+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एक स्वीडिस अध्येताको आँखामा ‘सेतो सूर्य’

नेपाली फिल्ममा महिलाकेन्द्रित कथा नै नभनिएका होइनन् समस्या तिनको चित्रणमा हो । उनीहरू आफ्नै शर्तमा उभिन्छन् वा अन्य पात्रको अभीष्ट पूरा गर्ने बाटोमा साधनका रूपमा प्रयोग गरिन्छन् भन्ने मूल प्रश्न हो ।

जारा लुना हेल्म जारा लुना हेल्म
२०८१ माघ ७ गते ७:५४

सन् १९६४ (वि. सं. २०२१) मा निस्किएको ‘आमा’लाई नेपालको पहिलो चलचित्र मानिन्छ । बितेको छ दशकमा नेपाली सिनेमाले ठूलो फड्को मारेको छ तर यतिका समय बितिसक्दा पनि महिला पात्रहरू प्रायः दोस्रो दर्जामा मात्र देखिन्छन् ।

अर्थात् महिलाहरूको भूमिका पुरुषहरूको आमा वा प्रेमिकाको भूमिकामा सीमित छ । यो पुरुषप्रधान सोचको उपज हो तर यसले समाजमा भएका महिलाहरूको यथार्थ भने झल्काउँदैन । केही महिलाहरू आफैं पनि कलात्मक हस्तक्षेप गर्न सक्ने ठाउँमा पुगिसकेका छन् । तर, महिलाहरूको चित्रणमा भने खासै फरक आएको छैन । यो कुराको अपवाद दीपक रौनियार निर्देशित चलचित्र ‘सेतो सूर्य’ हो ।

फिल्ममा आशा मगरातीले अभिनय गरेको दुर्गाको पात्रले द्वन्द्वकालबाट गुज्रेको एउटा महिलाको जीवन्त चित्रण गर्छ । फिल्म दुर्गाको ससुराको मृत्युबाट सुरु हुन्छ । यी मरेका पात्रलाई नेपालको राजतन्त्रको बिम्बको रूपमा लिन सकिन्छ र त्यो शवको दाहसंस्कारको लागि जेजस्ता अवरोधहरू देखाइएको छ त्यसलाई  नेपालमा नयाँ थितिको स्थापना गर्नका लागि आएका चुनौतीको रूपमा बझ्न सकिन्छ ।

बुढापाकाहरूले शवलाई पुरानै रितिरिवाज अनुसार झ्यालबाट नै तल  झार्नुपर्छ भनेर अडान लिन्छन् । दुर्गाले नै जीवनभर हेरचाह गरेको ससुराको शवलाई छुन गाउँका पुरेतले बन्देज लगाउँछन् ।  द्वन्द्वकालमा माओवादीले  यस्ता असमानता हटाउन जबरजस्ती सम्मानपूर्वक व्यवहार गर्न लगाएको थुप्रै किस्साहरू थिए तर दुर्गाले फिल्ममा गर्नुपरेको सङ्घर्षले माओवादीले खोजेको समाजिक रूपान्तरण संविधान लागू हुने बेलासम्म पनि भइसकेको छैन भनेर फिल्मले देखाएको छ ।

फिल्मको सुरूमा मरेका व्यक्तिका दुई छोरा चन्द्र (कमरेड अग्नी) र सुरज द्वन्द्वकालमा विद्रोही पक्ष र सत्ता पक्षबाट लडाँइ लडेका हुन्छन् । हामी थाहा पाउँछौं कि उनीहरूबीचको मनमुटाव सकिएकै हुँदैन । चन्द्र द्वन्द्वकालदेखि नै आफ्नो गाउँ फर्किएको छैनन् र बुवा बितेको खबर पनि दुर्गाले नै चन्द्रलाई दिएकी हुन्छिन् ।

समाजका लागि  दुर्गा र चन्द्र श्रीमानश्रीमती भए पनि उनीहरूबिचको सम्बन्ध खोक्रो भइसकेको हुन्छ । दुर्गाकी एउटी छोरी पूजा छन्, जसको जन्मदर्ताको प्रमाण छैन ।

छोरीको भविष्यको लागि दुर्गालाई जसरी पनि जन्मदर्ताको कागज बनाउनु छ । चन्द्रले पूजा आफ्नी छोरी नभएको कारण आफ्नो नाम दिन नसक्ने बताउँछ ।  नेपाली समाजले जस्तै चन्द्रले पनि दुर्गालाई अपवित्र महिलाको दृष्टिकोणबाट हेर्छ ।

कथित तल्लो जातकी दुर्गालाई घरसमाजसँग झगडा गरेर बिहे गरेकोमा चन्द्र आफूले निकै ठूलो परोपकार गरेको भन्ठान्छ तर द्वन्द्वकालमा आफूले अन्य महिलासँग सम्बन्ध राखेकोमा आफ्नो द्वैध चरित्र चाहिँ देख्दैन । दुर्गाले आफ्नो छोरीको कानूनी पहिचानको लागि गरेको सङ्घर्ष धेरै नेपाली महिलाहरूको कथा हो । राजतन्त्रलाई छिचोलेर संघीयतासम्म आइपुग्दा पनि नेपाली समाजका दुर्गाहरूको व्यथा ज्यूँका त्यूँ नै छ । उनी चन्द्रबाट नभए सुरजको सहायताले भएपनि छोरीलाई कानूनी पहिचान दिलाउन कोसिस गर्छिन् ताकि छोरीलाई भोलि कसैमाथि भर पर्नु नपरोस् । सँगै उनी दाजुभाइबीचको फाटो पुर्न पनि प्रयासरत हुन्छिन् । बुवाको शव बोकेर खोलासम्म पुर्‍याउन नपाउँदै चन्द्र र सुरजबीच भनाभन हुन्छ । शवलाई बीच बाटोमै छाडेर सुरज भड्किएर हिँड्छ ।

उता चन्द्र भने भाइलाई खोज्न जानुको सट्टा शव बोक्ने मान्छे खोज्न गाउँ पस्छ र रित्तिएको सुनसान गाउँ देखेर उदास भएर फर्कन्छ । दाजुभाइको चाला देखेर दुर्गा आफैं समस्याको समाधान खोज्नपट्टी लाग्छिन् । उनको पात्र मूकदर्शक भएर बस्दैन बरू कथालाई अघि डोर्‍याउन रणनीतिक विन्दुमा मुख्य भूमिका खेल्न आइपुग्छ ।

नेपाली फिल्ममा महिलाकेन्द्रित कथा नै नभनिएका होइनन् समस्या तिनको चित्रणमा हो । उनीहरू आफ्नै सर्तमा उभिन्छन् वा अन्य पात्रको अभीष्ट पूरा गर्ने बाटोमा साधनका रूपमा प्रयोग गरिन्छन् भन्ने मूल प्रश्न हो ।

हिन्दु धर्मको मान्यता अनुसार दुर्गा माता हिंसासँग जोडिनुहुन्छ तर फिल्मको दुर्गा शान्तिको प्रतिक हुन्छिन् ।  सेतो सूर्यमा समाजमा रहेको द्वन्द्वको खाडल पुर्न दुर्गाको ठूलो भूमिका छ भनेर सर्जकले  देखाउन खोजेका छन्।

(फिल्म सेतो सूर्य र यसका विभिन्न पाटालाई केलाएर जारा लुना हेल्म नाम गरेकी एक स्वीडिस नागरिकले उप्सला युनिभर्सिटीबाट गरेको मास्टर्स थिसिसको सारलाई सन्देश घिमिरेले नेपालीमा अनुवाद गरेका हुन् । एक स्वीडिस दम्पत्तिकी धर्मपुत्री रहेकी नेपाली मूलकी जाराले सेतो सूर्य आफ्ना लागि नेपाली समाज र संस्कृतिसँग जोडिने एउटा माध्यम बनेको उल्लेख गरेकी छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?