Comments Add Comment

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको निधन

१२ कात्तिक, काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए ।

मधुमेह र दमको बिरामी खनाल घरमै उपचाररत थिए ।

मदन पुरस्कारसमेत प्राप्त खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन् ।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रासाद सेवामा काम गरेका थिए । उमेर हदका कारण उनले वि.सं. ०५२ सालमा प्रमुख सचिव पदबाट अवकास पाएका थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा खनालको अन्त्येष्टि गरिनेछ ।

खनाललाई राजा त्रिभुवनदेखि गद्दीच्यूत भएका राजा ज्ञानेन्द्रसम्मका प्रमुख सचिवहरूमध्ये योग्यतम मान्ने व्यक्तिहरू पनि धेरै छन् । खनाल नेपालको संवैधानिक कानूनका विज्ञ मानिन्छन् ।

दरबार प्रशासनमा उनको प्रवेश राजा महेन्द्रको कृपाबाट भएको थियो, जसका लागि उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेसको प्रखर विरोधीहरूको पंक्तिमा आफूलाई उभ्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment