Comments Add Comment

थप ‍‍‍१४ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण थप ‍१४ जनाको मृत्यु भएको छ । काठमाडौंका ३ जना, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, इलाम, मोरङ, सुनसरी, धनुषा, रुपन्देही, पाल्पा र बाँकेमा १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालयहरुले जानकारी दिएका छन् ।

इलाम नगरपालिका– २ इलामकी ५९ वर्षकी महिलाको शनिबार विहान करिब ७ बजे विराटनगरको नोबल मेडिकल कलेजमा मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक ४ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

सुन्दरहरैँचा मोरङकी ५ महिनाकी शिशुको शुक्रबार राति पौने ८ बजे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मष्तिष्कसम्बन्धी समस्या देखिएपछि उपचारका लागि लगिएकी उनमा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएपछि बीपीको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

गढी गाउँपालिका– ९ सुनसरीका ३८ वर्षका पुरुषको शनिबार विहान ४ बजे विराटनगरको नोबल मेडिकल कलेजमा मृत्यु भएको छ । ३ कात्तिकमा अस्पताल भर्ना भएका र सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।

जनकपुर उपमहानगरपालिका–१ धनुषाकी ६५ वर्षकी महिलाको शनिबार विहान २ बजे प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको छ । ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार विहान भर्ना भएकी उनलाई शुक्रबार राति ८ बजे कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मधुमेह र दमको समस्या पनि थियो ।

वानेश्वर काठमाडौंका ७८ वर्षका पुरुषको कात्तिक ७ गते पाटन अस्पतालमा मृत्यु भएको छ । कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भई स्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप र मधुमेहको समेत विरामी थिए ।

गोकर्णेश्वर काठमाडौंका ३२ वर्षका पुरुषको कात्तिक ७ गते वीर अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ४ गते अस्पताल भर्ना भएका उनमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

जोरपाटी काठमाडौंका ७० वर्षका पुरुषको कात्तिक ७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या भएर असोज २५ गते अस्पताल भर्ना भएका उनमा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भक्तपुरका ७१ वर्षका पुरुषको नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको छ । असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका उनी स्वासप्रश्वासमा समस्या भएपछि असोज २७ गते अस्पताल भर्ना भएका थिए ।

जोरपाटी काठमाडौं बस्ने धादिङका ७० वर्षका पुरुषको ह्याम्स अस्पतालमा कात्तिक ७ गते मृत्यु भएको छ । असोज २५ गते स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनमा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

नुवाकोटकी ८० वर्षकी महिलाको शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक ३ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी अल्जाइमरको बिरामी थिइन् ।

ललितपुरकी ६५ वर्षकी महिलाको कात्तिक ७ गते पाटन अस्पतालमा मृत्यु भएको छ । असोज ४ गते कोरोना संक्रमण पुष्टि भएको र असोज २९ गते अस्पताल भर्ना भएकी उनमा दमसम्बन्धी समस्या थियो ।

तिलोत्तमा नगरपालिका– ७ रुपन्देहीका ७५ वर्षका पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शनिबार विहान मृत्यु भएको छ । कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । उनी फोक्सोका दीर्घरोगी थिए ।

तानसेन नगरपालिका–१ पाल्पाका ५६ वर्षका पुरुषको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको छ । असोज ३० गते कोरोना संक्रमण पुष्टि भएका उनी ढाड दुख्ने समस्या लिएर अस्पताल भर्ना भएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ५० वर्षका पुरुषको शुक्रबार राति भेरी अस्पतालमा मृत्यु भएको छ । असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका उनी २७ गते अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment