+
+
पुस्तक समीक्षा :

मध्यमार्गका अनुपालक निधि

‘नेपालका निधि’ पुस्तकमा महेन्द्रनारायण निधिमाथि आधारित भएर पत्रकार किशोर नेपालले मधेश र लोकतन्त्र, मधेश र नेपाली कांग्रेसको अभिन्नतालाई मसिनो गरी केलाएका छन् । कांग्रेसको उर्वर ठाउँ मधेशमा यो किन कमजोर हुँदै आयो ? अझ बढी मन्थन पुस्तकमा अपेक्षित थियो ।

चन्द्रकिशोर चन्द्रकिशोर
२०८१ माघ ५ गते ९:१३

पत्रकार किशोर नेपाल सधैं केही न केही गरिरहन्छन् । विभिन्न सञ्चारमाध्यममा विचार–विश्लेषण लेखिराख्ने नियमित काम त हुने भई नै हाल्यो । यसका साथसाथै उनी पुस्तक लेखनमा पनि त्यतिकै सक्रिय रहन्छन् । उनको ‘वल्र्ड भ्यू’ आम पत्रकारहरू भन्दा फरक छ । नेपाली पत्रकारितामा यस्ता थोरै छन् जो राजनीति, इतिहास, खेल, संगीत र संस्कृति माथि समान अधिकारका साथ कुरा राख्न सक्छन् ।

नेपालको लोकतान्त्रिक संघर्षका कैयौं घटनाक्रमका उनी स्वयं साक्षी छन् । उनले नेपाली पत्रकारितामा लामो समयसम्म लेखिरहने, विवाद–बहस जन्माइरहने चिर युवा पत्रकार (वयले प्रौढ) हुन् भन्ने कुरा स्वयंसिद्ध तथ्य जस्तै भएको छ । उनी नव–नव प्रयोग गर्न रुचाउँछन् । लेखनमा बहुकोणीय चुनौतीहरू कबूल गर्छन् ।

उनैबाट ‘नेपालका निधि’ नामक रचित एक कृति जो लोकतन्त्रका महान् प्रहरी महेन्द्रनारायण निधि केन्द्रित छ । हालै सार्वजनिक भएको यो पुस्तकले चाखलाग्दा सन्दर्भहरू प्रस्तुत गरेको छ । जो अहिलेको समयमा अनेकौं झन्झावातहरूसँग जुझ्दै गरेको लोकतन्त्रलाई जोगाउने समय चेतना प्रदान गर्छ ।

आजको समयमा प्रत्येक समाज आफ्नो इतिहास खोज्दछ, आफ्ना संघर्षहरूको अभिरेखांकन चाहन्छ । नागरिक बलियो बनाउने संघर्षको यस युगमा त्यस्तो इतिहासको राजनीतिक महत्व पनि छ । नेपाल लोकतन्त्रका अद्भुत क्षमताका साथ संघर्ष गर्ने मुलुक हो । तर इतिहास लेखनको काम पर्याप्त भएको छैन । विभिन्न समुदाय, क्षेत्रका योगदानहरू मुखरित गरिएका छैनन् । जे–जति लेखिए ती पनि अनेकौं आग्रहहरूबाट मुक्त देखिएनन् ।

इतिहास लेखन, लेखनको एक विधा मात्र होइन, यो अतीतको निर्माण पनि हो । एउटा कृतज्ञ समाजले आफ्नो अतीततर्फ निष्ठापूर्वक नियाल्दा त्यस्ता जुनकिरीहरूको खोजी गर्छ जो निस्पट्ट अँध्यारोमा उज्यालो छर्छ । पत्रकार किशोर नेपालले यस्तै एक कृतज्ञताको अभिरेखांकन गरेका छन् । यो इतिहासको पुनर्खाेजकातर्फ चालिएको एक विनम्र लेखन हो ।

महेन्द्रनारायण निधिको जीवन चरित चर्चा केवल अतीतका प्रति आदराञ्जलि मात्रै होइन, यसले भविष्यलाई हेर्न र चिन्न समेत सिकाउँछ । एक पुर्खा जसले आफ्नो समयप्रति सोच्न जान्यो र आफ्नो सोचलाई पूरा गर्ने जाँगर चलायो र अगाडि बढ्यो जो कालान्तरमा एक लिक बन्यो । समयसामु समर्पण गर्ने अथवा आफूले दिशा दिने ? कस्तो लिक कोरियो, इतिहासले त्यसप्रति समादार देखाउँछ ।

‘नेपालका निधि’ पुस्तक महेन्द्रनारायण निधिको विराट व्यक्तित्व बारे पत्रकार नेपालद्वारा लेखिएको एक नोटबुक मात्रै हो, तर यसभित्र धेरै कुरा स्थापित गर्न खोजेको देखिन्छ; जो इतिहास लेखनका लागि एक नूतन दिशाबोध हुनसक्छ

नेता वा दलले गर्ने काम, लिने निर्णय, अडान वा मौनता इतिहास बनिने गर्छ । समयले अनेकांै असरदार घुम्तीहरू भेट्टाउँछ । साना–साना पाइलाले, झिनामसिना लाग्ने व्यवहारले पनि इतिहासको यात्रालाई र वर्तमानका उपलब्धि हासिल हुनुलाई योगदान पुर्‍याइरहेको हुन्छ । एक युगमा एक दिन लाग्ने परिवर्तन पनि यस्तै अनेकौं पात्र, प्रतिबद्धता, प्रक्रियाहरूको सगोल परिणाम हो ।

महेन्द्रनारायण निधिले लोकतन्त्रमा आइपर्ने खतरा देखेका, सचेत पनि गराएका थिए । तर तिनकै दलले त्यसमा ध्यान पुर्‍याउन सकेन । राजनीतिक पार्टीहरूको व्यवहारमा पनि सुधार आएन । आज पनि नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रका आयामहरू बुझ्न यो पुस्तक महत्वपूर्ण सामग्री हुन सक्छ ।

राजनीतिलाई विश्वसनीय कसरी बनाउने ? राजनीतिमा बल प्रयोग हुनबाट कसरी रोक्ने ? किनभने राजनीतिले नीतिहरूको पनि नीतिको ठाउँ लिंदै आएको छ र प्रत्येकलाई असर पार्दै आएको छ । निधि आफूले पाएको कालखण्डप्रति अनुगृहीत थिए र त्यसलाई आफूसँग भएको सबभन्दा पावन र मूल्यवान् कुरा मान्थे ।

उनको बुझाइमा आफूले बाँचेको समयको केही जिम्मेदारी, केही कार्यभार हुन्छ जसलाई आफूले सकेजति निर्वाह गर्ने कोशिश गरिराख्नुपर्छ । त्यसका लागि पहिला आफूले चाहेको के हो ? हाम्रा अवरोधहरू के के हुन् ? र आफ्नो सामथ्र्य, संगठन र स्रोत के छ त्यो पनि थाहा पाइराख्नुपर्छ भन्थे । अनि यसको प्रष्टताको अभावमा राजनीति निष्प्रभावी हुन पुग्छ भन्ने मान्यता राख्दथे ।

प्रत्येक व्यक्ति आफूलाई संघर्षहरूको माझमा पाउँछ । यसको मात्रा कम वा बढी हुन सक्छ । संघर्ष एक सचेतन प्रक्रिया हो र यो निरन्तर चलिरहन्छ । एक प्रकारले निधि संघर्षबाट निर्माण भए र उनका जीवनमा संघर्ष आफ्नो पूर्णतामा व्याप्त भयो ।

कुनै अमूक राजनीतिक पात्रको इतिहास लेख्दा आफ्नो सम्मोहन भन्दा तथ्य, स्रोत, आधिकारिता माथि निकै लेखाजोखा राख्नुपर्ने हुन्छ । यसको अभावमा त्रुटिपूर्ण सन्दर्भ सामग्री तयार हुन पुग्छ । नेपालको लोकतान्त्रिक संघर्ष कुनै एक व्यक्ति वा परिवारको संघर्ष थिएन । जिल्ला र क्षेत्रगत रूपमा प्रारम्भिक स्रोत सामग्रीहरू हराउँदै, मासिंदै वा भ्रष्टीकृत गरिंदै गर्दा निकट अतीतका प्रति फराकिलो तरिकाले चियाउन गाह्रो हुन्छ ।

‘नेपालका निधि’ पुस्तक महेन्द्रनारायण निधिको विराट व्यक्तित्व बारे पत्रकार नेपालद्वारा लेखिएको एक नोटबुक मात्रै हो, तर यसभित्र धेरै कुराहरू स्थापित गर्न खोजेको देखिन्छ । जो इतिहास लेखनका लागि एक नूतन दिशाबोध हुन सक्छ ।

लोकतन्त्र सेनानीहरूको ‘गान्धीवादी–समाजवादी’ जमातको अनुगामी र दर्शन एवं इतिहासको लोकप्रिय व्याख्याताका रूपमा चिनारी प्राप्त भुर्इंसँग जोडिएका महेन्द्रनारायण निधिलाई उनका ‘चिर असहमति’ का लागि पनि चिनिन्छ । यसको नतिजा यो रह्यो कि उनी आफ्नो भूमिकाहरू पुनर्निर्धारित गर्दैरहे ।

पञ्चायत विरुद्धको संघर्षमा निधिको दुई कार्यनीति अटल रह्यो । पहिलो नेपाल भित्रै बसेर संघर्ष गर्ने; दोस्रो, अहिंस्रक तरिकाले पञ्चायत विरुद्ध लड्ने । पञ्चायती सत्ताका अनेकौं प्रलोभन, दबाब, यातनाका बावजूद निधिले कहिल्यै पनि समर्पण गरेनन् । यो तत्वले नै मधेशमा अग्लो लोकतान्त्रिक चुचुरो उठ्न सम्भव भयो । यसरी निधि मध्यमार्गका अनुपालक कहलिए ।

यस पुस्तकमा निधिलाई नेपाली मधेशका एकछत्र आधिकारिक नेता बताइएको छ । पत्रकार नेपालले मधेश र लोकतन्त्र, मधेश र नेपाली कांग्रेसको अभिन्नतालाई मसिनो गरी केलाएका छन् । आखिर नेपाली कांग्रेसको उर्वर ठाउँ मधेशमा यो किन आफैं कमजोर हुँदै आयो ? अझ बढी मन्थन यस पुस्तकमा अपेक्षित थियो ।

जीवनभर पार्टी फुट्न नदिन अपमान समेत सहेका नेपाली कांग्रेसका अग्ला नेता निधि माया–मोह र भोग–विलासबाट मुक्त जीवन बाँचे । परिवर्तनलाई अहं र महत्वाकांक्षालाई गौण रूपमा बुझ्ने लोकतन्त्रका एक अविस्मरणीय योद्धा थिए उनी । तसर्थ उनी कुनै दल विशेषका नेता होइन कि नेपालकै ‘निधि’ भनेर स्थापित गर्न यो कृति सफल भएको छ ।

निधि आफैंमा निकै अध्ययनशील थिए । अहिलेका धेरै राजनीतिकर्मीहरू अध्ययनबाट मुक्त भई सकेका छन् । या पुराना दस्तावेजहरू घोक्ने र बोल्ने गर्छन् । त्यसैले तिनीहरूमा कल्पनाशीलता र सृजनशीलता पाइँदैन । निधिको जीवनका मौलिकताहरूलाई पुस्तकमा जसरी सँगालिएको छ त्यो किशोर नेपालले केवल कोठामा बसेर फुराएको मात्रै पक्कै होइन ।

निधि बाँचेको समयमा तिनको उच्च मूल्यांकन भएन । विशाल चिन्तन भएको कुनै मान्छेलाई संकीर्ण चिन्तन भएको समाजले बुझ्न सक्दैन । निधिले भोग्नु परेको राजनीतिक, सामाजिक र बौद्धिक कठिनाइ यस्तै विरोधाभासपूर्ण अवस्थाको द्योतक हो । उनको देखिने भन्दा नदेखिने योगदान छ, नेपाली समाजलाई ।

उनका सरलता, स्पष्टवादिता र जीवन–दर्शनले कति अपराजित मूल्यमान्यता बोकेको थियो त्यो शोधको विषय हो । आफूले भनेका, गरेका र मनमा लागेको कुरा लुकाउने बानी थिएन । उनलाई सत्ता र शक्तिमा बसेका नेताले पनि कहिल्यै हेप्न सकेनन् र आफ्नो जीवनकालमा नेपाली कांग्रेसका एक सम्मानित र श्रद्धेय नेताका रूपमा स्थापित भए । एउटा कर्मशील सादगी नेताका यी र यस्तै योगदानले समेटिएका २० वटा विभिन्न शीर्षक यो पुस्तकमा अटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?