Comments Add Comment
विश्लेषण :

भारत र अमेरिका नजिकिँदा नेपाललाई के असर पर्छ ?

१२ कात्तिक, काठमाडौं । पछिल्ला केही महिनायताका घटनाक्रमलाई नियाल्ने हो भने चीनसँग सीमा विवाद बढेसँगै भारत अमेरिकासँग अलि नजिकिएको देखिन्छ । चीनले पनि सीमा विवादका सम्बन्धमा आफूसँगको बार्गेनिङमा बलियो रुपमा प्रस्तुत हुनका लागि भारत अमेरिकासँग नजिकिएको प्रतिक्रिया दिइरहेको छ ।

केही महिनायता भारत र अमेरिकाका उच्च अधिकारीहरु निरन्तर संवाद र सम्पर्कमा छन् । यसै सिलसिलामा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले भारतबाट दक्षिण एसियाली मुलुकहरुको भ्रमण शुरु गरेका छन् । यति मात्र होइन, भारत र अमेरिकाका वीचमा ‘टु प्लस टु’ बैठकसमेत सम्पन्न भएको छ । सो बैठकका क्रममा दुबै मुलुकले रणनीतिक साझेदारीका चार बर्षको गहिरो समीक्षासमेत गरेका छन् ।

तीन हप्ताअगाडि मात्रै अमेरिका, जापान, अष्ट्रेलिया र भारतका वीचमा जापानको राजधानी टोकियोमा क्वाडको सुरक्षा बैठक भएको थियो । सो बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर र पम्पियोका वीचमा सम्बन्ध सुदृढ बनाउने सम्बन्धमा लामो कुराकानी भएको थियो ।

पम्पियोको दुईदिने भारत भ्रमणको अन्त्यमा भारत र अमेरिकाले राष्ट्रिय सुरक्षा प्रयोजनका लागि नक्सा र स्याटलाइटसम्बन्धी सूचना आदान–प्रदानसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै मुलुकले सो सम्झौतापछि दुई मुलुकबीचको सैन्य सहकार्य अझै प्रगाढ हुने बताएका छन् ।

दक्षिण एसियाली मुलुकमा चीनको प्रभाव कम गर्ने भारत–अमेरिकाको साझा नीति भएकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने विश्लेषकहरुको धारणा छ

सो सम्झौताले दुई मुलुकका वीचमा रणनीतिक सूचनाको आदान–प्रदानमा समेत सहज बनाउने छ । साथै, भारतले केही सामरिक महत्वका क्षेत्रहरुको नजिकबाट अनुगमन समेत गर्न पाउने छ । साथै यी डाटाहरुमा पहुँच भएपछि मिसाइल, ड्रोन र अन्य आक्रमणमा सहज हुनेछ ।

भारत र अमेरिकावीचको नजिकको सहकार्य अहिले मात्र भएको होइन, यस अगाडि पनि दुई देशका वीचमा नजिकको सहकार्य भएको थियो । तर, यस अगासडको भन्दा यसपटकको संवाद र सहकार्यलाई विश्लेषकहरुले पृथकरुपमा हेर्दै यो दीर्घकालीन सहकार्य भएको उल्लेख गरेका छन् ।

अमेरिकी विदेशमन्त्रीको भ्रमण अगाडि भारतीय उच्च अधिकारीहरुले समेत छिमेकी मुलुकहरुको भ्रमण गरेका थिए । यसअगाडि विशेष गरी नरेन्द्र मोदी सत्तामा आएपछि भारतले चीनसँगको सम्बन्धलाई दृष्टिगत गर्दै अमेरिकासँगको सम्बन्धलाई निकै होसियारीपूर्वक अगाडि बढाएको थियो । चीनसँग लद्दाखमा द्वन्द्व बढेपछि भने भारत र अमेरिकाको सम्बन्ध बाक्लिएको छ ।

नेपाललाई पर्न सक्ने असर

भारतको चीनसँगको सम्बन्ध चिसो हुँदै जाँदा र अमेरिकासँगको सहकार्य बढ्दै जाँदा नेपाललाई कस्तो असर गर्ला त ?

त्रिभुवन विश्वविद्यालयका अन्तरराष्ट्र्रिय सम्बन्ध र कूटनीतिक विभागका प्रोफेसर डा. खड्ग केसी अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको भारत भ्रमण, त्यहाँ भएको कुराकानी र भएका सम्झौता महत्वपूर्ण  भएको बताउँछन् ।

केसीले भने,‘यसको रणनीतिक महत्व छ, किनभने भ्रमणमार्फत अमेरिकाले भारतसँग जोडिएका छिमेकी मुलुकहरुलाई पनि रणनीतिक सन्देश दिन खोजेको देखिन्छ । तर, यसलाई धेरै प्रचार गर्न आवश्यक छैन, किनभने डोनाल्ड ट्रम्प प्रशासन यतिबेला आफ्नो कार्यकालको अन्तिम चरणमा छ ।

डा. केसीले चीनका बारेमा अमेरिकी विदेशमन्त्रीले पछिल्ला महिनामा दिएका अभिव्यक्ति निर्वाचन लक्षित भएको बताए । उनले भोलि अमेरिकाले नेपाललाई बीआरआईमा बस्न उचित छैन भन्ने सन्देश पनि लिएर आउन सक्ने बताए । ‘अहिले नयाँ शीतयुद्धको कुरा भइरहेको छ, तर पहिला शीतयुद्ध एकदमै जर्जर अवस्थामा रहँदा पनि हामीले असंलग्न नीति लिएका हौं, त्यसैले यो हाम्रा लागि धेरै ठूलो चिन्ताको विषय होइन ।’

दक्षिण एसियाली मुलुकमा चीनको प्रभाव कम गर्ने भारत–अमेरिकाको साझा नीति भएकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने विश्लेषकहरुको धारणा छ । उनीहरुका अनुसार भारत र अमेरिकाले बीआरआई, चिनियाँ लगानीलगायतका विषयमा नेपाललाई दबाव दिन सक्छन् । बीआरआई लगायतका परियोजनामा अहिले पनि नेपालले परोक्ष रुपमा दबाव खेपिरहेको छ । त्यसैले केही निश्चित विषयमा भारत र अमेरिकाको वीचमा दीर्घकालीन पार्टनरशीप हुने देखिन्छ ।

भारत भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री पम्पियोले सुरक्षा र स्वतन्त्रतामा चीनले उत्पन्न गरेको चुनौती सामना गर्नका लागि अमेरिका र भारतका वीचमा सहकार्य हुनुपर्ने उल्लेख गरेका छन् ।

परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई भने चीनसँगको सम्बन्धमा भारत अमेरिकाजस्तो धेरै टाढा जान नसक्ने बताउँछन् । भट्टराई भारत  र चीन एकदमै मिल्दा र उनीहरु वीचमा द्वन्द्व बढ्दा दुबै अवस्थामा नेपाललाई कूटनीति सञ्चालन गर्न एकदमै कठिन हुने बताउँछन् ।

पूर्वप्रधानमन्त्रीद्वय सुशील कोइराला र शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार रहेका डा. भट्टराईले अनलाइनखबरसँग भने,‘सन् २०१५ मा भारत र चीनवीच राम्रो सम्बन्ध हुँदा नेपालसँग कुनै परामर्श नगरी लिपुलेक सम्झौता भयो । त्यसैले उनीहरुका बीचमा राम्रो सम्बन्ध हुँदा पनि हामीलाई सहज छैन । त्यसैगरी उनीहरुका वीचमा द्वन्द्व भयो भने पनि अवस्था हाम्रा लागि सहज छैन ।

भट्टराईले ठूला मुलुकहरुका वीचमा द्वन्द्व बढ्दा नेपाल भूमरीमा पर्ने भएता पनि नेपालले त्यसखालको संस्थागत र अन्य तयारी अहिलेसम्म नगरेको बताए । उनले अगाडि भने, ‘अमेरिका र चीनका वीचमा अहिलेको द्वन्द्व बढ्दै गयो भने नेपालमा अमेरिकाको चासो झनै बढ्छ ।

त्यसैगरी चीन र अमेरिकाको वीचमा द्वन्द्व बढ्दा पनि त्यो अवस्था नेपालका लागि चुनौतीपूर्ण हुने विश्लेषकहरु बताउँछन् । भट्टराई भन्छन्,‘ठूला मुलुकहरुवीचको गेम बढ्दै गइरहेको छ, त्यसैले नेपालका लागि आगामी दिनहरु निकै अप्ठ्यारा हुने देखिन्छ । अमेरिकाले भारतको आँखाबाट होइन, प्रत्यक्ष नै हेर्छाै भने पनि नेपाल नीतिमा अमेरिकाले भारतलाई आउटसोर्सिङ गरेको पाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment