
११ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।
काठमाडौं, चिततवन र रुपन्देहीका २/२ जना, सुनसरी, सप्तरी, भक्तपुर, ललितपुर र गोरखाका १/१ जनाको मृत्यु भएको विभिन्न अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जानकारी दिएका छन् ।
धरान उपमहानगरपालिका सुनसरीका ५० वर्षका पुरुषको सोमबार राति १२ बजेर ५५ मिनेटमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका उनी स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ८ गते भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
कञ्चनरुप नगरपालिका-४ सप्तरीका ५५ वर्षका पूर्वसभासद मानपुर चौधरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मत्यु भएको छ ।
सास फेर्न गाह्रो भएपछि कात्तिक २ गते राति थप उपचारका लागि धरान लगिएका उनको सोही दिन स्वाब संकलन गरेर परीक्षण गर्दा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।
काठमाडौंकी ६० वर्षकी महिलाको कात्तिक १० गते मृत्यु भएको छ । कात्तिक १० गते नै कोरोना संक्रमण पुष्टि भएका उनी क्यान्सरको समेत बिरामी थिइन् ।
खड्कागाउँ काठमाडौंका ९१ वर्षका पुरुषको कात्तिक ९ गते मृत्यु भएको छ । असोज २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी कात्तिक २ गते अस्पताल भर्ना भएका थिए ।
भक्तपुरकी ४० वर्षकी महिलाको कात्तिक ९ गते मृत्यु भएको छ । मुटुको समस्याका कारण कात्तिक ६ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया र माइग्रेनको बिरामी थिइन् ।
मानभवन ललितपुरकी ८१ वर्षकी महिलाको कात्तिक ९ गते मृत्यु भएको छ । असोज २९ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो ।
भरतपुर महानगरपालिका–२१ चितवनका ५६ वर्षीय पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको छ ।
कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।
भरतपुर महानगरपालिका चितवनकी ६७ वर्षकी महिलाको कात्तिक १० गते मृत्यु भएको छ । निमोनिया र मुटुको समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा थाइराइड, उच्च रक्तचाप र मिर्गौलाकोसमेत समस्या थियो ।
बारपाक सुलिकोट गाउँपालिका- १ गोरखाकी १९ वर्षीया महिलाको मंगलबार दिउँसो पौने ४ बजे भरतपुर अस्पतालमा मृत्यु भएको छ ।
कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भई ६ गते अस्पताल भएकी ती महिलामा स्वासप्रश्वासमा समस्या देखिएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो । उनी सुत्केरी भएको १९ दिन भएको थियो ।
तिलोत्तमा नगरपालिका–११ रुपन्देहीकी ५० वर्षीया महिलाको कात्तिक १० गते राति सवा ८ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । कात्तिक १० गते नै कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
बुटवल उपमहानगरपालिका- १३ रुपन्देहीका ५२ वर्षका पुरुषको अस्थायी कोभिड अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार विहान ६ बजे मृत्यु भएको छ ।
कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनमा पनि उच्च ज्वरो र स्वास प्रश्वासमा समस्या देखिएको थियो ।
प्रतिक्रिया 4