Comments Add Comment

‘तिमी बाहेक’ चलेपछि हेमन्त भन्छन्–‘गीत चल्दा पनि गाह्रो, नचल्दा पनि गाह्रो’

सोचिन कहिले सुहाउँछु सुहाउन्न ।।।

यत्ती थाहा छ, बाचुन्जेली रुवाउन्न ।।।

झर्न त झर्ला आँशु खुशीका ।।।

दुखका आँशु झर्नै पाउन्न ।।।

तिमी छैनौ मेरो परानै छैन ।।।

मुटु छ ढुकढुकी छैन ।।।

गायक, संगीतकार तथा गीतकार हेमन्त शर्माको मनदेखि कोरिएको भावना, जब ‘तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत बनेर निस्कियो, दर्शकको अपार माया पायो । सार्वजनिक भएको एक सातासम्म औषत भ्यूज गएपनि अहिले यो गीतलाई करिब साढे २४ लाख पटक हेरिएको छ । हेर्ने अधिकांश दर्शकले गीत मन पराएका छन् । ७१ हजार भन्दा बढी लाइक र ४५ सय भन्दा बढी प्रतिक्रियाले पनि यो कुराको पुष्टी गर्छ । यो गीतका हरेक हरफहरु टिकटकमा हिट छन् ।

कोरोना भाइरसका कारण लकडाउन भयो । कोरोना कारण लकडाउन हुँदा हरेक क्षेत्रका मानिसहरु अब के हुन्छ भन्ने सोचाइमा थिए । घरमै रहँदा गायक हेमन्त शर्माले ३ वटा गीत लेखेका थिए । तर, उनी तिनै वटा गीत सार्वजनिक गर्ने मुडमा थिएनन् ।

गीत चलेपनि, नलचेपनि गाह्रो
आफूले मिहिनेत गरेर तयार पारेको गीत चलेन भने त एउटा सर्जकका लागि समस्या नै पर्छ । अझ, श्रोताको माया पाउँछ भनेर विश्वास गरिएका गीतले नै दर्शकको माया पाएनन् भने सर्जकको मन टुट्छ । हेमन्त यही सोचमा थिए । गीत चलेन भने त गाह्रो हुन्छ नै । तर, हेमन्तका लागि यो समयमा गीत चल्यो भने पनि गाह्रो हुने अवस्था थियो ।

लकडाउनका कारण कुनै पनि कार्यक्रम थिएन । गीत चलिहाल्यो भने पनि युटुब, टिकटक र मिडियामा मात्र चल्ने हो । सर्जकले त्यो गीत गाएर आम्दानी गर्ने अवस्था छैन । यसैले, हेमन्तको सोच थियो कि गीत चलेपनि गाह्रो हुन्छ नचलेपनि गाह्रो हुन्छ । यसैले, उनी तत्काल गीत निकाल्ने सोचमा थिएनन् ।

हङकङमा बस्ने साथीले गरे सहयोग
हेमन्तको गीत सार्वजनिक नभएको केही बर्ष भएको थियो । ३ वटा गीत लेखेर आफ्नै आवाजमा रेकर्ड गराएर बसेपनि हेमन्त सार्वजनिक गर्ने मुडमा थिएनन् । स्टूडियोकै भिडियो खिचेर युटुबमा राखे यसो दर्शकले सुनिहाल्थे कि भन्ने सोच पनि उनलाई पलाएको थियो । तर, सोही समयमा हङकङमा रहेका एक जना साथीले उनलाई फोन गरे ।

अशोक मल्ल नाम गरेका साथीले हङकङबाट फोन गरेर गीत निकाल्न आग्रह गर्दा हेमन्तले अहिले निकाल्न नसक्ने अवस्था रहेको जानकारी दिए । कोरोनाका कारण आम्दानी शुन्य हुँदा जीवनयापनमै पैसा खर्च भैरहेकाले गीत सार्वजनिक नगर्ने सोच हेमन्तको थियो । अशोक र उनका साथी प्रकाशराज मिलेर हेमन्तलाई भिडियो बनाउनका लागि भन्दै साढे ३ लाख पठाइदिए । यसपछि, भने हेमन्तले गीत बनाउने तयारी गरेका थिए ।

अशोकले कलाकार छान्ने जिम्मा हेमन्तलाई दिएर भिडियोको कन्सेप्ट भने आफैले बनाउने आग्रह गरे । गीतले पैसा उठाएको खण्डमा फिर्ता गर्ने जानकारी हेमन्तले गरेपछि अशोकले पैसा उठेको खण्डमा अर्को गीत बनाउने जानकारी दिए ।
म्यूजिक भिडियोमा पल शाहको बजार राम्रो रहेको भन्दै हेमन्तले उनीहरुलाई राख्दा आफ्नो पनि मार्केट झनै राम्रो बन्ने सोचेका थिए ।

एलिनालाई गीत गाउन भएको थियो अप्ठ्यारो
सुरुमा हेमन्तले यो गीत आफ्नै मात्र स्वरमा रेकर्ड गराएका थिए । तर, गीत यूगल स्वरमा निकाल्ने सोच बनेपछि उनले नयाँ गायिकासँग काम गर्ने सोच बनाए । उनले, एलिना चौहानसँग गीत गाउँदा आफूले पनि केही सिक्ने सोच राखेर उनलाई अफर गरेका थिए ।

हेमन्तले अनलाइनखबरसँग भने–‘एलिनाले पहिलो पटक गीत गाउँदा केही समस्या भयो । मैले, ३ दिनपछि आउनु तर सबैभन्दा पहिला मेरो गीतलाई समय दिनु भनेको थिएँ । एलिनाले मलाई एक दिन फोन गरेर अरु कोही गायिकाको स्वरमा रेकर्ड गर्दा पनि मैले चित्त दुखाउँदिन भनिन् । मैले एलिनालाई तिमीले नै गाउनुपर्छ भने र उनको आवाजमा गीत रेकर्ड भयो । मैले नयाँ बहिनीहरुसँग सहकार्य गर्न पाउँदा धेरै कुरा सिकेँ भन्ने लाग्छ ।’

टिकटकलाई सोचेर लेखिनँ
गायक शर्माले अहिले टिकटकमा हिट भैरहेका केही लाइनहरु आफूले टिकटककै लागि सोचेर नलेखेको बताए । उनले भने–‘मलाई टिकटकमा ‘सोचिन कहिले सुहाउँछु सुहाउन्न, यत्ती थाहा छ, बाचुन्जेली रुवाउन्न’ भन्ने लाइन चल्छ भन्ने लागेकै थिएन । मैले पहिलो लाइन ‘उत्तर बग्ला बरु नदी, पश्चिम उदाउला बरु घाम’ भन्ने राखेको थियो । तर, मलाई के लाग्यो भने टिकटकमा सरल शब्द चाहिन्छ भन्ने लाग्यो र मैले लाइन हेरफेर गरे ।’

यो गीतको सम्पादनका लागि पल शाहले ७ घन्टा समय दिएका थिए । यो गीतले लगानी पनि सुरक्षित गर्ने बाटोमा गएको हेमन्तले बताए ।

नयाँ जेनेरेशनसँग जोडिनुपर्ने रहेछ
गायक शर्मालाई अहिले आएर नयाँ पुस्तासँग जोडिन पर्ने रहेछ भन्ने लागेको छ । उनले भने–‘करण जोहरसँग अमिताभ बच्चनले काम गर्न चाहनुको कारण नयाँ पुस्ताबाट सिक्नका लागि रहेछ । अहिले, पल शाह, रियाशा दाहाल, एलिना चौहानलाई रुचाउने दर्शकले पनि मलाई हेर्नुभएको छ । मेरो पुराना गीतको संझना गर्दै यो गीतको तारिफ गर्नुभएको छ ।

यो गीतले एउटा प्रेमीको प्रेमिकाप्रतिको आशक्ती बोलेको छ । उनले, प्रेम व्यक्त गर्ने शैलीलाई परिवर्तन गर्ने कोशिश गरेका छन् । आफूले मन पराएपनि यूवतीले मन पराउन पर्छ भन्ने नरहेको भाव गीतमा छ । हेमन्त आफ्नो यही शैली दर्शकले मन पराएको बताउँछन् ।

लकडाउनपछि सार्वजनिक भएका सय बढी गीतमध्ये औलामा गन्न सकिने उत्कृष्ट गीतमध्ये एक यो पनि हो । नायक पल शाहले ५० भन्दा बढी म्यूजिक भिडियो खेलेपनि उनका लागि पनि छात्ती फुलाएर मेरो गीत भन्ने सक्ने गीत हेमन्तको ‘तिमी बाहेक’ बनेको छ ।

लामो समयपछि निर्देशन नितिन चन्दले एउटा राम्रो गीतको भिडियो बनाएका छन् । यसैले, हेमन्तले त नयाँ पुस्ताबाट केही सिकेका छन् नै, नयाँ पुस्ताले पनि आफ्नो भन्न सक्ने गीत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment