रकला र कला प्रदर्शनीमा सक्रिय रहन थाले। उनी कवि पनि हुन्। त्यसैले पनि उनको चित्रकलालाई उनको सिनेमाटिक शैली जस्तै गहिरो र जटिल मानिन्छ। उनले चित्रकला, कविता साथै डकुमेन्ट्रीहरू मार्फत इरानी समाज र सांस्कृतिक विषयवस्तुहरूको अभिव्यक्ति गर्दै आइरहेका छन्।

सन् २०१४ मा उनको फिल्म ‘चेस अफ द विन्ड’को प्रिन्ट तेहरानको घरको गोदाममा बिग्रिएको अवस्थामा फेला पारियो। फ्रान्सको ‘The Film Foundation’s World Cinema Project’ ले त्यसलाई डिजिटल रूपमा पुनर्स्थापित गरेर पहिलो पटक सन् २०२० को ‘Cannes Film Festival’ मा देखायो। यसरी लगभग ४० वर्षपछि पुनर्स्थापना भएको फिल्मको अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरियो। त्यसले उल्लेखनीय प्रशंसा बटुल्यो। समीक्षकहरूले फिल्मलाई ‘आधुनिक सिनेमाको गुमेको रत्न’ र ‘इरानी सिनेमाको अद्वितीय उदाहरण’ भनेर सम्मानित गरे।

प्रारम्भिक प्रदर्शनको समयमा यो फिल्मले नकारात्मक प्रतिक्रिया र असफलताको सामना गर्नुपरेको थियो, तर पुनर्स्थापनापछि यसले आफ्नो ऐतिहासिक तथा कलात्मक महत्वलाई पुनःस्थापित गरेको छ। ‘चेस अफ द विन्ड’ केवल फिल्म मात्र होइन, एउटा सामाजिक दस्तावेज हो। यसले बोकेको जटिल-प्रयोगात्मक कथावस्तु, गहिरो दृश्यात्मक भाषा, समयातीत सन्देश, उच्च कलात्मक निर्देशन र यथार्थपरक समाजशास्त्रीय दृष्टिकोणले गर्दा यो फिल्म इरानमा मात्र नभएर विश्व सिनेमाको इतिहासमा समेत विशेष र महत्वपूर्ण स्थानमा रहेको छ।

सिनेमा इतिहासमा विभिन्न कारणले (राजनीतिक, सेन्सरसिप, प्राविधिक दुर्घटना समय) गर्दा थुप्रै फिल्महरू प्रतिबन्धित, हराएका अथवा स्थायी रूपमा नष्ट भएका छन्। ती फिल्महरू इतिहासका अभिन्न अंग हुन्, जसले समाजका सांस्कृतिक र राजनीतिक अनुहारहरूलाई चित्रण गरेका थिए/छन्। आधुनिक प्रविधिले हराएका फिल्महरूको पुनर्स्थापना सम्भव बनाइरहेको छ, तर केही यस्ता फिल्महरू पनि छन्, जो सधैंका लागि गुमिसकेका छन्।

लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?